सुदूरपश्चिम केन्द्रित हुँदै शीर्ष नेता : ओलीले आज तीनवटा चुनावी सभा सम्बोधन गर्दै, देउवा सोमबार आउने
फाइल तस्वीर

स्थानीय तहको निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरू सुदूरपश्चिम केन्द्रित हुन थालेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको सुदूरपश्चिम आउने आइरहेका छन् ।

निर्वाचन प्रचारप्रसारका लागि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कैलाली र गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । मंगलबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत देउवा चुनावी सभालाई सम्बोधन गर्न धनगढी र डडेल्धुरा पुग्ने जानकारी दिए ।

कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गर्ने पौडेलले बताए । जसअनुसार देउवा वैशाख २६ गते कैलाली आउने छन् ।

उनीसँगै धनगढीमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरसहितका नेताले चुनावी सभालाई सम्बोधन गर्ने छन् । त्यसैको भोलिपल्ट उनी गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।  त्यहाँ पनि देउवासहित नेता पौडेल र सहमहामन्त्री बद्री पाण्डेलगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नै कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम भइरहेको छ । एमाले पोलिटब्युरो सदस्य एवं कैलालीका सांसद नारदमुनि रानाका अनुसार एमाले अध्यक्ष ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।



त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् । बेलौरीको चुनावी सभा सकेर दिउँसो साँझ ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तीनवटै स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गरेर ओली आज साँझै काठमाडौं फर्किने कार्यक्रम रहेको नेता रानाले जानकारी दिए ।



  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १४:१६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया