काठमाडाैं– त्रिविको मानविकी तथा सामाजिक शिक्षा संकायको डिन कार्यालय एक महिनादेखि बन्द छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विभिन्न माग राख्दै मंसिर २० गतेबाट कार्यलयमा ताला लगाएका कारण डिन कार्यालय अझै खुल्न सकेको छैन । सो नेकपा क्रान्तिकारी (वैद्य)निकट प्राध्यापक संगठन हो ।
सो संगठनको विज्ञप्ति कार्यालयबाहिरको भित्तामा टाँसिएको छ । संगठनले कार्यालयमा पार्टीकरण, आर्थिक अनियमितता लगायत भएको विज्ञप्तिमा उल्लेख गरेको छ । ती विषयमा छानबिनपछि मात्रै तालाबन्दी हट्ने सो संगठनले जनाएको छ ।
यस विषयमा जिज्ञासा राख्दा कार्यालयका परीक्षा शाखा प्रमुख सुनील कुमार रञ्जित भागबन्डा नमिलेका कारण तालाबन्दी भएको बताउँछन् । आफूले बुझेसम्म आन्तरिक रूपमा सहायक डिनलाई नियुक्त गर्ने विषयमा विवाद आएकाले सो संगठनले कार्यालयमा तालाबन्दी लगाएको उनी बताउँछन् ।
सहायक लेखापाल दयाराम जोशी पनि रञ्जितको धारणामा सहमत छन् । उनी भन्छन्, ‘आन्तरिक रूपमा सहायक डिनको पदको भागबन्डा नमिलेका कारण संगठनले तालाबन्दी लगाएको हो ।’ उनका अनुसार तीनजना सहायक डिनमध्ये आन्तरिक रूपमा दुईजना छानिसकिएको छ । अर्को एकजनाको नाममा पदाधिकारीबीच भागबन्डा नमिलेका कारण संगठनले तालाबन्दी गरेको हो ।
सहायक डिनको नियुक्ति डिनको सिफारिसमा उपकुलपतिले गर्ने त्रिविको नियम छ । यसअघि तीन महिनाका लागि नियुक्त भएका सहायक डिनको पदावधि सकिएपछि नयाँ सहायक डिन नियुक्तिका विषयमा विवाद आएका कारण तालाबन्दी लागेको कर्मचारी बताउँछन् । अघिल्लोपटक तीनजना सहायक डिन राखिएको भए पनि यसपटक दुईजनालाई मात्र राख्ने पदाधिकारीबीच सहमति भएकाले सो संगठनले आफ्नो पनि हिस्सा खोज्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताए ।
उता, उपकुलपति तीर्थराज खनियाँ भने सहायक डिनका लागि कसैलाई पनि नछानिएको बताउँछन् । आन्तरिक रूपमा पनि केही निर्णय नभएको बताउँदै उनी भन्छन्, ‘मैले पटक–पटक डिनलाई सहायक डिनका लागि सिफारिस पठाउनू भनेको छु । तर, उताबाट नाम आएको छैन ।’ नाम नआएकै कारण तालाबन्दी झन्–झन् लम्बिँदै गएको उनी बताउँछन् ।
तर, कार्यालयका डिन शिवलाल भुसाल भने आफूले सहायक डिनका लागि उपकुलपतिलाई दुईजनाको नाम सिफारिस गरिसकेको बताउँछन् । तर, प्राध्यापक संगठनले आफ्नो हिस्सा खोजेर तालाबन्दी गरेका कारण उपकुलपतिले ती नाम स्वीकृत गर्न नसकेको हुन सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘सहायक डिन कतिजना राख्ने भन्ने विषयमा नै विवाद छ ।’ पहिलेको संख्यामा कमी गर्दै दुईजनालाई मात्र सहायक डिनको पदमा राख्दा असहमति भएको उनी बताउँछन् । सहायक डिनको संख्यालाई यथावत् नै राखेर नयाँ नियुक्ति गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
तालाबन्दीको असर
तालाबन्दीका कारण मानविकी संकायको दोस्रो र चौथो सेमेस्टरको परीक्षाफल आउन सकेको छैन, जुन पहिल्यै प्रकाशन भइसक्नुपथ्र्यो । त्यस्तै, अन्य धेरै विषयको परीक्षाको तयारीका लागि पनि पर्याप्त समय छैन ।
परीक्षा शाखा प्रमुख रञ्जित भन्छन्, ‘पहिलो र तेस्रो सेमेस्टरको परीक्षाका लागि तयारी गर्न समय कम भइरहेको छ । तालाबन्दी कहिले खुल्ने केही पत्तो छैन ।’ पिएचडी र एमफिलका प्रश्नपत्र निर्माण तथा परीक्षाफल प्रकाशन लगायतमा पनि तालाबन्दीले असर परेको उनले बताए ।
अर्कातिर, विद्यार्थीहरूको ट्रान्सक्रिप्ट निकाल्नमा पनि समस्या देखिएको छ । तालाबन्दीका कारण डिन कार्यालयले थेसिस सम्बन्धित विभागमै बुझाउने विकल्प दिएको छ । तर, विभागमा थेसिस बुझाए पनि विद्यार्थीले आफ्नो ट्रान्सक्रिप्ट पाएका छैनन् ।
त्रिविअन्तर्गत सबैभन्दा लथालिंग रहँदै आएको मानविकी संकायमा पटक–पटक तालाबन्दी हुँदै आएको छ । राजनीतिक प्रभावका कारण यस्तो भएको रञ्जितको बुझाइ छ । तर, यसरी भएको तालाबन्दीले पछिसम्म असर पार्नेमा उनी चिन्तिन छन् । उनी भन्छन्, ‘तालाबन्दी गरिएको एक महिना बितिसकेको छ । अब ताला खुले पनि यो एक महिनाको प्रभाव एक वर्षसम्म प्रभाव पर्छ ।’
दिनभर घाम तापेर बस्छन् कर्मचारी
परीक्षा शाखाका प्रमुख सुनीलकुमार रञ्जित एक महिनादेखि बिहान १० बजे कार्यालयमा आइपुगेका हुन्छन् । ३२ वर्षअघिबाट यहाँ कार्यरत रञ्जित त्यसअघि हरेक दिन बिहान ७ बजेसम्ममा कार्यालय आउने गरेका थिए । तर, कार्यालयमा तालाबन्दी भएपछि उनको समयतालिका नै बदलिएको छ ।
‘बिहान कार्यालय आएर दिनभर यहाँ घाम तापेर बस्न बाध्य छौँ,’ उनी भन्छन्, ‘डिनलाई सोध्दा छलफल भइरहेको भन्नुहुन्छ ।’ तर, छलफलको निष्कर्ष ताला खुल्ने भन्नेबारे आफू अनभिज्ञ रहेको उनी बताउँछन् । भन्छन्, ‘सकेसम्म छिटो ताला खुलोस् भन्ने हाम्रो चाहना हो ।’
कार्यलयमा विभिन्न काम लिएर विद्यार्थी आउने गरेका छन् । कर्मचारीले बाहिरैबाट गर्न सकिने काम गरिदिने गरेका छन् । अन्य केही काम शिक्षा संकायको डिन कार्यलयबाट पनि गरिएको छ । तर, अधिकांश मुख्य काम भने हुन नसकेको रञ्जित बताउँछन् ।
रञ्जितजस्तै लेखापाल दयारामको पनि गुनासो छ । उनी भन्छन्, ‘कार्यालय आएर हाजिर मात्र गरेर बस्न बाध्य छौँ । आज खुल्ला, भोलि खुल्ला भन्दैमा महिना दिन बितिसक्यो ।’ दिनभर घाम तापेर केही नगरी बस्नु परिरहेकोमा उनलाई गुनासो छ ।
कार्यालयको प्रांगणमा कार्यालयका सबैजसो कर्मचारी घाम तापेर बसिरहेका हुन्छन् । कोही भने एकपटक आउँछन्, ताला खुले÷नखुलेको हेर्छन् अनि फर्किने गरेका छन् । दयाराम भन्छन्, ‘कर्मचारी र काम दुवै लथालिंग भएको छ ।’
तालाबन्दी पछिको अर्को बाटो
गत पुस २० गते दिउँसो २ बजेको कुरा हो । कर्मचारीहरू खाजाको समयपछि भर्खर कार्यालयमा आएका थिए । कोही आउँदै थिए । अचानक प्राध्यापक संगठनका मान्छे आएर कार्यालयमा तालाबन्दी लगाइदिए । कर्मचारी रनभुल्लमा परे ।
तालाबन्दीसँगै कैयौं काम प्रभावित भए । एक–दुई दिन विचार गरे । तर, ताला खुल्छ जस्तो कर्मचारीलाई लागेन । त्यसपछि, उनीहरू अर्को बाटो रोज्न बाध्य भए ।
‘कार्यालयको नजिकको कोठाबाट केही काम सञ्चालन पनि गर्यौं,’ दयाराम भन्छन्, ‘त्यसरी काम गरेर ६ वटा विषयको रिजल्ट प्रकाशन गर्यौं ।’ कर्मचारीले अर्को बाटो प्रयोग गरेरै बिसिएको परीक्षा पनि सञ्चालन गरियो ।
तर, त्यसपछि ताला लगाउनेले चाल पाए । अर्को बाटोबाट काम गरेको भन्दै उनीहरूलाई दबाब र धम्की आउन थाल्यो । दयाराम भन्छन्, ‘संस्थागत विवादका कारण हामीलाई दबाब आउन थाल्यो । त्यसपछि काम गर्न बन्द गर्यौं ।’
खतरा मोलेर आफूले काम गरेको सम्झिँदै दयाराम भन्छन्, ‘हामीले आफ्नो पक्षबाट गर्न सक्ने काम पनि गर्यौं । तर, पदाधिकारीबीचको विवादले कार्यालय खुलेको छैन ।
किन गर्दै छन् विद्यार्थी संगठन ?
त्रिविअन्तर्गतको मानविकी संकायमा विभिन्न विद्यार्थी संगठन सक्रिय छन् । तर, डिनको कार्यालयमा तालाबन्दी लाग्दा भने विद्यार्थी संगठन चुपचाप देखिन्छन् ।
तर, अखिल क्रान्तिकारीका त्रिविका अध्यक्ष लोकेन्द्र ऐरी भने ताला खुलाउन त्रिपक्षीय छलफल जारी राखेको बताउँछन् । ‘हामीले रेक्टर, भिसी र डिनसँग बसेर धेरैपटक वार्ता गरेका छौँ,’ उनले भने, ‘वार्तामा चाँडै समस्या समाधान हुन्छ भन्नुभएको थियो, तर अहिले ताला खुलेको छैन ।’
विश्वविद्यालयमा भने त्रिवि प्रशासनसहित विद्यार्थी संगठन निष्क्रिय रहेको आरोप लागेको छ । थेसिस बुझाइसकेको एक महिना बित्दासमेत ट्रान्सक्रिप्ट निकाल्न नपाएर आक्रोशित भएका विद्यार्थीले भने विद्यार्थी संगठनलाई नै आरोप लगाउँदै आएका छन् । आफ्नो ट्रान्सक्रिप्ट नपाएका रोहित पुरी भन्छन्, ‘विद्यार्थी संगठनले भोट माग्ने वेलामा मात्रै विद्यार्थीको हितमा काम गर्ने भन्दै आउँछन्, वास्तवमा विद्यार्थीलाई समस्या पर्दा भने मतलबै गर्दैनन् ।’
‘कुनै एउटा राजनीतिक संगठनले लगाएको ताला अर्काे राजनीतिक संगठनले फोर्न नैतिकताले दिँदैन,’ ऐरी भन्छन्, ‘त्रिवि प्रशासन भने विद्यार्थीले ताला फोरून् र विद्यार्थीबीच झडप होस् भनेर कुरेर बसेको छ ।’ उनी यो प्रक्रिया त्रिवि प्रशासनले मिलाउनुपर्ने तर्क गर्छन् ।
यस्तै, नेविसंघका नेता श्यामचन्द्र अधिकारी भने यति लामो समयसम्म ताला लागिराख्नुमा रेक्टरको हात रहेको बताउँछन् । ‘पहिलेदेखि नै राजनीतिक भागबन्डाको आधारमा सहायक डिन नियुक्ति हुने परम्परा थियो,’ उनले भने, ‘अहिले रेक्टरले भने उनीहरूलाई भाग दिन्न भन्नुभएको छ । यो विश्वविद्यालय उहाँको त होइन नि !’ पहिले चलेको प्रचलनअनुसार सबैलाई भाग दिए ताला खुल्ने उनको तर्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।