अमेरिकी ग्रिनकार्डबारे भरतपुरका बागी जगन्नाथ भन्छन्– म नेपाललाई नै अमेरिका बनाउने चाहने मान्छे, किन अमेरिका गएर बस्ने ?

भरतपुरका चर्चित बागी उम्मेदवार जगन्नाथ पौडेलमाथि पछिल्लो समय विभिन्न किसिमका प्रश्न उठेका छन् । सत्तारुढ गठबन्धनले भागवण्डा गर्दा भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रको भागमा परेपछि त्यहाँ गठबन्धनबाट रेनु दाहाल मेयरको उम्मेदवार भएकी छिन् ।

तर, यसको विरोध गर्दै र कांग्रेसले कांग्रेसमा नै मत दिन पाउनु पर्छ भन्दै आफ्नो उम्मेदवारी दिएका छन्, जगन्नाथ पौडेलले । जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गराएपछि उनलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बारम्बार फोन गरेर पछाडि हट्न अनुरोध गरेका थिए । 

उनलाई फकाउन काठमाडौंबाट गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठसमेत चितवनमा पुगेका थिए । तर, पौडेलले उनीहरुको आग्रह पनि स्वीकार गरेनन् । 

भरतपुर महानगरमा उनको बागी उम्मेदवारी कति महत्त्वपूर्ण छ भन्ने यसले पनि देखाउँछ । उनको उम्मेदवारी निकै महत्त्वपूर्ण भएकाले नै हुनुपर्छ, गठबन्धनका नेताहरु उनलाई पछाडि फर्काउन प्रयास गरेका थिए । तर, उनले उम्मेदवारी फिर्ता गरेनन्, उनले अब भुइँकटहर चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका छन् ।
उनले लोकतन्त्र र कांग्रेसका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । २०५४ सालमा नै तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख तथा पूर्वसांसद पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि यसले ठूलो तरंग ल्याएको छ । अब त उनलाई नेपाली कांग्रेसले क्रियाशिल सदस्यसमेत नरहने गरि कारवाही गरेको छ ।

तर, सँगसँगै उनको विषयमा आलोचना पनि सुरु भएको छ । उनीसँग अमेरिकी ग्रिनकार्ड भएको विषयले अहिले चर्चा पाएको छ ।

जगन्नाथ पौडेलले पनि आफूसँग अमेरिकी ग्रिनकार्ड भएको चाहिँ स्वीकार गरेका छैनन् । उनले आफूसँग ग्रिनकार्ड नभए पनि आफू अमेरिका जाने गरेको चाहिँ स्वीकार गरेका छन् । ‘मेरो छोरा र छोरी अमेरिकामा छन्,’ उनले भनेका छन्, ‘म अमेरिका गएको खण्डमा दुई साता, तीन साता अमेरिका बसेको छु ।’



उनले थपेका छन्, ‘म नेपाललाई अमेरिका बनाउन चाहने मान्छे किन अमेरिका गएर बस्छु ?’ उनले पहिले आफूले भरतपुर महानगरमा राम्रो काम गरेकाले पनि अमेरिकामा कार्यक्रममा सहभागी हुन पुगेको बताएका छन् ।



  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ९:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया