स्थानीय तह निर्वाचन : भीमदत्तमा कसले मार्ला बाजी, यस्तो छ अंकगणीत

स्थानीय तहको निर्वाचन आउन अब १० दिन मात्र बाँकी छ । उम्मेदवारहरू आफ्नो पक्षमा मत तान्ने कसरतमा रहेका छन् । कञ्चनपुरका भीमदत्तमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएका छ ।

भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेस कञ्चनपुरका सभापतिसमेत रहेका पदम बोगटी र उपमेयरमा नीलम लेखक (जोशी) उम्मेदवार छन् । 

यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादीको बाम गठबन्धनबाट मेयरमा समाजवादीका राजेन्द्र पाण्डेय र उपमेयरमा माओवादीका कृष्णदत्त जोशी (बोक्सर) उम्मेदवार छन् ।

नेकपा एमालेले मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन कुँवर (केसी) उम्मेदवार बनाउँदा राप्रपाले भने गजेन्द्रबहादुर चन्दलाई मेयर र हेलन सिंह श्रेष्ठलाई उपमेयरको मैदानमा उतारेको छ ।

अन्य राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी परे पनि ०७४ को मत परिणामलाई नियाल्दा भीमदत्तमा यी उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । 

अघिल्लो स्थानीय तह निर्वाचनमा भीमदत्तको प्रमुख नेकपा एमाले र उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । 



नगर प्रमुखमा कांग्रेसका पदम बोगटीलाई १६६ मतले पराजित गर्दै एमालेका सुरेन्द्र बिष्ट (११ हजार ८३१ मत) विजयी भएका थिए ।

यसपटक पनि कांग्रेसले उनै बोगटी मेयरमा उठाएको छ । उपमेयरमा कांग्रेसकी सुशीला चन्द सिंह १२ हजार ७७५ मतसहित विजयी भएकी थिइन् । एमालेकी उम्मेदवार माया पन्तले ११ हजार ८३६ मत प्राप्त गरेकी थिइन् ।



कञ्चनपुरमा ०७४ को स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले पाँचवटामा प्रमुख र सातवटामा उपप्रमुख जितेको थियो । 

माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

यति बेलाको स्थानीय तह निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेलाई आफ्नो विरासत कायम राख्न सकस छ । एमालेको फुट र सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी दलले चुनावी तालमेल गरेसँगै ०७४ सालमा दबदबा राखेको एमालेलाई विरासत जोगाउन हम्मेहम्मे पर्ने देखिएको हो ।

अहिले एमालेबाट विजयी केही जनप्रतिनिधि माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि लागेका छन् । सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा एमाले एक्ला एक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी बामगठबन्धन बनाएर चुनावी मैदानमा छन् ।

जिल्लाका ९ स्थानीय तहमध्ये ५ स्थानीय तह प्रमुख र ७ स्थानीय तह उपप्रमुख जितेको एमालेलेलाई आफ्नो विरासत जोगाउने यसले गर्दा चुनौती थपिएको छ । दुई स्थानीय तह प्रमुख र एक स्थानीय तह उपप्रमुख जितेको कांग्रेस यसपटक आफ्नो शक्ति बढाएर पुरानै विरासत फर्काउने कसरतमा छ ।

कांग्रेससँग भागबन्डामा सहमति नजुटेपछि छुट्टै गठबन्धन बनाएको सत्तासाझेदार माओवादी केन्द्र ०७४ को शक्ति कायम राख्दै आफ्नो पुरानो दबदबा फर्काउने रणनीतिमा छ ।

पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेको एकीकृत समाजवादी पनि माओवादी केन्द्रसँग गठबन्धन गरेर शक्ति सुरक्षित गर्ने रणनीतिमा छ ।

माओवादीका मेयर पदका उम्मेदवार गोपाल रसाइलीले ४ हजार ५७९ र उपमेयरका उम्मेदवार नारुदेवी सिंहले ४ हजार ८३१ मत प्राप्त गरेका थिए ।

यस्तै, भीमदत्त नगरपालिकामा राप्रपाका मेयर पदका उम्मेदवार गजेन्द्रबहादुर चन्दले ४ हजार ३२८ मत प्राप्त गरेका थिए । उपमेयरका उम्मेदवार खञ्जरादेवी कुँवरले २ हजार २७७ मत प्राप्त गरेकी थिइन् ।

१९ वडा रहेको नगरपालिकामा एमालेले १० (वडा नं. ६, ८, ९, १०, १४, १५, १६, १७, १८, १९ ) वटा वडा जितेको थियो । तीमध्ये एमाले विभाजन हुँदा दुई वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

भीमदत्त नगरपालिकामा कांग्रेसले ७ वटा वडा (१, ३, ४, ५, ११, १२, १३) मा प्रमुख जितेको थियो । यस्तै, माओवादी केन्द्रले वडा नम्बर २ र ७ मा जितेको थियो ।

  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार २०:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया