प्रदेशस्तरीय जिडिपीको योगदान सार्वजनिक : वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८–७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

बिहीबार तथ्यांक विभागले प्रदेशस्तरीय जिडिपीको योगदान सार्वजनिक पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्ष २०७८–०७९ को वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । विभागले प्रादेशिक कुल गार्हस्थ उत्पादन (जिडिपी)मा वागमती प्रदेशको सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ । 

सात प्रदेशमध्ये कर्णाली प्रदेशले सबैभन्दा कम १ खर्ब ९८ अर्ब रुपैयाँले ४.१ प्रतिशतको योगदान गर्ने अनुमान तथ्यांक विभागले बताएको छ । अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा वागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको तुलनामा वागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा योगदान घटेको विभागको तथ्यांकले देखाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर नजिक रहेको बताए । नेपालको कुल गार्हस्थ उत्पादनमा प्रदेश तहमा सबैभन्दा धेरै वागमती प्रदेशको योगदान रहेको बताए । आचार्यले प्रदेश तहको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्र र कम औद्योगिक क्षेत्रको रहेको स्पष्ट पारे । 

विभागको तथ्यांकअनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश १, दोस्रो स्थानमा छ । त्यस्तै, १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा रहन सफल भएको छ । कुल गार्हस्थ योगदानमा ८.९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ । 

क्रमशः अघिल्लो आर्थिक वर्षमा वागमतीको ३७.७ प्रतिशत, प्रदेश १ को १५.६ प्रतिशत, गण्डकी प्रदेशको ८.७ प्रतिशत, लुम्बिनी प्रेदेशको १४.० प्रतिशत, मधेस प्रदेशको १३.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत र कर्णाली प्रदेशको ४.० प्रतिशत रहेको थियो । यसअघि विभागले चालू आर्थिक वर्षका लागि अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिसकेको छ । 



प्रदेशस्तरीय आर्थिक वृद्धिदरमा पनि चालू आर्थिक वर्ष वागमती प्रदेशको ६.७ प्रतिशत, गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेशको ५.४६ प्रतिशत, प्रदेश १ को ५.४१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.९३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको ६ महिनादेखि ९ महिनाको आर्थिक गतिविधि, प्रशासनिक तथ्यांकलगायत मुख्य १८ वटा सूचकहरुलाई आधार मानेर कुल गार्हस्थ उत्पादन प्रदेश तहको योगदान र आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गरेको बताएको छ । आर्थिक वर्ष ०६७–६८ लाई आधार वर्ष मानेर तथ्यांक मापन गरिएको विभागले बताएको छ । 



  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १८:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया