क्यानभासमा मधेसी इतिहास

काठमाडौं– नीलो खैरो रंगको चापाकलमा गोली लगेको छ । घाइते चापाकलको मुखबाट पानी होइन, रगत तप्किरहेको छ ।

२०७२ सालको मधेस आन्दोलनका क्रममा यहाँ पानी पिउन आएका महोत्तरीका ३१ वर्षे अमित कापरको गोली लागी ज्यान गएको थियो । अधिकारको आवाज उठाउँदा मानवता र सन्धिविपरीत चालिएको कदम र उक्त मृत्यु हरिओमको मनमा ताजै छ । सोही ‘कथा’लाई उनले चापाकलको माध्यमबाट क्यानभासमा उतारेका छन् । 

‘म को हुँ ? मेरो अस्तित्व के हो ? मेरो इतिहास के हो ? मेरो संस्कृति के हो ?’ यिनै प्रश्नहरुले हरिओम मेहेतालाई आफ्नो पहिचान खोज्न र त्यसलाई क्यनभासमा उतार्न प्रेरित गर्यो । अर्कोतर्फ तत्कालीन अवस्थामा समाजमा कस्ता घटना घटिरहेका छन् ? राज्यले समाजलाई कस्तो व्यवहार गरेको छ ? जस्ता प्रश्नको जवाफ उनले आफ्ना कलामार्फत बाहिर ल्याउने कोसिस गरेका छन् ।

अहिले तिनै कला ‘लिरिकल एक्जिस्टेन्स’ शीर्षकमा बबरमहलस्थित आर्ट ग्यालरीमा प्रदर्शनमा छन् ।

ग्यालरी हलको बीचमा बनाइएको मण्डप, कोठाका चार कुनामा रंगीन र कलात्मक अरिपन, बज्दै गरेको मैथिली लोक संगीत आदिले वर्तमान मिथिला संस्कृति झल्काउँछ । र, हलमा प्रस्तुत कलामा मिथिला संस्कृतिको इतिहास भेट्न सकिन्छ ।



रंगका आधारमा हुने विभेदका कारण केही समयअघिबाट उनले आफ्नो अस्तित्व खोज्न थाले । अध्ययनका क्रममा उनले आफ्नो मात्र होइन, समग्र क्षेत्रकै इतिहास पत्ता लगाए । आफूले जानेर मात्र नहुने बुझी जानेका कुरा बाहिर ल्याउनु आफ्नो दायित्व ठानेर इतिहासलाई कलाको भाषामा प्रस्तुत गरे । 

‘हामीकहाँ रंगको आधारमा अझै पनि विभेद गरिन्छ, जसको सिकार आफैँ भएको छु,’ प्रदर्शनीको आवश्यकता प्रस्ट्याउँदै मेहताले भने, ‘यस्तो विभेद किन गरिन्छ ? जान्न र आफ्नो इतिहास बाहिर ल्याउन चित्रमा उतारेको हुँ ।’ 



मेहताका अनुसार सप्तरीको कनकपट्टिमा ३०० देखि ५०० बिसीबीचका ऐतिहासिक वस्तु, दरबारका पर्खाल, बुद्धका मूर्ति, माटाका भाँडा आदि पाइएका थिए । जुन कुसान समयको हो भनेर प्रमाणित भइसकेको छ ।

२५ सय वर्षअगाडि महाभारतकालीन मूर्तिहरु धनुषाको मुख्यापतिमा फेला परेको उनी बताउँछन् । ‘यस्ता वस्तुहरुले हाम्रो सभ्याता कति पुरानो हो र समाज कति व्यवस्थित थियो भन्ने प्रमाणित गर्छ,’ उनी भन्छन्, ‘त्यतिवेलाको राज्य निकै सभ्य र सुसंस्कृत थियो, जुन कुरा आर्टमा देखाउन खोजेको छु ।’ 

नेपाल अंकित जंगे पिलरमा लालिगुराँस र कमलको फूल देख्न सकिन्छ । ‘नाता’ शीर्षकको यस कलामा दुई देशको मेलमिलाप देखाउन खोजिएको छ । तर, यो लेखोटमा मात्र सीमित छ, व्यवहारमा छैन भनेर देखाउनु कलाको उद्देश्य हो । 

त्यस्तै, अर्को तस्बिरको किनारमा हरिया, सुनौला र सेता ढुंगाको बाँध बाँधिएको छ । मानिस, चौपाया, घर, भाँडाबर्तन बाढीमा बगेका छन् । पानीमा उत्रिएको मट्का रित्तो छ । नियत नाम दिइएको उक्त चित्रमार्फत उनले दुई वर्षपहिले सप्तरीमा आएको बाढीको चित्रण गरेका छन् । जहाँ ढुंगा भारतको प्रतिनिधि हो र बग्दै गरेको दृश्य मधेसी समुदाय । उक्त तस्बिरले मधेस र भारतबीचको वर्तमान सम्बन्ध देखाउन खोजेको छ । 

आर्ट ग्यालरीमा प्रदर्शित काला हरिओमको चौथो प्रदर्शनी हो । इतिहास र वर्तमान झल्काउने यी तस्बिर बनाउन र अध्ययन अनुसन्धान गर्न तीन वर्ष लाग्यो । उनका बुबाले विवाहका मण्डप बनाउँथे । कामअनुसार सम्मान भए पनि कमाइ हुँदैनथ्यो । उनका बुबालाई पनि छोराले अरु नै काम गरोस् भन्ने लागेको थियो । तर, सानैबाट उनी चित्रकलमा आकर्षित थिए । 

हनुमाननगरस्थित घरबाट राजविराज जाने क्रममा उनले एकजना बूढो मानिसले नम्बर प्लेट लेखिरहेका देखे । त्यो दृश्यले उनलाई तत्काल प्रभाव पार्यो । ‘जीवनको आखिरी पाटोमा पनि मैले कुची चलाउन सक्छु र मैले यो काम नै गर्नुपर्छ भन्ने ठानेँ,’ कलाकारितामा छिर्दाको अनुवभ सुनाउँदै उनले भने, ‘राजविराज हनुमाननगर १२ किलोमिटर दैनिक यात्रा गरेर मैले कुची चलाउन सिकेँ ।’ 

विगत १२ वर्षदेखि हरिओम समाजका वर्तमान र ऐतिहासिक तथ्य क्यानभासमा उतारिरहेका छन् । प्रदर्शनीमा राखिएका कलाभित्र एउटा समानता छ । तीमध्ये धेरैजसो टुटेफुटेका र चर्किएका छन् । यसलाई कलाकारको मुभमेन्ट र इतिहासको स्थिति भन्न रुचाउँछन्, कलाकार हरिओम । भन्छन्, ‘कलाकारका केही कुरा नचाहेर पनि कलामा प्रतिविम्बित भइरहेको हुन्छ, टुटेफुटेका चित्र त्यसैको संकेत हो ।’ 

  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार २०:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया