बझाङमा गठबन्धनलाई बागीको चिन्ता, एमालेलाई विरासत जोगाउन चुनौती

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले प्रचारप्रसारका गतिविधिलाई तीव्र पारेका छन् । अहिले पालिकाको विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेवारहरू जनताको घरघरमा पुगेर भोट माग्न व्यस्त छन् । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा रोचक रूपमा हेरिएको आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख दलहरूबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

बझाङमा सत्ता गठबन्धनभित्रका तीनवटा दलबीच तालमेल भएको छ भने नेकपा एमालेले एक्लै चुनावी मैदानमा होमिएको छ । सत्तारूढ गठबन्धनका उम्मेदवारहरूले जिल्लाका १२ वटै पालिकामा आ-आफ्नो जित निश्चित भएको दाबी गरिरहेका छन् ।

२०७४ को निर्वाचनमा ७ वटा पालिकामा नेकपा एमालेपछि मतभारका आधारमा दोस्रो भएको नेपाली कांग्रेस जिल्लामा एक्लै चुनाव जित्ने भन्दै आएको भए पनि अन्तिम समयमा गठबन्धनमा बाँधिएको छ । तर, कांग्रेसले गठबन्धन गरेपछि असन्तुष्ट बनेकाहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसअघि १२ पालिकामध्ये ८ पालिकामा प्रमुख र उपप्रमुख दुवै र एउटामा उपाध्यक्षसहित ४९ वटा वडा जितेको एमाले पनि पुरानो विरासतलाई जोगाउने दाउमा रहेको छ । जिल्लाका ८ वडी पालिकामा आफ्नो जित निश्चित भएको नेकपा एमालेका नेताहरूले दाबी छ । तर, जिल्लाका सबै पालिकामा तीन दलीय गठबन्धन भएका कारण एमालेलाई आफ्नो विरासत जोगाउन कठिन हुने देखिन्छ ।

२०७४ को निर्वाचनमा ११ वटा पालिकामा कांग्रेस र एमालेको प्रतिस्पर्धा भएको थियो भने १ पालिकामा नेकपा माओवादी केन्द्र थोरै मतान्तरले नेकपा एमालेसँग पराजित भएको थियो । तर, यस पटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमालेविरुद्ध मोर्चाबन्दी गरेर चुनावी मैदानमा एमालेलाई टक्कर दिइरहेका छन् ।

सत्ता गठबन्धनका घटकहरूले १२ वटै पालिकामा आफ्नो जित हुने दाबी गरिरहेका छन् । यद्यपि, नेताहरूले भनेजस्तै गठबन्धनलाई अस्तित्व रक्षा गर्न भने सहज छैन । गठबन्धनले प्रमुख प्रतिस्पर्धी एमालेसँग मात्रै नभई आफ्नै सहयात्री दलबाट बागी बनेका उम्मेदवारहरूसँग पनि कतिपय पालिकामा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।



तल्कोट, खप्तडछान्ना, थलारा, छबिस पाथिभेरा, दुर्गाथली, केदारस्यूँ, वित्थडचिर लगायत पालिकामा प्रमुख पदमा गठबन्धनबाट असन्तुष्टहरूले बागी उम्मेदवारी दिएका छन् । जिल्लाका १२ वटा पालिकामध्ये ६ बढी पालिकामा प्रमुख, उपप्रमुख र ९४ वटामध्ये ७० भन्दाबढी वडामा वडाध्यक्ष पदमा गठबन्धन भित्रैबाट स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

यता, कांग्रेसले बागी उम्मेदवारलाई फकाउन कसरत पनि जारी राखेको बताएको छ । गठबन्धनमा आबद्ध दलहरूले फिर्ता नलिए कारबाही गर्ने निर्णय गरेर विज्ञप्तिसमेत जारी गरिएको छ । दुई पटकसम्म बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसले आग्रह गरेको भए पनि तल्कोट गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका राजेन्द्रबहादुर सिंहबाहेक अन्य 'ब्याक' भएका छैनन् ।



यद्यपि, केही दिनभित्रै बागी उम्मेदवारको व्यवस्थापन गरेर चुनावको नतिजा गठबन्धनको पक्षमा पार्ने दाबी भने गठबन्धनका नेताहरूले गरिरहेका छन् । दलका नेताहरूले जित आफ्नो पक्षमा रहेको दाबी गरे पनि जिल्लाको राजनीतिक अवस्था पहिलाभन्दा फरक भएको र गठबन्धन पनि भएका कारण दुवै पक्षले आशा गरेजस्तो नभई मिश्रित परिणाम आउन सक्ने देखिन्छ ।

  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार २०:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया