धनगढीलाई महानगरपालिका बनाउने मेयरका उम्मेदवार वडको संकल्प

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नृपबहादुर वडले अबको पाँच वर्षमा धनगढीलाई महानगरपालिका बनाउने आफनो संकल्प व्यक्त गरेका छन् ।

सोमबार धनगढीमा सत्ता गठबन्धनको संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गर्दै नगर प्रमुख वडले भौतिक संरचनानिर्माणको जगमारही धनगढीलाई महानगरपालिका बनाउन पूरा गर्ने संकल्प व्यक्त गरेका हुन् ।

‘राज्य संरचनापछि पहिलोपटक निर्वाचित भएर आएको पाँच वर्षमा समृद्ध, सुन्दर र व्यवस्थित नमुना सहरका रुपमा विकास गर्न आवश्यक सबै भौतिक संरचना तयार भएका छन्,’ उनले भने, ‘पाँचवर्षे कार्यकालको हामी आफैँले समीक्षा गर्दा ढुक्कसँग भन्न सक्छौँ । हामीले धनगढी उपमहानगरपालिकालाई समृद्ध, सुन्दर र व्यवस्थित नमुना सहरका रुपमा विकास गर्न आवश्यक सबै भौतिक संरचना तयार गरेका छौँ । भौतिक संरचना निर्माणको यही जगमा अब हामी धनगढीलाई महानगरपालिका बनाउने हाम्रो संकल्प पूरा गर्छौं भन्ने पूर्ण विश्वास छ ।’

विकासका प्रतिफल प्राप्त हुन निश्चित रुपमा केही समय लाग्ने उनले बताए । ‘हामीले हाम्रो पाँचवर्षे कार्यकालमा गरेका कामहरुले धनगढी उपमहानगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा भइरहेका सकारात्मक उपलब्धि आमजनताले अनुभव गरिसक्नुभएको छ,’ उनले भने ।

‘चुनावका बीच अहिले हामी आफ्नो पाँच वर्षे कार्यकालको आफैँले समीक्षा गरिरहेका छौँ । यो पाँच वर्षमा विकास निर्माण, सेवा प्रवाहदेखि आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा के–कस्तो जग कोर्न सकियो ? के–कस्तो परिवर्तन आयो ? भन्ने उपमहानगरपालिकाका सबै आदरणीय नगरबासीले मनन गरेका छन् ।’

उनले पाँच वर्षे कार्यकाल निकै चुनौतीपूर्ण साथ बितेको बताए । ‘सुरुको एक वर्ष हामीलाई कर्मचारी र स्रोत व्यवस्थापन, नीति तथा ऐन कानुन निर्माण र व्यवस्थित नगरको दिगो खाका निर्माणको चुनौती रह्यो,’ उनले भने, ‘बीचका दुई वर्ष कोरोना महामारीले सिर्जना गरेका समस्याको व्यवस्थापनमा बिते । पहिलेदेखि नै अव्यवस्थित ढंगले विकास र विस्तार भइरहेको धनगढी उपमहानगरको व्यवस्थित विकासको जग बसाल्ने चुनौती रह्यो । तर, हामीले यी सबै तमाम चुनौती र कठिनाइहरुका बीच पनि आमनगरबासीको चाहना र आवश्यकताका आधारमा विकास निर्माण तथा सेवाप्रवाहलाई अघि बढायौँ ।’



उनले आफ्नो कार्यकालमा धनगढीलाई मुलुकका ७५३ पालिकामध्ये सबैभन्दा उत्कृष्ट पालिका बनेको बताए ।



  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार २०:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया