गठबन्धनका शीर्ष नेताको भरतपुरमा चुनावी सभा, बागी पौडेल भोट माग्दै घरदैलोमा

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशभर नै चुनावी सरगर्मी बढेको छ । अहिले उम्मेदवार र दलहरू प्रचारप्रसार, प्रतिबद्धता पत्र सार्वजनिक गर्न, घरदैलो कार्यक्रममा व्यस्त छन् । 

यसपालि चुनावमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ३० वैशाख नजिकिएसँगै दलका शीर्ष नेताहरू पनि चुनावी सभाका लागि प्रतिस्पर्धा नै गरिरहेका छन् । 

यसपालि पनि चितवनको भरतपुर महानगरपालिकालाई चासोका साथ हेरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर र उनकी छोरीले नै फेरि चुनाव लडिरहेकाले पनि भरतपुर चर्चामा रहेको हो । साथै, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल पनि चुनावी मैदानमा भएकाले भरतपुर थप चर्चामा रहेको हो ।  

कांग्रेस नेता नै गठबन्धनविरुद्ध चुनावी मैदानमा भएकाले माहोल रेनु दाहालको पक्षमा ल्याउन आज भरतपुरको हाकिमचोकमा गठबन्धनले चुनावी सभा गर्दैछ । सभालाई सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा र जनमोर्चाका नेताहरू बुधबार नै चितवन पुगे । उनीहरूको उद्देश्य चुनावी सभालाई सम्बोधन गर्नुका साथै बागी उम्मेदवार जगन्नाथ पौडेललाई मनाउनु पनि थिए । 

आज बिहानैदेखि गठबन्धन दलका केही नेताहरूले पौडेलसँग छलफल पनि गरे । तीमध्ये कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग जगन्नाथले कुरा गरे । लामै गफ भएको भेटघाटमा रामचन्द्रले उनलाई उम्मेदवारी निष्क्रिय गर्न आग्रह गरे । त उनले पौडेलको प्रस्ताव ठाडै अस्वीकार गरे । 

सभापति देउवाले जगन्नाथसँग कुरा गर्ने योजना बनाएका थिए । तर, उनको योजना सफल हुन सकेनन् । पौडेल आफूले नै प्रधानमन्त्रीसँग भेट्न नचाएको बताएका छन् । ‘मलाई आफ्नो पार्टीलाई घात गरेर माओवादीको हँसिया-हथौडामा मत माग्नु छैन । त्योभन्दा मैले पाएको भुइँकटहरको चुनाव चिन्ह बोकेर मत माग्न हिँड्दा मनमा आनन्द मिलेको छ । एक घण्टा त के एक मिनेट पनि म आजको गठबन्धनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन्न,’ पौडेलले भने । 



उनले आफू आज दैनिक तालिकाअनुसार भरतपुर–२७ मेघौलीमा घरदैलो कार्यक्रममा सहभागी भइरहेको बताए । ‘जुन पार्टीले कार्यकर्ताको भावनाचाहना र मर्म बुझ्दैन त्यो पार्टीले बोलाउँदैमा जानैपर्छ भन्ने छैन । आज म मेरो कार्यक्रममा नै व्यस्त हुनेछु । बोलाउँदैमा जाने पक्षमा पनि म छैन । र, आफ्नो उम्मेदवारी फिर्ता गर्ने पक्षमा पनि म छैन,’ पौडेलले भने । 



  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १४:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया