देउवा सरकारले एमसिसी पास गरेर देशलाई आर्थिक संकटमुक्त गरेको पौडेलको दाबी

नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका पाँच दलीय गठबन्धनका संयोजक रामचन्द्र पौडेलले देउवा नेतृत्वको सरकारले एमसीसी पास गरेर देशलाई आर्थिक संकटमुक्त गरेको बताएका छन् । 

शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै वरिष्ठ नेता पौडेलले एमसिसी पास नभएको भए देशको अवस्था श्रीलंकाको जस्तो हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् । 

‘एमसिसी पास नभएको भए नेपालको स्थिति पनि श्रीलंकाको जस्तो हुने थियो’ उनले भने, ‘देशलाई आर्थिक संकटबाट मुक्त गराउनका लागि एमसिसी पास गरिएको हो ।’

उनले आगामी दिनमा नेपालीलाई कसैको अगाडि शीर निहुराउन अथवा हात थाप्न नपर्ने अवस्थाको अन्त्यका लागि एमसिसी पास गरिएको जिकिरसमेत गरे । 
वरिष्ठ नेता पौडेलले जनकपुरधाममा बागीले जित्दै आएको इतिहास रहेकोले गठबन्धन आबद्ध दलहरूलाई अन्तर्घात नगर्न आह्वानसमेत गरेका छन् । 

उनले भने,‘जनकपुरधाममा बागी उम्मेदवारले जित्दै आएको इतिहास छ । त्यसैले यसपालि गठबन्धनभित्र अन्तर्घात नगरी गठबन्धन दलभित्रका साझा उम्मेदवारलाई जिताउनुपर्छ ।’

उनले जनकपुरधाममा छाता र रूखका प्रमुख उम्मेदवार गठबन्धनको साझा उम्मेदवार रहेकोले छातामा मेयरलाई र रूखमा उपमेयरलाई मतदान गर्न मतदातासँग आग्रह गरे । 



नेपालमा भ्रष्टाचार र राजनीतिक अस्थिरता विकासको बाधक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले अस्थिरताको प्रतिक केपी ओली बनेको आरोपसमेत लगाए ।

उनले भने, ‘केपी ओलीकै नेतृत्वमा यो मुलुकलाई अस्थिर बनाएर संविधानलाई लथालिङ्ग पारिदिने, संसदलाई भताभूंग पारिदिने, अदालतलाई दुरावस्थामा पुर्याउने, देशका संवैधानिक निकायहरूलाई बर्बाद गर्ने प्रक्रिया सुरु भयो । उनकै बदमासीलाई तह लगाउनका लागि यो गठबन्धनको जन्म भएको हो ।’



वरिष्ठ नेता पौडेलले कांग्रेसभित्रको अन्तर्घातले पार्टीलाई बर्बाद बनाउँदै आएकोले पार्टीभित्र अब लप्पनछप्पन र अन्तर्घातका कुराहरू कुनैपनि हालतमा स्वीकार्य नहुनेसमेत बताए । 

पौडेलले जनकपुरधामको अस्तव्यस्ततालाई चिर्दै व्यवस्थित र सुन्दर शहर निर्माणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १८:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया