कैलालीको भादा गाउँमा ‘थारु घरवास’ महोत्सव

धनगढी– थारु समुदायको नमुना गाउँको रुपमा रहेको धनगढी उपमहानगरपालिकाको भादामा ‘थारु घरवास गाउँ भादा महोत्सव २०७५’ सुरु भएको छ । 

‘संरक्षण संवर्द्धनके लाग सक्कु जाने करी काम, संस्कृति वेषभूषा हमार पहिचान’ अर्थात् संरक्षण संवर्द्धनका लागि सबैजनाले गर्नुपर्छ काम, संस्कृति वेषभूषा हाम्रो पहिचान भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । 

मंगलबार एक कार्यक्रमबीच सांसद नारदमुनी रानाले महोत्सवको उद्घाटन गरे । 

थारु समुदायको सीप, कला, संस्कृति, भाषा, खानपिन, रहनसहनको संरक्षण संवर्द्धनमा टेवा पुर्याउन घरवास सञ्चालन गरिएको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । 

समितिका कोषाध्यक्ष पद्मबहादुर चौधरीले घरवास कार्यक्रम सञ्चालनबाट स्थानीयस्तरमा स्वरोजगारको अवसर सृजना हुने, थारु सामुदायिक भादा गाउँको प्रचारप्रसार हुने, हरेक जातजाति तथा देश विदेशका नागरिकबीच सद्भाव कायम राख्न मद्दत पुर्याउने बताए । चौधरीका अनुसार भादा गाउँका २२४ घरमध्ये १९ घरमा घरवास सञ्चालन गरिएको छ । 

पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारु समुदायले तयार पारेका हस्तकलाका सामग्री ढकिया, डेलुवा, लेहंगा, मचिया, डेलिया, सिकहर, हसिया, बेल्ना चौकीलगायत वस्तुको अवलोकन गर्न सकिनेछ । 



यस्तै ढिक्री, घोंघी, बरिया, फुलौरी, खेर्या, बङ्गुर तथा मुसाको मासु, गङ्गटाको पकौरी, सिध्रा, अण्डी भातलगायत थारु खानाका परिकार महोत्सवमा राखिएको छ । थारु समुदायको लोकप्रिय सखिया, झुम्रा, मघौटा, लठ्ठी, मुङग्रहुवा, हुर्डङवा, छोक्रा लगायतका नाचको प्रस्तुति रहनेछ । 



  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार २१:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया