[अन्तर्वार्ता] यसपालि ८० प्रतिशत मत ल्याउँछु, स्वतन्त्रसँग प्रतिस्पर्धा हुने कुरै छैन : नृप वड

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै कैलालीको धनगढी उपमहानगरपालिकालाई पनि चासोका साथ हेरिएको छ । यसपालि निर्वाचनमा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी), नेकपा एमाले र स्वतन्त्रबाट उठेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलनले पनि धनगढीलाई चासोका साथ हेरिएको हो । अघिल्लो पटक पनि धनगढीको मेयरका लागि कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको थियो । ३० वैशाखमा हुन लागेको चुनावमा पनि अघिल्लोपटककै उम्मेदवार उठेकाले चुनावी प्रतिस्पर्धा थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको नेतृत्वका लागि हुने प्रतिस्पर्धा हेर्न मतदाता पनि व्यग्र प्रतीक्षामा छन् । गठबन्धनको तर्फबाट यसपटक पनि धनगढीको मेयरका लागि कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड चुनावी मैदानमा छन् । गठबन्धनको साथ रहेको भन्दै चुनावी प्रचारप्रसारमा जुटेका उनले अघिल्लो कार्यकालमा गरेका र आगामी दिनमा गनुपर्ने कामको सूची बोकेर हिँडिरहेका छन् । प्रस्तुत छ तिनै मेयरका प्रत्यासी वडसँग फरकधारकर्मी कैलाली जोशीले गरेको कुराकानीको सम्पादित अंश : ​

एक कार्यकाल मेयर भएको व्यक्ति फेरि किन दोहोरिन खोज्नुभयो?  

पाँच वर्षको कार्यकालमा राम्रोसित काम गर्ने वातावरण भएन । कोरोनादेखि हावाहुरीले गर्दा चाहेजति काम गर्न सकेन । त्यसले गर्दा पाँच वर्षको विकासे अनुभवलाई नगर बनाउने मेरो उद्देश्य हो । धेरै योजनाहरू अधुरा रहेका छन् । ती अधुरा योजना पूरा गर्न फेरि मेरो उम्मेदवारी हो । बसपार्कदेखि गौरीफन्टा स्तरोन्नति र एयरपोर्टको विकास गर्ने मेरो मुख्य एजेण्डा रहेका छन् ।

हावाहुरी र कोभिडको समयमा आइपरेका समस्या आउँदा पनि धेरै कामको सुरुवात गरेका छौँ । त्यसले गर्दा दुई वर्षमा हामीले ७५३ वटै नगरपालिकामध्ये नमूना काम गर्ने स्थानीय तह धनगढी उपमहानगर बनायौँ ।

यसपालि पनि जित्नुहोला त चुनाव? अनि गठबन्धनको साथ पाउने सम्भावना कति?

राष्ट्रको आवश्यकताका आधारमा गठबन्धन भएको हो । माथि मिलेर गएकाले तल्लो तहमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने नै हो । हामीले जितेको ठाउँमा र पहिलेभन्दा अहिले अझै राम्रो संरचना बनेकाले अहिले हामीलाई धेरै सहज भएको छ । 
 
वडा तहसम्म गठबन्धन नभएको अवस्थामा जित्ने आधार चाहिँ कसरी देख्नुभयो?



वडा तहमा कांग्रेसको बर्चस्व बढी छ । त्यसैले पनि हामीले नै उपमहानगरको मेयरदेखि वडासम्म सबै स्थानीय तह जित्छौँ । गत चुनावमा हामीले १२ वडा जितेका थियौं । पाँचवटा माओवादीले र दुईवटा मात्रै एमालेले जितेको थियो । त्यसले गर्दा अहिले ठूलो मतान्तरले जित्नेछौँ ।

अहिलेको सबैभन्दा प्राथमिकताको एजेण्डा नै उद्यमशीलतामा जोड दिने हो । यसले युवा शक्ति विदेश पलायन हुनबाट जोगाउँछ भने हामीले पनि स्वदेशमै केही गर्ने भावना भएका व्यक्तिप्रतिको विश्वसनीयता बढाउन सक्छौं । युवासँग चाहना हुँदाहुँदै पनि सीप नभएर काम गर्न नसकिरहेको अवस्था छ । यसलाई हामीले विशेष ध्यान दिन्छौं । कृषि, घर बनाउने मिस्त्री उत्पादन गर्ने, अहिले गरिरहेको कृषिको कामलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने । सात दिन, १८ दिन, ८ महिनासम्मको तालिम दिएर पनि कृषि क्षेत्रको प्रवद्र्धनमा बढी जोड दिने योजना छ ।  



पार्टीभित्रबाटै बागी उम्मेदवार उठेका छन्, यस्तो अवस्थामा कसरी अगाडि बढ्दै हुनुहुन्छ?

पार्टीभित्र भएका असन्तुष्टि समाधानका लागि छलफल चलाएका छौँ । धेरै ठाउँमा कुरा मिलेको छ । कुरा नमिलेको ठाउँमा पनि मिलाउने छौँ ।

अघिल्लोपटक यहाँलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिनुभएको थियो, यसपालि चाहिँ तपाई आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुहुन्छ? 

नेपाली कांग्रेस एक्लै लड्दा पनि कसैसँग प्रतिस्पर्धा थिएन । त्यसमा पनि अहिले गठबन्धन रहेको छ । त्यसले गर्दा अहिले मेरो प्रतिस्पर्धा कसैसँग पनि छैन । त्यसमा पनि स्वतन्त्र व्यक्तिसँग प्रतिस्पर्धा हुने कुरै छैन । दलीय व्यवस्थामा स्वतन्त्रसँग प्रतिस्पर्धा हुँदैन । यसपटक झन् गठबन्धनमा भएकाले मत बढेर ८० प्रतिशत पुग्ने अपेक्षा छ ।  
 
गठबन्धनभित्र पनि विवाद कायमै छ भन्ने सुनिन्छ, यस्तो अवस्थामा तपाइँलाई चुनाव जित्न अप्ठ्यारो हुँदैन?  

पाँच दलबीच गठबन्धन भएको छ । त्यसले कुनै अप्ठ्यारो पर्दैन । गठबन्धन दलभित्र भएको केही समस्याहरूलाई हामी सुल्टाइसकेका छौँ ।  

धेरै नगरवासीले तपाइँले पहिलो कार्यकालमा आफ्नै चुनावी नारा बिर्सिएको आरोप पनि लगाउँछन्, के साँच्चै तपाइँले आफ्नै वाचा बिर्सिनुभएको हो? 

पाँच वर्षको असहज परिस्थितिका बाबजुद पनि हामीले खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधारसहितको क्षेत्रमा काम गरेको छौं । त्यसले निकै राम्रो नतिजा दिएको छ । जुन वडामा हिजो एक किलोमिटर पनि सडक कालोपत्रे थिएन, अहिले त्यहाँ १८/२५ किलोमिटर सडक कालोपत्रे भएको छ । खानेपानी ८००/८५० घरधुरीले मात्रै खानेपानी प्रयोग गरेका थिए, अहिले १० हजार घरधुरीले खानेपानी पाइसकेका छन् ।

हिजोको दिनमा खानेपानी ट्यांकी एउटा वडामा मात्रै थियो भने आज १६ वडामा खानेपानी पुगेको छ । विद्यालय भवन पनि पर्याप्त मात्रामा बनाइएको छ । जुन क्षेत्रमा आवतजावत गर्न असहज छ, त्यो स्थानमा पुल हाल्ने र बाटो मर्मत गर्ने पनि गरेका छौं । अहिले पनि ३०/३१ वटा प्रोजेक्टहरूमा हामीले काम गरिरहेका छौं ।

नगरमा केही पूरा भएका पनि छन् भने केही पूरा हुने चरणमा छन् । केही काम महानगर बनाउन पनि गर्नुपर्नेछ । यसका लागि आवश्यक पूर्वाधार निर्माण सहितको तयारी भइरहेको छ । संविधानमा भएको एउटा प्रदेशमा एक महानगरपालिका भन्ने व्यवस्थाअनुसार नै धनगढीलाई स्तरोन्नति गर्ने गरी अगाडि बढिरहेका छौं । हामी सुदूरपश्चिम प्रदेशमा प्रदेशको पहिलो महानगर बन्ने प्रयासमा छौं । यीसहित काम गर्न यसपटक फेरि अवसर दिन अनुरोध गरेको छु । 

स्वतन्त्रसहित अन्य मेयरका प्रत्यासीले पनि धनगढीको मुहार फेर्नका लागि विभिन्न योजना अगाडि सारेका छन् । साथै, धनगढीलाई महानगर बनाउनका लागि पहल गर्ने भनेर तपाई पनि प्रचार गर्दै हिँड्नुभएको छ । के धनगढी महानगर बन्नलायक भइसकेको हो त?  
 
धेरै हदसम्म धनगढीमा पूर्वाधार निर्माण भएका छन् । हाम्रो उपमहानगरमा आवश्यक सिटी हल तयार पारेका छौं । कोल्ड स्टोर, वडा कार्यालय, आम्दानीको दायरा बढाउने तथा राजस्व वृद्धि गर्ने काम गर्न सफल भएका छौं । कोभिड महामारीमा पनि ३० करोड रुपैयाँ संकलन गर्न सकेका छौं । अब यसको दायरा फराकिलो हुँदै महानगर बन्नसक्ने क्षमतामा यो उपमहानगरलाई पुर्याउँछु भन्ने छ । हिजोका दिनमा गाउँमा विकास भएको थिएन । अहिले सबैतिर विकास भएको छ । धनगढी सहरभित्रका पनि धेरै सडक निर्माण भइरहेका छन् । 

तपाइँले पहिलो कार्यकालमा रोजगारको क्षेत्रमा काम गर्न नसुक्नुभएको गुनासो छ नि?

स्वास्थ्यको क्षेत्रमा धनगढी उपमहानगर हब भइसकेको छ । शिक्षाको क्षेत्रमा पनि हबकै रूपमा विकास हुँदैछ । अरू पूर्वाधारमा पनि कहीँकतै कमी हुन दिएका छैनौं, काम गरिरहेका छौं । हामीले उद्यमशीलतालाई बढी जोड दिएका छौं । हरेक घरमा एकजना व्यक्ति उद्यमशील हुने विषयलाई प्राथमिकता दिएका छौं । हाम्रो नारा नै ‘एक घर एक उद्यमी’ भन्ने छ । उद्यमशीलतामा अगाडि बढ्न प्रेरित पनि गरिरहेका छौं ।

यसका साथै हामीले शिक्षामा पनि लगानी गरिरहेका छौं । निजी विद्यालयले ६–७ लाख लिएर दिने शिक्षालाई हामीले १ लाख ८० हजार रुपैयाँमै स्नातक तहको अध्ययन गराइरहेका छौं । सामुदायिक विद्यालयमा इन्जिनियर, जेटिए उत्पादन गर्ने गरी शिक्षा दिइरहेका छौं । 

दलित समुदायलाई लक्षित गरेर उनीहरूको उद्यमशीलतामा जोड दिएका छौं । यो समुदायका सबै घरमा एक/एकवटा बंगुर दिएका छौं, यसबाट एक/एक वटा हामीलाई फिर्ता गर्छन् । फिर्ता आएको बंगुर अर्कोलाई दिएर उद्यमशीलता बढाउँदैछौँ । यसले मासुको अभाव कम गर्ने भयो भने अर्कोतर्फ उद्यमशीलताका सुरुवात पनि हुन्छ । हामीले आफैं माछा, च्याउ उत्पादन गर्दैछौँ । सम्बन्धित क्षेत्रमा तालिम दिने र अनुसन्धान केन्द्र बनाउने गरी पनि जाँदैछौं । 

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ११:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया