जनकपुरका स्वतन्त्र उम्मेदवार जानकीराम साहको प्रतिबद्धता : फोहोरलाई मोहरमा बदल्ने अभियान सञ्चालन गर्छु

आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजन गरी स्वतन्त्र उम्मेदवार साहले ११ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् ।
 
प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै उनले रामस्वरूप रामसागरले जनकपुरधामलाई शिक्षाको केन्द्र बनाउनका लागि गरेको योगदानलाई सम्मान गर्दै गुणस्तरीय शिक्षाको लागि आफूले सदैव सम्बन्धित पक्षसँग समन्वय गर्ने बताए । 

यस नगरमा रहेका सबै शैक्षिक संस्थासँग समन्वय गरेर वार्षिक कार्यक्रम बनाउने सरस्वती, जानकी, संकटमोचन, ज्ञानकुपजस्ता पुरानो विद्यालयलाई पुनः पहिलेको जस्तो राम्रो अवस्थामा पुर्याउन एक विशेष योजना बनाइने साहले प्रतिबद्धता जनाए ।
 
साहले आफ्नो प्रतिबद्धता–पत्रमा आफू निर्वाचित भएपछि असहाय र गरिब विद्यार्थीका लागि विशेष छात्रवृति योजना ल्याउने, गरिबलाई स्नातक उत्तीर्ण गरेपछि रोजगारी सुनिश्चित गर्न जनकपुरधाम उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउने, अवकाशप्राप्त ज्येष्ठ नागरिक र महिलाका लागि निःशुल्क अध्ययन स्थलको रुपमा ५ वर्षभित्र प्रत्येक वडामा सार्वजनिक पुस्तकालयको स्थापना गर्ने, शैक्षिक संस्थाको मातहतमा रहेका सम्पतिको सूचीकरण गरी वार्षिक विवरण प्रकाशन गरिने, शिक्षकको वार्षिक विवरण तयार गरेर सबैको भूमिका र योगदानको उचित सम्मान गर्नेलगायत बुँदा समावेश गरेका छन् । 

त्यस्तै, नगरका सबै नागरिकलाई स्वास्थ्य बिमा गराउन अनुरोध गर्दै आवश्यक समन्वय गरिने, हरेक घरको स्वास्थ्यसम्बन्धी जानकारी राख्ने, आवश्यक स्वास्थ्य सेवाको लागि हरेक टोलमा युवा र महिलालाई समावेश गराएर स्वास्थ्य स्वयमसेवक परिचालन गर्ने, नगरमा बेरोजगार महिलाको समूह बनाएर स्वास्थ्य र स्वच्छ समाजको लागि तालिम प्राप्त अभियन्ता बनाइने, मधुमेह र बाथ रोगका रोगीलाई निःशुल्क औषधि वितरण गरिने योजना साहले आफ्नो प्रतिबद्धता–पत्रमा समावेश गरेका छन् । 

नगरका आवश्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने, मठ, मन्दिर, मस्जिद र धर्मशाला क्षेत्रमा अनिवार्य रूपमा विशेष सुरक्षा योजना ल्याइने, आफू निर्वाचित भएको ६ महिनाभित्र डम्पिङ साइटको व्यवस्था गर्ने, नियमित फोहोर संकलन तथा व्यवस्थापन, ढल निकास, फोहोर संकलनको व्यवस्थित तरिका र बोट, बोट बिरुवा रोप्ने काम गर्नुका साथै सांस्कृतिक क्षेत्र मठमन्दिर, मस्जिद क्षेत्रको सरसफाइमा विशेष ध्यान दिने, सहरभित्रको पोखरी सफाइका लागि पोखरी व्यवस्थापन समितिको स्थापना गरेर सबैको सफाइको लागि बजेट छुट्टयाउने, नगरको २५ वटै वडामा सफाइ अभियान सञ्चालन गरेर वार्षिक प्रतिस्पर्धा गरिने, अवकाशप्राप्त नागरिकलाई सफाइ अभियान बनाएर जिम्मेवारी दिई अवकाशप्राप्तका लागि आम्दानीको बाटो पनि बनाउनुका साथै फोहोरलाई मोहोरमा बदल्ने अभियान सञ्चालन गरिने योजना उनको प्रतिबद्धता–पत्रमा उल्लेख छ । 

पत्रकार सम्मेलनमा साहले आफू निर्वाचित हुँदा पुरानो व्यावसायिक व्यक्तिहरुमा रहेको व्यावसायिक सीपलाई नयाँ पुस्तामा हस्तान्तरण अभियान सञ्चालन गर्ने, स्थानीय महिलालाई सीप सिकाउने र आफैँ केही व्यवसाय सञ्चालन गराउने उद्देश्यले महिला स्वरोजगार अभियान सञ्चालन गराइने, मिथिला पेन्टिङ, डाकी छिटो, माठाजस्तो स्थानीय उत्पादनलाई प्रदर्शन गरेर स्थानीय स्वरोजगारलाई बढावा दिने काम गर्ने धारणा राखे ।  

उनले खेलकुद क्षेत्रमा जनकपुरधाम कुनै बेला देशैभर प्रख्यात रहे पनि अहिले त्यो गुमाएको अवस्था रहेकोले अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको बजेटमा प्रमुख सबै खेल क्रिकेट, फुटबल, हक्की, कुस्ती, टेबलटेनिस र एथलेटिक्सको टोली बनाएर आवश्यक स्रोतको व्यवस्था गर्दै हरेक खेलको कम्तीमा एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए । 



जानकी मन्दिरलाई यथाशीघ्र विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि विशेष पहल गर्नुका साथै जनकपुरधाम उपमहानगर भित्रका सबै मठमन्दिरको संरक्षणका लागि स्थानीयलाई नै सक्रिय बनाउने उद्देश्यले अलग–अलग समूह बनाएर संरक्षण र प्रवद्र्धनको जिम्मा दिइने उनले बताए ।
 
सबै मठमन्दिर, मस्जिदको इतिहासको अभिलेख राखेर विद्यार्थीलाई जानकारी गराइने उनले बताए ।जनकपुरधामको एक पर्यटन नक्सा बनाएर नेपाल र भारतको प्रमुख सहरहरुमा प्रचारप्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धनको उद्देश्यले वार्षिक रूपमा जनकपुरधाम पर्यटन उत्सव आयोजना गरिने साहले प्रतिबद्धता जनाए ।
 
जनकपुर रेल्वे स्टेसन, एयरपोर्ट, बसपार्क, जानकी मन्दिरलगायत स्थानमा पर्यटक सूचना केन्द्रको स्थापना गरी युवालाई पर्यटन स्वयंसेवकको रुपमा रोजगारी दिने, विगत केही वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका भ्रष्टाचारमा निकै बदनाम भएकाले त्यसलाई नियन्त्रण गर्ने र सुधार गर्ने उद्देश्यले साता विवरण प्रकाशन गरिने, उपमहानगरपालिकाको सबै एरियामा सिसिटिभी क्यामेरा लगाएर कार्यालय समयको सबै गतिविधि फेसबुक लाइभ गरिने, सुशासनको कुरामा शून्य सहनशीलता अपनाउने उद्देश्यले सबै प्रक्रियालाई डिजिटल गरिने, निर्वाचित प्रतिनिधिको व्यक्तिगत वा दलको कुनै पनि कामको लागि उपमहानगरपालिकाको स्रोत साधन प्रयोग गर्न नदिने साहको प्रतिबद्धता–पत्रमा उल्लेख छ । 

कर तिर्नका लागि डिजिटल भुक्तानी माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्तालाई डिजिटल माध्यमबाट निःशुल्क गर्न मिल्ने व्यवस्था गरिने, ज्येष्ठ नागरिकको हकमा कुनै पनि काम परे उपमहानगरको कार्यालय आउन नपर्ने र उपमहानगरपालिकाको स्वयंसेवक नै घरमा पुग्ने, दाउरा प्रयोग हुने गरिबको चुल्हामा ग्यास सिलिन्डरले विस्थापन गरिने, गरिब दलितलाई फ्ल्याट सिस्टमअनुसार आवास निर्माण गरिने, गुठीको जग्गाको स्थायी व्यवस्थापन गरिने र उचित जग्गा धनीलाई लालपुर्जा उपलब्ध गराइने उनले बताए । 



पत्रकार सम्मेलनमा साहले एक नागरिक एक रुखको अभियान सञ्चालन गरेर हरेक वर्ष वार्षिक वृक्षारोपणको कार्यक्रम ल्याएर उपमहानगरपालिकालाई हरित क्रान्तिको सहरको रुपमा परिचित गराउने अभियान सञ्चालन गरिने, परिक्रमा सडकलाई मौनी बाबाको परिकल्पनालाई पुनर्जीवित गर्दै पूर्ण रूपना ग्रिन बेल्ट बनाइने र सडकमा देखिने चौपाय व्यवस्थापनका लागि जथाभावी पार्किङको समस्या समाधान गरी उपलब्ध सार्वजनिक स्थलमा पार्किङस्थलको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १८:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया