स्थानीय निर्वाचन : राप्रपा र एकीकृत समाजवादीले काट्ने भोट नै वीरेन्द्रनगरमा निर्णायक

वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख पदका लागि अहिले नेकपा एमाले एकातिर छ भने नेपाली कांग्रेस र माओवादी सहितको गठबन्धन अर्कोतिर छ ।

वीरेन्द्रनगर कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आक्रामक चुनावी शैलीमा निर्वाचनमा उत्रिएको छ ।

उम्मेदवार मनोनयन फिर्ताको अन्तिम समयमा आएर वीरेन्द्रनगरमा भएको दलीय गठबन्धनले एमालेलाई चुनौती थपिएको छ । सुरुवाती अवस्थामा दलीय गठबन्धन हुन नसकेको वीरेन्द्रनगरमा एमालेले सोचेअनुरूपै मत ल्याउने सम्भावना देखेको थियो । तर, अन्तिम समयमा बनेको माओवादी-कांग्रेसको गठबन्धनविरुद्ध एमाले अहिले तीब्रताका साथ चुनावी प्रसारप्रसारमा जुटेको छ ।

नेकपा एकीकृत समाजवादी पनि आफ्ना उम्मेदवारका साथ एक्लै चुनावी मैदानमा छ । मनोनयन फिर्ताको समयसीमा एकीकृत समाजवादीबाट उठेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् ।

सुर्खेतका अन्य पालिकामा गठबन्धनमा समावेश भएको समाजवादी वीरेन्द्रनगरमा भने अघोषित गठबन्धनमा सहभागी भएको झैं देखिन्छ । माओवादी-कांग्रेससँग गठबन्धनमा नगरेको एकीकृत समाजवादीले अहिले चुनावी प्रचारप्रसारका साथै घरदैलो अभियान गरिरहेको छ ।

राप्रपाले भने यसपालि वीरेन्द्रनगरका प्रभावशाली नेतालाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । नगरप्रमुख पदको उम्मेदवार रहेका मुकुन्दश्याम गिरी राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । कर्णाली प्रदेशमा आफ्नो उपस्थिति जनाउन पनि राप्रपाले यसपालि प्रदेशको राजधानी वीरेन्द्रनगरलाई केन्द्रविन्दुमा राखेको हो ।



वीरेन्द्रनगरमा यस प्रकारको राजनीतिक वातावरणले आसन्न स्थानीय निर्वाचनका लागि राप्रपा र एकीकृत समाजवादीले ल्याउने मत नै निर्णायक मत हुने राजनीतिक विश्लेषकहरू बताउछन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक कमल लम्साल भन्छन्, ‘अहिले वीरेन्द्रनगरको राजनीतिक वातावरण हेर्दा यहाँ समाजवादी र राप्रपाले काट्ने भोट नै निर्णायक देखिन्छ ।’



उनका अनुसार दुई दलीय गठबन्धनमा रहेका कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुखमा संयुक्त उम्मेदवार उठाएका छन् । यसले एमालेलाई चुनौती थपिदिएको छ । यस्तो परिस्थितिमा राप्रपा र एकीकृत समाजवादीले काट्ने भोट निर्णायक बन्न सक्ने प्राध्यापक लम्साल बताउँछन् ।

विगतमा कमजोर राप्रपा अहिले केही सुदृढ बनेको आँकलन गर्न सकिने उनले जनाए । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेकाले कांग्रेस दुई पार्टीको आन्तरिक शक्ति पनि जाँच्दैछ । यता एकीकृत समाजवादीले आफूलाई नगरमा पहिलोपटक परीक्षण गर्दैछ ।

विगतका निर्वाचन परिणामअनुसार वीरेन्द्रनगरमा केही मत तलमाथि भए पनि एमाले र कांग्रेसकै उम्मेदवारले नगरको नेतृत्वमा बाजी मार्ने सम्भावना देखिन्छ । अघिल्लो स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरमा राप्रपाको न्यून प्रभाव देखिएको थियो ।

नगरको प्रमुख पदसहित ६ वडा कांग्रेस र उपप्रमुखसहित नौ वडा एमालेले जितेको थियो । एउटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।

विगतमा वीरेन्द्रनगरको नगर प्रमुख भइसकेका मुकुन्दश्याम गिरी राप्रपाबाट प्रमुखको उम्मेदवार छन् । राप्रपाका प्रभावशाली नेताका रूपमा उनको पहिचान छ ।

राप्रपाले वीरेन्द्रनगरको उपप्रमुखमा लक्ष्मीकुमारी विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीबाट नगर प्रमुखमा धना शाही र उपप्रमुख पदका लागि वीरबहादुर रावत उम्मेदवार छन् ।

कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनले कांग्रेसका नगर कमिटी अध्यक्ष उपेन्द्र खड्कालाई प्रमुख र माओवादी केन्द्रकी शान्ति ढकाललाई उपप्रमुखको साझा उम्मेदवार बनाएका छन् ।

नेकपा एमालेले मोहनमाया ढकाललाई नगर प्रमुख र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ । ढकाल नेकपा (एमाले) कि केन्द्रीय सदस्य र यसअघि वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख पनि हुन् ।

१६ वटा वडा रहेको वीरेन्द्रनगरमा ६७ हजार मतदाता छन् ।

  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १८:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया