दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा कार्यालयको चालू आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो ।
एमालेले मतदाता प्रभावित पार्ने उद्देश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको पाइप हाल प्रहरी चौकी खानीडाँडामा राखेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । यो पाइप अब ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनपछि फिर्ता दिने प्रहरीले जनाएको छ ।
वडा सचिव पवन श्रेष्ठले वडा कार्यालय लैजादै गरेको अवस्थामा प्रहरीले पाइप नियन्त्रणमा लिइएको बताए । वडा कार्यालयले हरेक वर्ष डेढ लाखको पाइप खरिद गरेर दलित, जनजाति, महिलालगायतलाई वितरण गर्दै आएको उनको भनाइ छ ।
सोहीअनुसार वडा कार्यालयले गत चैतमै पाइप बाँड्ने निर्णय गरेको थियो । तर, हार्डवेयर पसलका सञ्चालकले ढिला गरी पाइप ल्याएकाले तोकिएको समयमा पाइप बाँड्न नसकिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए । चाम्लिङ पुनः एमालेबाट वडाध्यक्ष बन्ने चुनावी दौडमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।