हेटौंडामा दीपक सिंहको 'इन्ट्री'ले थपियो चुनौती, एमालेले जोगाउला विरासत ?

स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै देशकै माहोल राजनीतिमय बनेको छ । बाटो, चोक चौतारो, चिया-पसलमा कुन स्थानीय तहमा कुन पार्टीका उम्मेदवारले जित्लान् भन्ने चर्चा चल्न थालेको छ ।

मकवानपुरमा पनि अन्य स्थानीय तहको भन्दा हेटौंडा उपमहानगरपालिकाको चर्चा धेरै हुने गरेको छ । हेटौंडा बागमती प्रदेशको राजधानीसमेत रहेको कारण पनि सबैको चासोको विषय बनेको छ ।

त्यसो त, अबको पाँचवर्षे कार्यकालका लागि कुन राजनीतिक दलबाट उठेका उम्मेदवारले हेटौंडा उपमहानगरको बागडोर समाल्न पाउला भन्ने पनि चासोको विषय बनेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमाले र सत्तारूढ गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । हेटौंडाको मेयर पदमा एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल उम्मेदवार छन् भने सत्तारुढ गठबन्धनले  मीनाकुमारी लामालाई उम्मेदवार बनाएको छ ।

१५ वर्षदेखि हेटौंडामा आफ्नो विरासत जोगाउन सफल रहेको नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा के गर्ला भन्ने पनि चर्चाको विषय बनिरहेको छ । पाँच राजनीतिक दल एक भएर एमालेको विरासत भत्केला कि भन्ने आशंका गरिएका बेला  अचानक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक सिंहको 'इन्ट्री'ले नयाँ मोड ल्याएको छ । जसले एमालेलाई आफ्नो लामो विरासत जोगाउन चुनौती थपिएको छ ।

दीपकले राप्रपाबाट हेटौंडाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि हेटौंडाको राजनीतिक माहोल झनै तातिएको छ । स्थानीय तथा संसदीय निर्वाचनमा तीन पटक पराजित भइसकेका सिंह यसपटक जसरी भए पनि जित्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।



नेकपा एमाले ठूलो शक्तिमा रूपमा रहँदै आएको हेटौँडामा यो पटक एमालेले प्रभावशाली नेता तथा संविधानसभा सदस्य पौडेललाई मेयर तथा सुमित्रा काफ्लेलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा बलियो संगठन रहेको एमाले नै हेटौंडाको प्रमुख प्रतिस्पर्धाको रूपमा उभिएको देखिन्छ । त्यसो त, आसन्न निर्वाचनमा नेकपा एमालेले हेटौंडामा आफ्नो विरासत जोगाउन नसक्ने पो हो कि भन्‍ने कुरा चल्न थालेका छन् ।



पाँच दलीय गठबन्धनको प्रभाव कमै मात्र पर्ला भन्ने सोचेका एमालेमा राप्रपाबाट दीपकले हेटौंडाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि तरंग पैदा भएको छ । हेटौंडाको मात्रै नभएर जिल्लाकै ठूलो शक्ति बनेको एमालेले ३० वैशाखको स्थानीय तहको निर्वाचनमा आफ्नो विरासत जोगाउन चुनौती नै देखिएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर/उपमेयरसहित १९ वटा वडामध्ये १२ वटामा एमालेले जितेको थियो । अन्य पाँचवटामध्ये पाँचवटामा कांग्रेस र २ वटामा माओवादी केन्द्रले जितेको थियो ।

माओवादी केन्द्रले जितेको दुईवटा वडामध्ये एउटा वडाको वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने एमालेका एक वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर पदमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सो निर्वाचनमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेको थियो ।

निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महतले जितेका थिए । महतले २३ हजार १२४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याएका थिए ।

यता, हेटौंडाको उपमेयर पदमा एमालेकी मीनाले माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याएका थिए ।

एमाले छाडेर एकीकृत समाजवादी रोजेकी लामाका लागि एमाले मुख्य प्रतिस्पर्धी हो । गठबन्धनभित्र कांग्रेस बलियो र एकीकृत समाजवादी नयाँ शक्ति भएकाले कमजोर देखिन्छ । माओवादी केन्द्र जिल्लाको तेस्रो शक्ति हो । मेयर जित्न करिब ३० हजार बढी मत ल्याउनुपर्ने आकलन छ ।

यसअघि कांग्रेस, माओवादी केन्द्र मिलेको अवस्थामा दुई दलीय गठबन्धनसँग २२ हजार ५ सय ९ मत थियो । अहिले पाँच दल मिल्दा ३५ हजारमाथि मत पुग्ने गठबन्धनको दाबी छ । गठबन्धन दलका मतदाताले साथ दिए जित सुनिश्चित रहेको दलहरूको दाबी छ । तर, एमालेले यसअघि एकल २३ हजार १ सय २४ मत ल्याएको थियो ।

एमालेबाट हेटौंडाको मेयरमा उम्मेदवारी दिएका पौडेल अहिले राजनीतिक दलको गठबन्धनसँग जनता वाक्क भएर एमालेलाई नै मत दिनेमा विश्वस्त रहेको बताउँछन् । ‘गठबन्धनले केन्द्रीय तहको सरकारमा पनि अस्थिरता ल्यायो । यो गठबन्धनले प्रदेश तहको सरकारमा पनि अस्थिरता ल्यायो, र यो अस्थिरताले मुलुकलाई केही पनि दिन सकेन,’ उनले भने ।

यो पटकको स्थानीय तहको निर्वाचनमा पनि लामो विरासत कायम राख्ने बताउँदै पौडेलले थपे, ‘यो अस्थिरताले थप महँगी, थप शोषण, थप उत्पीडन दियो र मुलुकलाई टाट पल्टाउने परिस्थिति निम्त्याएको छ । त्यसले गर्दा अब यो केन्द्र र प्रदेशमा भइरहेको अस्थिरतालाई स्थानीय तहमा पनि सार्ने प्रयास भइरहेको छ । यो मुलुकका लागि कलंकको विषय हो । हामीले जनतालाई बुझाउन सक्यौँ भने गठबन्धनलाई हामी हराउन सक्छौँ । जनतालाई महसुस गराउन हामीले सक्नुपर्यो । यति भयो भने गठबन्धनसँग एमालेलाई चुनाव जित्न कुनै चुनौती हुने छैन । हामीले सजिलै जित हासिल गरेर विरासत जोगाउन सक्छौं ।’

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १६:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया