केदारस्युँ गाउँपालिकाले बनाएको खोप केन्द्रलाई स्थानीयले बनाए खर राख्ने थलो

बझाङको केदारस्युँ गाउँपालिकामा स्थानीयको आवश्यकता विपरीत खोप केन्द्र भवन निर्माण गरिएको पाइएको छ । गाउँपालिका- ३ हसाडामा स्थानीयको आवश्यकता नहेरी खोप केन्द्र भवन निर्माण गरेको पाइएको हो । 

अहिले सरकारले खोप अभियान सञ्चालन गर्न स्थानीयको पायक पर्ने सार्वजनिकस्थल विद्यालय, चौतारा वा स्वास्थ्य स्वयंसेविकाको घरलाई आधार बनाउने भनेको छ । तर, केदारस्युँ गाउँपालिकाले खोप सञ्चालनका लागि भन्दै गाउँपालिकाका दुई वटा वडा ३ र ६ मा खोप केन्द्र भवन निर्माण गरेको छ । 

केदारस्युँ गाउँपालिका-३ हसाडामा बनेको खोप केन्द्र भवन २०७६ सालमा गाउँपालिकाको ३ लाख लागतमा बनेको थियो । २ वर्ष अगाडि बनेको उक्त भवनमा हालसम्म एक पटक मात्रै खोप अभियान सञ्चालन भएको थियो । 

लामो समय खोप केन्द्र प्रयोगविहीन बनेपछि अहिले स्थानीयले खर राख्ने थलो बनाएका छन् । खोप केन्द्रको भवनबाहेक त्यहाँ कुनै संरचना र सामग्री छैन । न त भवन पायक पर्ने ठाउँमा नै छ । 

भवन बने पनि प्रयोग नआएको स्वयं वडाध्यक्ष वीरबहादुर खाती स्वीकार गर्छन् । उनले भने, ‘त्यो भवन दुई वर्ष पहिले गाउँपालिकाको ३ लाख लगानीमा बनेको हो । खोप अभियान सञ्चालनका लागि भनेर भवन बनाएका हौँ । त्यो बनेपछि एकचोटि त खोप सञ्चालन भयोजस्तो लाग्छ । पछि प्रयोगमा नआएपछि स्थानीय जग्गादाता धनी खातीले खर राख्ने बनाए छन् ।’   

स्थानीय सरकारलाई जनताको आवश्यकताका आधारमा विकास गर्न अधिकार छ तर यो विना आवश्यकताको भवन निर्माण गरेर कार्यकर्तालाई रकम बाँड्ने सजिलो उपाय बनाएको स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख भानुभक्त जोशी बताउँछन् । उनले खोप केन्द्र अहिलेको आवश्यकता नै नभएको जिकिर गरे । 



उनले भने, ‘अहिले गाउँ-गाउँ स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र छन् । खोप अभियान पायक पर्ने ठाउँमा सञ्चालन हुन्छन् । ती भवनहरू किन बनाए होलान् ? यो सिधै कार्यकर्ता खुशी पारेर रकम सिध्याउने उपाय हो । खोप केन्द्रको कुनै औचित्य छैन ।’

खोप केन्द्रनजिकै रहेको केदार आधारभूत विद्यालयका शिक्षक लालबहादुर खत्रीले पनि भवन कहिल्यै प्रयोगमा नआएको हुँदा स्थानीयले खर राखेको हुनसक्ने बताए । ३ नम्बर वडा कार्यालय सहयोगी मंगल खातीले महिनाको एक चोटी खोप लगाउने गरेको भन्दै स्थानीय सरकारको बचाउ गरे । तर, स्थानीयले भने उक्त भवन प्रयोगमा नआएको बताएका छन् ।



  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १८:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया