हेटौंडा उपमहानगरपालिका–१८ बाट प्रहरीले जस्तापातासहित ट्याक्टर नियन्त्रणमा लिएको छ । आसन्न स्थानीय चुनावमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका अनिलकुमार बानियाँले निर्वाचन आचार संहिताविपरीत वितरण गर्न लागेको भन्दै ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जस्तापातासहित ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बानियाँले वडाको सुकौरास्थित १४ घरधुरीलाई ४६ बण्डलको निलो रंग भएको ८, ९ र १० फुटे जस्तापाता वितरण गर्न लागेका थिए । उनले वितरण गर्न लागेको जस्तापाता बोकेको ना ५ त ६९३८ नम्बरको ट्याक्टरलाई स्थानीयले बुधबार बिहान सुकौरा भालुखोलामा रोकेका थिए ।
बानियाँ भने निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताले भ्रामक प्रचार गरेको बताउँछन् । पराजित हुने डरले कांग्रेस कार्यकर्ताले आफ्नोबारे भ्रम फैलाएको उनको आरोप छ ।
बानियाँ निवर्तमान वडाअध्यक्षसमेत हुन् । आफू वडाध्यक्षमा रहँदा नै फागुनमा उपभोक्ता समितिमार्फत हेटौंडा–१८ को सुकौराको टोलको स्थानीयलाई जस्तापाता लागि बजेट छुट्टाएको बताए । ‘कांग्रेसले अतिरञ्जित गरेर गलत प्रचार गर्यो, हामीले गत असारमै जस्तापाता दिने भनेर निर्णय गर्यौ । फागुनमा उपभोक्तासँग सम्झौता भयो । जेठसम्म सम्झौता अवधि रहेको थियो,’ बानियाँले भने, ‘समितिको अध्यक्ष र कोषाध्यक्षले जस्तापाता आज लैजानुभएछ । जस्ता समातेर एमालेले बाँड्यो भनेर भ्रम फैलाए । यो आरोप गलत हो, खेदजनक छ ।’
उनले आफू वडाध्यक्ष हुँदा जस्तापाताका लागि वडाले पाँच लाख, उपमहानगरपालिकाले तीन लाख र दुई लाख उपभोक्ता समितिले उठाएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।