स्थानीय तहको निर्वाचन आउन १२ दिन बाँकी रहँदा देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा केन्द्रित हुन थालेका छन् । साथै देशभर निर्वाचन लक्षित विभिन सभा समारोह भइरहेका छन् ।
उम्मेदवारहरू आफ्ना भाषण तथा प्रचारप्रसारमार्फत आमजनताको ध्यान खिच्ने प्रयासमा छन् । धेरैभन्दा धेरै मत ल्याएर निर्वाचन जित्ने ध्यानमा रहेका उम्मेदवारले विपक्षी उम्मेदवारको कडा आलोचना गर्ने गरेका छन् । उनीहरू उत्तेजक भाषण दिएर जनतालाई आफ्नो पक्षमा आकर्षित गर्न चाहन्छ ।
उत्तेजक भाषणका कारण अहिले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका केशव स्थापित सर्वाधिक चर्चामा छन् । काठमाडौं महानगरको मेयर बन्नका लागि ५६ जनाले उम्मेदवारी दिएको भए तापनि काठमाडौंमा स्थापितको चर्चा धेरै हुने गरेको छ ।
उसो त उनी आफ्नै अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् । पछिल्लो पटक काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि उनका उत्तेजक अभिव्यक्तिका कारण उनको थप चर्चा हुन थालेको छ ।
उनले उम्मेदवारी दर्ताकै दिने भनेका थिए - विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? सोमबार राष्ट्रिय सभागृहमा महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीले उनीमाथि लागेको 'मी टू' आरोपका विषयमा सोधेका थिए । त्यसको जवाफ दिने क्रममा उनले केशव स्थापित विवादको अर्को नाम भएको बताएका हुन् ।
'मेरो अरू भनाइ छैन समय–समयमा प्रकरण हुन्छ । समय–समयमा केही इस्युहरू उठ्छ । मजत्तिको व्यक्तित्व इस्यु उठेन भने त केशव स्थापित नै भएन । विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?’ स्थापितले मेयर पदमा उम्मेदवारी दिएपछि भनेका थिए, ‘आइरहनुपर्यो क्या, मलाई पाँच सय ५० मुद्दा लागेको बेला केशव स्थापितलाई मुद्दा थपिबक्सियोस् भनेर निवेदन हाल्ने मान्छे हो म ।’
त्यसपछि उनी सर्वाधिक चर्चामा बिहीबारको कार्यक्रममा दिएको अभिव्यक्ति कारणले आए । उनीसहित काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएकालाई राजधानीको एक कलेजले अन्तर्क्रियाका लागि बोलाएको थियो । त्यो कार्यक्रममा उनीसँगै विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह पनि उपस्थित थिए ।
कार्यक्रममा सहभागी भावना राउतले स्थापितलाई 'मी टु'को आरोपबारे प्रश्न गरिन् । उनको प्रश्नपछि स्थापित आक्रामक रूपमा प्रस्तुत हुँदै जथाभावि बोल्न पुगे ।
स्थापितले कार्यक्रममा भनेका थिए, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?' स्थापति आक्रामक रूपमा प्रस्तुत भएपछि विद्यार्थी तथा आयोजकले उनलाई सम्झाएका थिए ।
उनको अभिव्यक्तिपछि विभिन्न संघसंस्थाहरूले उनलाई कारबाही गर्नुपर्ने भन्दै विज्ञप्तिसमेत निकाले । ४५ वटा संघसंस्थाले स्थापितको अभिव्यक्तिले महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र असंवेदनशील भएको भन्दै गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरे ।
महिला अधिकारकर्मीहरूले कांग्रेसबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह र विवेकशील साझा पार्टीकी उम्मेदवार बाँस्कोटालाई स्थापितसँग मञ्च सेयर नगर्नसमेत सुझाए ।
तर, स्थापति यतिमा रोकिएका छैन । उनले आइतबार आयोजना गरिएको एक कार्यक्रममा आफ्ना प्रतिद्वन्द्वीसमेत रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अपमानजनक अभिव्यक्ति दिएका छन् ।
उनले शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिँदै काठमाडौंवासीलाई झुक्क्याइरहेको दाबी गरे । उनले बालेन मधेस भएको उल्लेख गर्दै काठमाडौंमा जन्मेको पहाडिया ठकुरी हुँ भन्दै जनतालाई झुक्याएको तर्क गरे । बलेनले जनतासँग आँखा जुधाउन नसकेर सधैँ चस्मा लगाउने गरेको दाबी स्थापितको थियो ।
‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । मसित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’ उनी यतिमा रोकिएनन्, ‘कहिले पनि चस्मा किन खोल्दैन भनेको त जनतासँग आँखा जुधाएर हेर्ने आँट रहेनछ । यस्तो मान्छेको पछि लागेर हुन्छ ? युवाहरूसँग फेस टु फेस हेरेर कुरा गर्नुपर्यो नि ।’
त्यस्तै सोही कार्यक्रममा उनले कांग्रेसकी प्रत्याशी सिर्जना सिंहलाई होच्याउँदै सार्वजनिक मञ्चमा बोल्नसमेत अरूको सहारा लिनुपर्ने व्यक्तिले काठमाडौं हाँक्न नसक्ने तर्क गरे । उनले सिंहसँग काठमाडौं हाँक्ने तागत नभएको भन्दै एक भोट पनि दिन नहुने दाबी गरे । उनले सिंहलाई भाषण गर्नसमेत कांग्रेस महामन्त्री गगन थापाले सिकाउने गरेको आरोप लगाए ।
‘सिर्जना सिंह उम्मेदवार हो भने एउटा मञ्चमा आउने तागत देखाउनु परेन ? त्यति तागत नभएको महिलाले सहर हाँक्छु भन्ने ? सिंगै बहिष्कार गर्नुपर्छ । एक भोट पनि हाल्नु हुँदैन’ उनले अगाडि भने, ‘उसले बोल्न सक्दैन अनि कसले बोल्छभन्दा गगन थापा बोल्न आउँछ । त्यसो भए ऊ आफैँ उम्मेदवार भएर आउनुपर्थ्यो नि मेयर हुन । मैले खसी खोइ भनेपछि सकियो । हिसाब बुझाउन आउँदैन ।’
स्थापितलाई मी टू आरोपले सताउन गरेको छ । उनलाई दुई जना महिलाले मि टू आरोप लगाएका थिए । सार्वजनिक कार्यक्रममा यो आरोपबारे उनीमाथि प्रश्न उठाइने गरिएको छ ।
उनी यी प्रश्नको जवाफ दिँदा आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् । जसले गर्दा उनी विवादमा तानिने गर्छन् । योबाहेक सार्वजनिक कार्यक्रममा पनि उटपट्याङ अभिव्यक्तिका कारण पनि उनको चर्चा हुने गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।