रेशम चौधरीलाई ३ बजे सिंहदबारमा शपथ खुवाइँदै

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद रेशम चौधरीले आज शपथ लिँदै छन् । चौधरी प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले शपथ लिन पाएका छैनन् । 

चौधरीका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा ३ बजे शपथग्रहण कार्यक्रम राखिएको संघीय संसद् सचिवालयका सूचना अधिकारी केशव अर्यालले जानकारी दिए । उनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ खुवाउनेछन् ।

सरकारले चौधरीविरुद्ध थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको मुख्य योजनाकार भन्दै मुद्दा दायर गरेको थियो ।

टीकापुर घटनामा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको हत्या गरेको अभियोग चौधरीमाथि लागेको थियो । तर, राष्ट्रिय जनता पार्टीले भने उनी निर्दोष भएको भन्दै उनीविरुद्धको मुद्दा फिर्ता लिन सरकारसँग माग गरिरहेको थियो ।

संसद्को हिउँदे अधिवेशनको पहिलो दिन पनि राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले ‘कैलालीबाट निर्वाचित भएर आएको त्यो थारूको छोरा रेशम चौधरी यो हाउसमा बस्नुपर्छ कि पर्दैन ?’ भन्दै प्रश्न गरेका थिए । 



चौधरीविरुद्धको मुद्दा फिर्ता लिई उनलाई संसद् छिर्ने वातावरण बनाउनुपर्ने माग राख्दै आएको राजपाले सात दिनभित्र चौधरीलाई शपथ गराउने अल्टिमेटम दिएको थियो । राजपाले दिएको समयसीमा सकिएको दुई दिनपछि चौधरीलाई शपथ खुवाउन लागिएको हो ।
 



  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार १२:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया