प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएकी छन् । उनी हप्ता दिनदेखि धनगढीका विभिन्न कार्यक्रममा सहभागि भइरहेकी छन् । आरजु बीचमा एक दिन डडेल्धुरासमेत पुगेकी थिइन् ।
शुक्रबार हुने लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेतृ आरजुले सक्रियता बढाएकी छन् । क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको २ वटा वडा पर्छन् ।
उनी धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नृपबहादुर वड र उपप्रमुखसहित वडा अध्यक्षका लागि मत माग्दै विभिन्न चुनावी सभामा सम्बोधन गरिरहेकी छन् ।
आइतबार नेतृ आरजुले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४ र ६ नम्बर वडाको चुनावी सभामा सम्बोधन गरेकी छन् ।
सभाको सम्बोधनका क्रममा उनले जनताको तटबन्धन, सघन सहरी आयोजनासँगै अन्य ठूला योजना आए मात्र धनगढी उपमहानगरपालिकाले विकासमा फड्को मार्ने बताइन् । उनले स्थानीय तहको सरकार घर नजिकैको सरकार रहेको बताइन् ।
धनगढीमा नेपाली गठबन्धन तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमाल बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी पुग्ने कार्यक्रम छ । सोमबार धनगढीमा आयोजना हुन लागेको बृहत चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा धनगढी आज पुग्न लागेका हुन् ।
देउवा कैलाली र गृह जिल्ला डडेल्धुरामा एक दिन अगाडि नै उनी बास बस्ने गरी आउन लागेको कांग्रेस कैलालीले जनाएको छ । सोमबार धनगढीको भेलालाई सम्बोधन गरेलगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।