नेकपा एमालेबाट काठमाडौं मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहले झुट बोल्ने गरेको, निर्वाचन आचारसंहिता विपरीतका काम गर्ने आरोप लगाएका छन् । आफैँ विवादबाट घरिइरहने स्थापितले काठमाडौं आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै बालेनमाथि यस्ता आरोप लगाएका हुन् । बालेन शाहले गर्न हुने काम गरेका कारण आफूले बोल्नुपरेको उनको जिकिर छ ।
'बालेन भन्ने पात्रबारे केही पनि नबोल भनियो । ठीक छ बोल्दिनँ भनेँ, तर मैले उठाएको कुरा के हो भने उसले गर्न नहुने काम गर्यो । राजनीतिमा यस्तो कामलाई प्रसय दिनु हुँदैन । उसले के गर्यो आफ्नो फोटोको माथितिर मेरो टाउको हालेर तलतिर लौरो राख्यो । अनि के भन्यो भने केशव स्थापितलाई जिताऊँ लौरोमा छाप हालौँ भन्छ । कस्तो बेवकुफ रहेछ । गर्न पाइन्छ यस्तो ?,' उनले भने ।
बालेनका समर्थकहरू एकै ठाउँमा जम्मा भएर चार/पाँच सय हाराहारी मोबाइल जम्मा गरेर यस्तो तस्वीरहरू अपलोड गर्ने गरेको उनको तर्क छ । बालेनका समर्थकले निर्वाचन आचारसंहिता विपरीत काम गरिहरेको बताउँदै उनले यस्ता कार्य अब काठमाडौंमा नचल्ने पनि बताए । उनले बालेनले गाएका र्याप गीतप्रति टिप्पणी गर्दै भने, 'त्यो महिलाहरूबारे गाएका गीत हेर्नुहोस् त, गर्न त जे पनि गर्ने अनि त्योचाहिँ र्याप भन्दिने ?'
उनले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनलाई खिचापोखरीको अर्थ पनि थाहा नभएको आरोप लगाए । उनले भने, 'मैले उहाँलाई खिचा पोखरी भनेको के हो भनेको कुकुर पोखरी जस्तो लाग्यो भन्छ । 'खे' भनेको मुहार हो साथी, 'चा' भनेको धुनु हो, यति बुझेर आउ भनेको । यति पनि थाहा नभएकोले ठूलो कुरा नगरौँ भन्ने आग्रह त गर्न पाइन्छ नि । म पनि त यहाँको नागरिक हो । '
उनले यसअघि १८ वैशाखको कार्यक्रममा पनि बालेनप्रति टिप्पणी गरेका थिए । उनले राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा बालेनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए ।
उनले भनेका थिए, 'एउटा बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको हो । म पहाडीया ठकुरी बालेन शाह भन्यो, हिजो के कुरा खुल्यो भने ऊ यहाँको शाह नै रहने छ । मधेसको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ?'
बालेनले काठमाडौंबासीसँग झूट बोलेको आरोप उनको थियो । उनले बालेनको चस्माबारे टिप्पणी गर्दै भने, 'जहिल्यै चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हिँड्ने तागतै रहने छ ।'
स्थापितले बालेनलाई काठमाडौंमा कति मानिस बसोबास गर्छन् भन्नेसमेत थाहा नभएको तर्क गरे । उनले भनेका थिए, 'काठमाडौंको महानगरको मेयरको उम्मेदवार उसले के भन्छ भने काठमाडौं ८० लाख जनसंख्या छ । उसलाई काठमाडौंमा कति जना मानिस बसोबास गर्छन् भन्ने थाहा छैन ।'
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।