'सबै सूचकहरू नकारात्मक छन्, अर्थतन्त्र संकटोन्मुख छैन भन्न मिल्दैन'

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथमकिता राखेर बजेट ल्याउनु पर्ने आवश्यकता रहेको बताए ।

डा. अधिकारीले सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ ।

सरकारले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरू हेर्दा अर्थतन्त्र संकटोन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आवश्यक रहेको बताए ।

'बजेट कार्यान्वयनमा विगतमा जुन समस्या थिए अहिले पनि ती समस्या यथावत छन । सबै सूचकहरू नकारात्मक छन् । राजश्व संरचनाको दृष्टिकोण, प्रत्यक्ष आयकरको योगदान पुरानै छ, रोजगारी बढाउन सकिएको छैन । प्रतिवद्धता भएको वैदेशिक लगानी ३० प्रतिशत भन्दा बढी ल्याउन सकिएको छैन । वैदेशिक लगानी आएको छैन । अर्थतन्त्र संकटोन्मुख छैन भन्न मिल्दैन' उनले भने ।

त्यस्तै, अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरू नै काम गर्न लायक नभएको बताए । उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनु पर्ने बताए ।



रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरूको भ्यालु इडिसन हुनुपर्ने बताए । उनले त्यस्ता उद्योगमा सामान्य मानिसलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नति हुने बताए । रोक्काले हामीले आर्थिक वृद्धिदरको हिसाव गर्न छाड्नु पर्ने बताए  ।

‘हाम्रो जुन आर्थिक वृद्धि छ । त्यो आर्थिक वृद्धिको हिसाबकिताब गर्न छाडिनु पर्छ । हाम्रो आर्थिक वृद्धिदरलाई आयात रेटसँग कहिले पनि तुलना गरेर गर्न सकि रहेका छैनौं । त्यसलाई छाडी दिने हो वा कम गर्ने हो भने मात्रै वृद्धिदर ६, ७ वा १० प्रतिशत हुन सक्छ । अर्थमन्त्रालयलाई धेरै गाली गर्नु आवश्यक छैन । हाम्रो अर्थतन्त्रको खर्च गर्ने संरचनामा नै समस्या छ । संरचनागत रुपमा नयाँ खालको परिर्वतन नगरी केही कुरा लागू हुँदैन' उनले भने ।



त्यस्तै, बैंक तथा वित्तीय सल्लाहकार डा. शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताए । उनले कोरोना महामारीको बीचमा अत्याधिक रेमिटेन्स नेपाल भित्र्याएकामा बजारमा तरलता सहजताका कारण उत्पादन भन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताए ।

पोखरेलले तरलता सहज भएर अत्याधिक कर्जा आयातमा गएकाले अहिले बजारमा तरलता अभाव देखिएको बताए । उनले पछिल्लो समय राज्यमा आर्थिक नीति पनि आयातमुखी भएको बताए ।

पोखरेलले बैंक तथा वितीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजश्व प्रचुर मात्रामा प्राप्त भए पनि आन्तरिक उत्पादन बढ्ने क्षेत्रमा लगानी नभएको बताए । जबसम्म स्वदेशमा नै आन्तरिक उत्पादन बढाउने र स्वदेशमा नै श्रमिकलाई रोजगारी दिने नीति आउँदैन तबसम्म आन्तरिक उत्पादन बढ्न नसक्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १९:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया