टोपी दिवस : बोक्ला टोपीले राष्ट्रियता ?

काठमाडौं– मंगलबार सामाजिक सञ्जालमा केही नेपालीले टोपी लगाएको तस्बिर राख्दै क्याप्सन लेखे– ‘टोपी दिवस’ । 

अंग्रेजी नयाँ वर्षको दिन ‘नयाँ वर्षको शुभकामना’ भन्न छाडेर ‘हामी आफ्नै दिवस मनाउँछौँ’ भन्दै नेपालीहरुले टोपी लगाएका तस्बिर सामाजिक सञ्जालमा राख्न थालेको पाँच वर्ष भयो ।

तर, के यो साँच्चिकै राष्ट्रियताको भावनालाई समेट्ने दिवस हो त ? सामाजिक सञ्जालमै केही नेपाली प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

लेखक तथा विश्लेषक ‘आहुती’ टोपीले राष्ट्रियता बोक्ने कुरामा शंका गर्दै प्रश्न गर्छन्, ‘टोपीले राष्ट्रियता बोक्छ भन्ने कसले भनेको छ ?’ नेपालमा बसोवास गर्ने विभिन्न जातिका भिन्नाभिन्नै टोपी रहेको स्मरण गर्दै आहुती लेख्छन्, ‘एउटा जाति र समुदायको टोपीलाई मात्र कसरी राष्ट्रिय टोपी भन्न मिल्छ ?’

टोपी दिवसलाई पहाडिया अन्धराष्ट्रवादलाई प्रश्रय दिने कार्यको रुपमा अर्थ्याउँछन् आहुती । ‘एउटा जातिको पोसाकलाई लिएर राष्ट्रिय दिवस मनाउनुको अर्थ अर्को जातिमाथिको दमन मात्र हो,’ उनी थप्छन्, ‘आ–आफ्नो जातिको पोसाक लिएर दिवस मनाउने हो भने भोलिबाट धोती दिवस, भोटे दिवस लगायतका दिवस पनि हुनुपर्छ ।’

नेपाली पात्रोअनुसार मध्य पुसमा नयाँ वर्ष नहुने तर्क दिँदै टोपी दिवस अभियानका एक अभियन्ता शंकर बन्जाडे भन्छन्, ‘अंगेजी नयाँ वर्षको विरोधमा जनवरी १ मा टोपी दिवस मनाउँन सुरु गरेका हौँ ।’



जनवरी १ लाई नयाँ वर्षको रुपमा मनाउनेहरुप्रति लक्षित गरी टोपी दिवस मनाउनुको अर्थ नभएको बताउँछिन्, अधिकारकर्मी सावित्री गौतम । जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउनेहरुले जनवरी १ लाई गलत अर्थमा बुझेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘जनवरी १ अंग्रेजी नभएर अन्तर्राष्ट्रिय नयाँ वर्ष हो ।’

गीतकार तथा गायिका झुमा लिम्बू पनि विश्वव्यापीकरणको समयमा अन्तर्राष्ट्रिय नयाँ वर्षलाई विस्थापित गर्न टोपी दिवस मनाउनुको अर्थ नभएको बताउँछिन् ।



अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलनलाई विस्थापित गर्न टोपी दिवस मनाउने गरिएको तर्कलाई खण्डन गर्दै साहित्यकार धीरेन्द्र प्रेमर्षी भन्छन्, ‘अन्तर्राष्ट्रिय संवत्ले हामीलाई केही बिगार गरेको छैन ।’

नेपालमा अहिले चलनमा रहेको विक्रम संवत् पनि नेपालीको नभएको जिकिर गर्दै प्रेमर्षी भन्छन्, ‘व्यावहारिक र सर्वसुलभ चिजहरु आउँछन् । त्यसलाई छेकबार नै लगाउनुपर्छ भन्ने पक्षमा म छैन ।’

टोपी दिवसले एकल पहिचान स्थापित गर्छ ?

टोपी दिवस मनाउनेहरुले यसलाई सामान्य रुपमा लिए पनि विज्ञहरु भने यस्ता अभियानले एकल पहिचानलाई प्राथमिकता दिने बताउँछन् । हरेक जाति वा समुदायले आ–आफ्नो पोसाक र पहिरनलाई अन्य समुदाय वा जातिमाथि अतिक्रमण गर्ने तबरमा प्रयोग गर्न नहुने बताउँछन्, साहित्यकार प्रेमर्षी । उनी थप्छन्, ‘एकखाले पहिरन र एकखाले पोसाकलाई समग्र राष्ट्रिय पहिचानको विषय कदापि बनाउनुहुँदैन ।’

यता, गीतकार लिम्बू पनि कुनै निश्चित समुदायको पहिरनलाई राष्ट्रिय घोषणा गर्नु आपत्तिजनक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘कुनै एउटा पोसाकलाई राष्ट्रिय पोसाक बनाउँदा अरु पोसाकचाहिँ मारमा पर्छन् ।’ 

नेपालमा पहिलोपटक बंगलादेशबाट ढाकाको कपडा भित्रिएको बताउँदै अधिकारकर्मी गौतम भन्छिन्, ‘वास्तवमा ढाकाको कपडा नै हाम्रो हाइन ।’ टोपी दिवसलाई ढाका टोपीसँग जोडेर बुझ्ने गरिएकोतर्फ संकेत गर्दै गौतम भन्छिन्, ‘अर्काको कपडालाई प्रोत्साहन हुने काम मात्र हो टोपी दिवस ।’

नेपालमा ढाका भित्रिनुअगाडि पहाडी खस आर्य समुदायमा सुतीको टोपी लगाउने चलन रहेको बताउँदै गौतम भन्छिन्, ‘नेपालीको मौलिक पोसाक नै नरहेको टोपीलाई लिएर राष्ट्रिय दिवस मनाउनु अनावश्यक असहिष्णुता बढाउने काम मात्र हो ।’

टोपी दिवसको विकल्पमा धोती दिवस

टोपी दिवस मनाउन सुरु भएकै वर्षदेखि धोती दिवस पनि सुरु गरिएको थियो ।

दौरासुरुवाललाई राष्ट्रिय पोसाक बनाउनुपर्ने अभियान चलिरहेको समयमा मधेसी समुदायको पहिचानका लागि धोती दिवस मनाइएको बताउँछन्, धोती दिवस अभियानका एक अभियन्ता बिपी शाह । उनी भन्छन्, ‘तत्कालीन अन्तरिम संविधानले स्वीकार गरेको बहुभाषिक, बहुसांस्कृतिक तथा बहुपोसाकको अवधारणा स्थापित गर्न धोती दिवस मनाएका हौँ ।’ 

संवैधानिक अवधारणा मिच्दै थालिएको ढाका टोपी र दौरा सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गर्ने अभियानविरुद्ध धोती अभियान सुरु गरेको शाहले बताए । टोपी दिवसमा आफ्नो पहिचान नदेख्नेले धोती दिवस मनाएर पहिचान खोज्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्, साहित्यकार प्रेमर्षी । 

कुनै जाति वा समुदायले आफ्नो पहिचान खोज्दै मनाउने दिवसले सामाजिक सद्भाव बढाउने उनको धारणा छ । 

२०७० सालबाट मनाउन थालिएको धोती दिवस अभियान काठमाडौंमा भन्दा तराईका जिल्लामा चलेको देखिन्छ ।

टोपी दिवसमा महिला सहभागिता

‘टोपी दिवस’को दिन सामाजिक सञ्जालमा महिलाहरुले पनि टोपी लगाएर तस्बिर राखेको देखिन्छ । सामान्य अवस्थामा टोपी नलगाउने महिलाले टोपी दिवसकै लागि भनेर सामाजिक सञ्जालमा राख्नकै लागि टोपी लगाउनु हास्यास्पद भएको टिप्पणी गर्छिन्, अधिकारकर्मी गौतम । 

महिलाले टोपी लगाएर सामाजिक सञ्जालमा तस्बिर हाल्ने प्रचलनमाथि टिप्पणी गर्दै गौतम भन्छिन्, ‘टोपी दिवसको नाममा चलेको यो परम्परा हास्यास्पदभन्दा बढी केही पनि हैन ।’

तर, साहित्यकार प्रेमर्षी भने टोपी दिवसमा देखिने महिला सहभागितालाई सहज र सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । ‘टोपी दिवसमा महिलाको सहभागिता देखिनु पनि सकारात्मक हो,’ प्रेमर्षी भन्छन्, ‘महिलाले दैनिक जीवनमा टोपी नलगाए पनि टोपीप्रतिको आकर्षणले दिवसमा महिला सहभागी हुनु रामै्र हो ।’

कसरी सुरु भयो टोपी दिवस ? 

२०१३ नभेम्बर २६ मा लेखनाथ काफ्ले, शंकर बन्जाडे लगायतको टालीले फेसबुकमा ‘नेपाली टोपी दिवस’ नाममा फेसबुक पेज सुरु गरेपछि टोपी दिवस मनाउन थालिएको हो । औपचारिक रुपमा कहीँकतैबाट टोपी दिवस घोषणा नगरिए पनि युवाहरुले जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउँदै आएका छन् । 

गतवर्षसम्म सामान्य अभियानको रुपमा रहेको टोपी दिवसलाई यही वर्षदेखि ‘नेपाली टोपी प्रतिष्ठान’ नामको संस्थाले प्रवर्द्धन गर्न थालेको छ । 

कतिपयले भने टोपी दिवसको सुरुवात भारतीय आध्यात्मिक गुरु रवि शंकरले गरेको बताउँछन् । 

  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार २०:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया