एमाले अध्यक्ष ओलीको जन्मथलो तेह्रथुममा सत्ता गठबन्धनलाई चुनौती दिँदै विरासत जोगाउने कसरतमा एमाले

अन्य जिल्लाहरुमा जस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलोसमेत रहेको तेह्रथुममा पनि चुनावी माहोल तातेको छ । यतिबेला तेह्रथुममा उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न विभिन्न आश्वासन बाँड्दै मत मागिरहेका छन् ।

अन्य जिल्ला जस्तै तेह्रथुममा पनि यसपटकको निर्वाचन सत्ता गठबन्धन भर्सेस एमालेको रोचक प्रतिस्पर्धा हुने निश्चित छ । पाँच दलीय सत्ता गठबन्धन एमालेविरुद्ध चुनावी मैदानमा उत्रिएको छ तर केही स्थानमा गठबन्धनमा पनि खटपट देखिएको छ ।

६ स्थानीय तह रहेको तेह्रथुममा सत्ता गठबन्धनले भागवण्डा गर्दा सबै दललाई सम्मानजनक सिट नदिएको गुनासो गठबन्धनमा देखिएको छ र यसले गठबन्धनभित्र नै असन्तुष्टि बढाएको छ । तेह्रथुममा कुनै पालिकामा सत्ता गठबन्धनमा आवद्ध दलहरु कतै एक्ला एक्लै निर्वाचन लडिरहेका छन् भने कतै भागवण्डा गरेका छन् । ओलीको जन्मथलोसमेत रहेको अठराई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमतिअनुसार उम्मेदवारी दिइएको छ ।

तर, लालिगुराँस नगरपालिकामा एक्ला एक्लै प्रतिष्पर्धामा उत्रिएका छन्, सत्तारुढ गठबन्धनका दलहरु ।  म्याङलुङ नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर एकीकृत समाजवादीले लिने सहमति भएको छ ।सो पालिकामा एउटै चुनाव चिन्ह (रुख) लिएर लड्ने सहमति भएसँगै सबै उम्मेदवारले रुख चिह्न लिएका छन् । मेन्छयायेम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले लिएको छ । त्यस्तै फेदाप गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति गरेको कांग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फेले बताए । उनका अनुसार छथर गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले लिने सहमति भएको छ । 

२०७४ सालको मत परिणाम अनुसार सत्ता गठबन्धनका दलले गरेको चुनावी तालमेलका कारण तेह्रथुममा एमालेलाई कठिन हुने देखिएको छ । 

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा जितेको आधारमा २०७४ सालको निर्वाचनमा तेह्रथुममा नेकपा (एमाले) पहिलोे, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए । 



२०७४ सालको स्थानीय तह निर्वाचनमा ६ वटा स्थानीय तह रहेको तेह्रथुममा एमालेले पाँच र कांग्रेसले एउटा स्थानीय तह जितेको थियो । सो निर्वाचनमा एमालेले एउटा नगरपालिकाको मेयर, चार वटा पालिका अध्यक्ष, एक उपमेयर र तीन पालिकाका उपाध्यक्ष जितेको थियो । 

त्यस्तै कांग्रेसले एउटा नगरपालिकाको मेयर र एक पालिकाको उपाध्यक्ष जितेको थियो । 



तेह्रथुमका कुल ४३ वडा मध्ये एमालेले २२ वटा वडा जित्दा कांग्रेस १९ वडामा विजयी भएको थियो । सो निर्वाचनमा एउटा मात्र वडाध्यक्ष जितेर माओवादी केन्द्रले अस्तित्व मात्र जोगाउन सफल भएको थियो । एकजना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए । 

२०७४ को निर्वाचनको परिणामअनुसार एमाले बलियो अवस्थामा देखिन्छ । तर, एमाले विभाजित भएका कारण त्यसको असर आगामी निर्वाचनमा पर्ने देखिन्छ । यद्यपी तेह्रथुममा पार्टी विभाजनको असर नरहेको एमाले नेताहरुले दावी गरिरहेका छन् । 

नेपाली कांग्रेसबाहेक गठबन्धनमा आवद्ध सबै दल विभाजित र टुटफुटको अवस्थामा छन् । तेह्रथुममा सत्ता गठबन्धनका अन्य दल नेपाली कांग्रेसको सहयोगबिना एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा त्यसैले पनि देखिँदैनन् ।

सत्ता गठबन्धनमा आबद्ध जसपा, जनमोर्चा, संयुक्त लोकतान्त्रीक राष्ट्रि मञ्च र एमालेबाट विभाजित भएर बनेको नेकपा (एस) को उपस्थिती तेह्रथुममा न्युन छ । 

एमाले विभाजित भएका कारण गत निर्वाचन भन्दा अहिले सत्ता गठबन्धनको  प्रमुख दल नेपाली कांग्रेस बलियो अवस्थामा छ । २०७४ को निर्वाचनमा एउटा मात्र वडा जितेको भएपनि माओवादी केन्द्र आगामी निर्वाचनमा गठबन्धनकै कारण परिणाम बढाउने दाउमा छ । २०७४ सालको निर्वाचन परिणाम अनुसार सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी) केन्द्र तेह्रथुममा निकै कमजोर अवस्थामा देखिन्छ । एमालेलाई सोही पार्टीबाट विभाजित भएर बनेको नेकपा (एस) ले प्रभाव पार्ने स्थिती छ । 

गठबन्धनमा आवद्ध सवै दल एक ठाउँमा उभिएकाले एमालेलाई यसपटटको निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलोसमेत रहेको तेह्रथुममा यसपटकको निर्वाचन रोचक हुने देखिन्छ । 

सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने निर्णय भइसकेकाले एमालेलाई २०७४ सालमा जितेका स्थानीय तह र वडा जोगाउन मुस्किल देखिन्छ । तर, एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङ्वा गत निर्वाचन भन्दा अहिले अझ बलियो अवस्थामा एमाले रहेको दावी गर्छन् ।

‘तेह्रथुममा हामीले जहिल्यै जितेको ठाउँ हो । हार्ने त सवालै आउँदैन । अघिल्लोपटक प्राविधिक कारणले एउटा पालिका गुमाएका थियौ । यसपटक त्यो समेत फर्काउँछौँ,’ उनले फरकधारसँग भने, ‘गठबन्धन नाम मात्रको हो । यहाँ गठबन्धनका साना दलको उपस्थिति नै छैन ।’ 

यता सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस तेह्रथुमका सभापति तुम्बाहाम्फेले यसपटक गठबन्धनको पक्षमा चुनावी माहोल भएकाले अधिकांश पालिका जित्ने दावी गरे । उनले आफूहरुको पक्षमा माहोल राम्रो भएपनि गठबन्धन भएका सबै पालिका भने जित्ने अवस्था नरहेको स्वीकारे । 

‘एउटा बाहेक सवै पालिकामा हाम्रो गठबन्धन छ । अहिलेसम्म हाम्रो पक्षमा एकदमै राम्रो माहोल छ ।’ उनले फरकधारसँग भने,‘गठबन्धन इमान्दारीपूर्वक कार्यान्वयन हुदा पनि निर्वाचन हो । यसै भन्न सक्ने अवस्था छैन ।’ 

तेह्रथुममा सत्ता गठबन्धन भनेपनि गठबन्धनका प्रमुख तीन दलबिच मात्र चुनावी तालमेल भएको छ । तेह्रथुममा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीबिच मात्र गठबन्धन भएको सत्ता गठबन्धनकै दल जनता समाजवादी पार्टी तेह्रथुमका अध्यक्ष भगवान रिजाल बताउँछन् । ‘भागवण्डा गर्ने भनेर हामीलाई अल्मल्याएर राखे । त्यसैले ढिलो भएपछि केही पालिकामा हामीले उम्मेदवारी दिने परिस्थति नै बनेन,’ उनले फरकधारसँग भने, ‘तेह्रथुममा तीन दलको मात्र गठबन्धन हो । हामी आफ्नै हिसाबले निर्वाचन लडिरहेका छौँ ।’ 

 

२०७४ मा यस्तो थियो निर्वाचन परिणाम 
अठराई गाउँपालिका 

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले अध्यक्ष ओलीको जन्मथलो समेत रहेको अठराई गाउँपालिकाको अध्यक्षमा सोही पार्टीका मानबहादुर लिम्बु झिनो मतान्तरले विजयी भएका थिए । तर, एमाले विजाजन भएपछि उनी नेकपा (एस) मा लागेका छन् । सो निर्वाचनमा लिम्बुले  ३८४७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण कुमार इङ्गनामले ३७४४ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा पनि सो पालिकामा माओवादी केन्द्रले चुनावी तालमेल गरेको थियो । चुनावी तालमेलका कारण माओवादी केन्द्रले गाउँपालिका अध्यक्षमा उम्मेदवार उठाएको थिएन । गाउँपालिका अध्यक्षमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका मृगेन्द्रजंग इङ्गनामले १२६ मत प्राप्त गर्दा तत्कालिन डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका टिकाराम गुरुङले ८४, स्वतन्त्र उम्मेदवार सुवास फोम्बोले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराज कन्दङ्वाले ३२ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै रुपादेवी कन्दङ्वा ३९६३ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेस–माओवादी गठबन्ध उम्मेदवार माओवादी केन्द्रकी रमिला खनालले २९७१ मत ल्याएकी थिइन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चुङवान्माले १९७, नयाँ शक्ति पार्टीकी हीमा दंगालले ७० र राष्ट्रिय प्रजातन्त्रिक पार्टीकी वर्षा इङनामले ५१ मत ल्याएका थिए । 

अठराई गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५ र ७ नम्बर वडा एमालेले जित्ता गठबन्धन गरेपनि नेपाली कांग्रेसले २ र माओवादी केन्द्रले ६ नम्बर वडा मात्र जितेका थिए । 
उक्त परिणाम अघिल्लो निर्वाचनमा गठबन्धन गरेपनि नेपाली कांग्रेस र माओवादी केन्द्रले एमालेलाई पराजित गर्न सकेका थिएनन् । यसपटक गठबन्धनमा अन्य दल थपिए पनि उनीहरु कमजोर अवस्थामा देखिन्छन् । त्यसैले आगामी निर्वाचनमा गठबन्धन भएपनि अठराईमा कडा प्रतिष्पर्धा हुने देखिन्छ । 

छथर गाउँपालिका 

छथर गाउँपालिका अध्यक्षमा पनि एमालेकै सन्तवीर लिम्बु ३४२६ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका टेकराज लिम्बुले २५५२ मत प्राप्त गर्दा माओवादी केन्द्रका तेजबहादुर कटुवालले ६५४, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुकबहादुर लिम्बुले १९२ र नयाँ शक्ति पार्टीका युद्ध लक्ष्मण भट्टराईले २७ मत मात्र प्राप्त गरेका थिए । 

उपाध्यक्षमा पनि एमालेकै तारा खरेल ३३६८ मत ल्याय विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी हीमामाया पौडेल भट्टराईले २४८९ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी लिलामाया सुब्बाले ७०१ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी २०२ मत प्राप्त गरेकी थिइन् । 

छथरमा एमालेले वडा नम्बर २, ४, ५ र ६ नम्बर वडा जित्दा नेपाली कांग्रेसले ३ र १ नम्बर वडा स्वतन्त्र उम्मेदवारले जितेका थिए । 
 

फेदाप गाउँपालिका 

फोदाप गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धन गरेपनि गाउँपालिका अध्यक्षमा एमालेका हरिप्रसाद चोङवाङ लिम्बु ३४३९ मत सहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रसँग गठबन्धन गरेपनि नेपाली कांग्रेसका केशवप्रसाद भेटवालले ३२२० मत पाएका थिए । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तिलबिक्रम लिम्बुले ११५ र नयाँ शक्ति पार्टीका होमप्रसाद ढकालले ६८ मत मात्र प्राप्त गरेका थिए । 

उपाध्यक्षमा पनि एमालेकै गीतादेवी थापा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवारलाई हराउँदै दोब्बर बढी मतान्तर (३४३४) ले विजयी भएकी थिइन् । कांग्रेस–माओवादी गठबन्धनका संयुक्त उम्मेदवार माओवादी केन्द्रका गंगाप्रसाद लिम्बुले १७०१ मत मात्र प्राप्त गर्दा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रहिता इङ्नामले १२५ र नयाँ शक्ति पार्टीकी दिलकुमारी कुरुङ्वाङ लिम्बुले ८५ मत ल्याएकी थिइन् । 

सो निर्वाचनमा एमालेले फोदापका वडा नम्बर १, ३ र ४ नम्बर जित्ला नेपाली कांग्रेसले २ र ५ नम्बर वडामा बाजी मारेको थियो । 
 

मेन्छयायेम गाउँपालिकामा 
मेन्छयायेम गाउँपालिका अध्यक्षमा पनि एमालेकै यादवबहादुर खापुङ १६८३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देउबहादुर लिम्बुले १४९४ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका फूर्वी शेर्पाले १३९ मत प्राप्त गर्दा नयाँ शक्ति पार्टीका हरिप्रसाद चोङवाङले ५३ मत मात्र ल्याउन सफल भएका थिए । 

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी गीतादेवी तिम्सीना ६६ मतको झिनो अन्तरले विजयी भएकी थिइन् । उनले १४८६ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्दी एमालेकी दिलकुमारी शंकरले १४२० मत ल्याएकी थिइन् । माओवादी केन्द्रका बसन्तसिंह लिम्बुले २९० र नयाँ शक्ति पार्टीकी फुलमाया शेपा खापुङले ६१ मत मात्र प्राप्त गरेका थिए । 
मेन्छयायेमका वडा नम्बर ५ र ६ नम्बर वडा एमालेले जित्दा नेपाली कांग्रेसले १, २, ३ र ४ नम्बर वडा आफ्नो पोल्टामा पारेको थियो । 

म्याङलुङ नगरपालिका 
म्याङलुङ नगरपालिकाको प्रमुखमा एमालेकै संजयकुमार तुम्बाहाम्फे ३८९० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रणविक्रम लिम्बुले ३५८६ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका माओवादी केन्द्रका नेत्रकुमार सोदेम्बाले जम्मा १९३ मत मात्र प्राप्त गरेका थिए । 

उपप्रमुखमा पनि एमालेकै पार्वती सानु डाँगी ४०६३ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उमादेवी कार्कीले ३२४२ मत प्राप्त गर्दा तेस्रो भएकी माओवादी केन्द्रकी २१८ मत मात्र प्राप्त गरेकी थिइन् । म्याङलुङका वडा नम्बर २, ६, ७, ८ र १० नम्बर वडा एमालेले जित्दा नेपाली कांग्रेस १, ३, ४, ५ र ९ नम्बर वडामा विजयी भएको थियो । 

लालीगुराँस नगरपालिका 
लालीगुराँस नगरपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका अर्जुन मावोहाङ ३८५१ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका कमलबहादुर खड्काले २८२६ मत ल्याएका थिए । माओवादी केन्द्रका गणेश लिम्बु ८२८ मतसहित तेस्रो भएका थिए । 

उपप्रमुखमा पनि नेपाली कांग्रेसकै लिला पोख्रेल ३२०० मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी जमुना मगर कार्कीले ३०७७ मत प्राप्त गर्दा तेस्रो बनेकी माओवादी केन्द्रकी प्रेमकुमारी अधिकारीले ११६६ मत ल्याएकी थिइन् । 

लालीगुराँस नगरपालिकाको वडा नम्बर २, ३, ५, ६, ७ र ९ नम्बर वडा नेपाली कांग्रेसले जित्दा एमाले १, ४ र ८ नम्बर वडामा विजयी भएको थियो । 

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १०:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया