किन स्थगन गरियो प्रधानमन्त्रीको आजको प्रतिनिधिसभा सम्बोधन ?

काठमाडौं– बिहिबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । तर, अचानक दिउँसो प्रधानमन्त्री सचिवालयले प्रधानमन्त्रीले बिहिबार संसदमा सम्बोधन नगर्ने सूचना दियो । 

योबीच थरुहट आन्दोलनका मुख्य योजनाकार मानिएका रेशम चौधरीको सपथ खुवाउने कार्यक्रम बिहिबार नै रहेको समाचार आयो । केही दिनअघिमात्र रेशम चौधरीलाई थुनामा राख्न नहुने र सपथ खुवाउनु पर्ने राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले संसद् सम्बोधनमा जनाएका थिए । 

बिहिबार विहानको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सपथ गराइदिनुस् भनेकाले रेशम चौधरीलाई सपथ खुवाउन आफू तयार भएको सभामुख कृष्णबहादुर महराले बताएका छन् । 

‘निर्वाचन आयोगले उहाँले जितेको प्रमाणपत्र पठाएको छ, मेरो कार्यकक्षमा ल्याउँदा सपथ खुवाउनु अन्यथा हुँदैन,’ महराले बताएका छन् । तर, पहिले तय भएअनुसार चौधरीको सपथ नभएर दिउँसो तीन बजेका लागि सारिएको छ ।

यहीबीच प्रधानमन्त्री ओलीको सम्बोधन आइतबारका लागि सारिएको समाचार आयो । ‘ओलीले चौधरीको सपथ तथा संसद्मा उठेका प्रश्नहरुको जवाफ दिनु पर्ने भएकाले यो सम्बोधन सारिएको हुनसक्छ,’ नेकपाका एक नेताले आफ्नो नाम नलेखिदिन अनुरोध गर्दै भने, ‘अहिले पार्टीभित्र र बाहिर पनि ओलीले आफूलाई निकै कमजोर भइसकेको आँकलन गरेका छन्, त्यसैले उनी प्रश्नहरुबाट डराएका हुन् ।’

उता, प्रधानमन्त्री सचिवालयले ओलीको सम्बोधन किन स्थगित गरियो भन्नेबारे कारण खुलाएको छैन । 





  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार १२:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया