Thu, 19 Sep, 2019


विचार
टोपी दिवसको अन्तर्य
जेबी दर्लामी
फरकधार / पुस २०, २०७५

इतिहास अध्ययन गर्दा यो प्रष्ट हुन्छ नेपालमा राज्यशक्ति लगाएर राष्ट्रिय चिह्नहरूको अवधारणा ल्याएको धेरै भएको छैन । जस्तो, राष्ट्रिय जनावर गाई, पंक्षी डाँफे, रङ सिम्रीक, भाषा खस, धर्म हिन्दु । यस्तो व्यवस्थाको अभ्यास गरिनुअघि नेपालमा कुनै जाति समुदायले गाईगोरुको मासु खाने र कतिपय पूजाआजामा बली नै दिने परम्परामाथि ठाडै हस्तक्षेप गरियो । किनकी राज्यको शक्ति परिचालन गर्ने तहमा पहाडे हिन्दुहरू थिए जसले नेपाललाई आफू अनुकूल हिँडाउन खोजिरहेका थिए ।



आफ्नो धर्म र संस्कृतिलाई फलाउन–फुलाउन नेपालमा आदिकालदेखि नै बसोबास गरिरहेका हिन्दुवाहेकका संस्कृति र परम्परालाई बलात् दमन गर्नैपर्छ भन्ने तथ्य पनि उनीहरूलाई अवगत थियो । र त्यही मेसोमा राष्ट्रिय पोशाकको रुपमा दौरासुरुवाल र ढाकाटोपीलाई मात्रै मान्यता दिइने व्यवस्था गरियो । सयथरी जातिको सयथरी नै पारम्परिक पहिरन भएको देश नेपालमा यसरी एउटा जातिसमुदायको पहिरनलाई मात्रै राष्ट्रिय पोशाक बनाईंदाखेरि अरु पोशाक तथा पहिरन स्वतः अराष्ट्रिय भए । 

पञ्चायतले छाडेको विरासतको धङधङीबाट नेपाली, त्यसमा पनि पहाडमा बस्ने एउटा वर्ग अझै मुक्त भइसकेको छैन । त्यसका अनेक ज्वलन्त उदाहरणमध्ये तथाकथित टोपी दिवस पनि एक हो ।

२०१७ सालपछि पञ्चायतले ल्याएको ‘हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष’ भन्ने नाराले पहाडे खसआर्य समुदायको अभीष्टलाई राज्यस्तरबाटै संस्थागत गर्ने काम ग¥यो । नागरिकताको प्रमाणपत्र बनाउँदा ढाकाटोपी लगाउनैपर्ने बाध्यता सिर्जना गरियो । त्यतिमात्र होइन, दौरासुरुवाल र ढाकाटोपी नलगाउने नेपालीलाई पराई देख्ने आँखा पनि त्यही पञ्चायतले निर्माण गरेको हो । ‘मेरो टोपी कैलाशको शिरजस्तो’ जस्ता बोल भएका गीत लेखिए, लेखाइए, गाइए । यसको अर्थ टोपीलाई पनि हिन्दुकरण गर्ने धृष्टता गरियो ।

राज्यले बनाएको राष्ट्रिय पोशाकमा मधेशमा बस्ने ठूलो संख्याका नेपाली समेटिएनन् । उनीहरूले सदीयौंदेखि आविष्कार गरेर लगाइरहेको पोशाक राज्यका आँखामा विरानो भइदियो । उनीहरूलाई धोती नाम दिएर गाली बेईज्जती गर्ने संस्कारको जन्म पहाडमा भयो र त्यसलाई राज्यले नै मलजल गरेर हुर्कायो बढायो । यसरी पञ्चायतले ल्याएको राष्ट्रिय चिह्न, राष्ट्रिय पोशाकजस्ता अवधारणाले नेपालको एकता बलियो भएन, बरु त्यसले त देशलाई विभाजन गरिदियो ।

मधेशमा आगो दन्केको हाम्रो निकट अतीतलाई राम्ररी अध्ययन गर्दा त्यो विभाजन कस्तो प्रकारको र कति हदसम्मको थियो भन्ने स्पष्ट भइहाल्छ ।

पञ्चायतले छाडेको विरासतको धङधङीबाट नेपाली, त्यसमा पनि पहाडमा बस्ने एउटा जाति (वर्ग पनि भन्न सकिन्छ) अझै मुक्त भइसकेको छैन । त्यसका अनेक ज्वलन्त उदाहरणमध्ये तथाकथित टोपी दिवस पनि एक हो । 

जेबी दर्लामीसंसारसामु नझुकेको वीर नेपाली जातिको विशेषण स्वीकार गरेर पनि अत्यन्तै हीनताबोधका साथ बाँचिरहेका पनि हामी नेपाली नै हौं । संसारलाई थाहा छ, यो दुनियाँमा ईश्वी सम्वत् भन्ने तिथिमिति छ जसलाई नेपालमा ईसा पूर्व र ख्रीष्टाब्द भनिन्छ । संसारका धेरै देशहरूले आफ्नो कामकाजमा यही सम्वत् अँगालेका छन् । हो, निश्चय नै यो येशु ख्रीष्टसित सम्बन्धित सम्वत् हो । अर्थात् ईसा आउनुअघिको समय ईसापूर्व हो भने उनी आएपछिको समय ख्रीष्टाब्द हो ।

यो सम्वत्को पहिलो महिना जनवरी हो जो हाम्रो नेपालको पुस महिनामा पर्दछ । येशुसित सम्बन्धित भएकै कारणले र विशेषगरी पश्चिमाहरूप्रतिको आग्रहपूर्वाग्रहका कारणले नेपालमा विगत ६ वर्षदेखि यही जनवरी १ लाई टोपी दिवस भनी मनाउन थालिएको छ ।

नेपालमा अझैपनि येशु ख्रीष्ट र पश्चिमी देशहरू अन्तर्सम्बन्धित हुन् भन्ने गलत बुझाई रहेको पाइन्छ । निश्चय नै येशु ख्रीष्टको विचार एशियामै सुरु भएको भएतापनि यसको प्रचारप्रसार र अभ्यास पहिले यूरोप अमेरिकामा भयो र उनीहरूमार्फत् यतातिर आएको सत्य हो । यसको अर्थ यो होइन कि हरेक सेतो छाला भएको मानिस इसाई नै हो । उनीहरूमध्ये पनि धेरै मुसलमान छन्, बुद्धिष्ट छन् र हिन्दु पनि छन् । तर येशु र पश्चिमाहरूप्रतिको आग्रहपूर्वाग्रह भने नेपालमै मात्र बढी देखिन्छ ।

यहाँ दुईओटा देशको प्रसंग राख्न सकिन्छ । एक, भारत जो आफै विशाल जनसंख्या हिन्दु धर्माबलम्वीहरू भएको देश हो । यतिसम्म कि विक्रमादित्य जसको नामबाट विक्रमसम्वत् चलेको छ र जुन सम्वत् नेपालीले आफ्नै भनी अँगाल्न मरिहत्ते गरेका छन् ती राजा पनि त्यही भारतकै हुन् । तर भारतमै विक्रम सम्वत् चल्दैन । त्यहाँ पनि राज्यसंयन्त्रका ठूला ओहदाहरूमा हिन्दु धर्म मान्नेहरूकै बाहुल्यता छ तर ईश्वीसम्वत् चलाउँदा उनीहरूमा त्यस्तो हीनताबोध देखिंदैन । भारतको उन्नति प्रगतिमा ईश्वीसम्वत्ले कतै बाधा पु¥याएको पनि छैन । 

अर्को देश छ मलेसिया, जहाँ ६० प्रतिशत मुसलमान छन् । लगभग २६ प्रतिशत बुद्धिष्ट र ६ प्रतिशत जति हिन्दु छन् । मले जातिलाई दिइएको अग्राधिकारका कारण चिनियाँ र भारतीय मूलका मलेसियनहरू राज्यदेखि रुष्ट छन् । आआफ्नो भाषा, धर्म र संस्कृतिप्रतिको उनीहरूको प्रतिबद्धता पनि लोभलाग्दो छ । तर, ईश्वीसम्वत्को नयाँ वर्ष उनीहरूले यसरी मनाउँछन् कि त्यो उत्सवले उनीहरूलाई विभाजन गर्दैन बरु एकअर्कालाई जोड्ने काम गर्दछ । अरु दिनको मनमुटाव र भावनात्मक रुपमा लागेका घाउ उनीहरूले यही नयाँ वर्षमै निको पार्ने प्रयत्न गर्छन् । ईश्वीसम्वत्ले मलेसियाको पनि समृद्धिको यात्रा रोकिएको छैन, झन्झन् अगाडि बढिरहेको छ । 

नेपालमा भने हामीले सबै उन्नति प्रगतिको बाधा ईश्वीसम्वत् नै होजस्तो गरिरहेका छौं । यो हाम्रो हीनताबोधको एक नमुना हो । हीनताबोधबाट उम्कने माध्यम हामीले प्रतिशोध र दूराग्रहलाई बनाएका छौं । यो झनै खतरनाक छ ।

याे पनि पढ्नुहाेस्:
टोपी दिवस : बोक्ला टोपीले राष्ट्रियता ?

 

ईश्वीसम्वत्को रिसमा सुरु गरिएको टोपी दिवसले के नेपालीलाई एकअर्कामा जोड्ने काम गरेको छ ? यो प्रश्न बडो गम्भीर छ । कुनै पनि चाडपर्व, दिवस या उत्सवले देश विखण्डन गर्नुहुँदैन । बरु तिनले त भावनात्मक रुपमा विखण्डित भइरहेको देशलाई जोड्नुपर्छ, गाँस्नुपर्छ । तर नेपालको पहाडे खस मनोविज्ञानले सधैं नै मधेसी र जनजातिलाई उपनिवेश बनाइरहने सपना देखेको छ । त्यही सपनाको प्रकटीकरण नै तथाकथित टोपी दिवस हो ।

मैले यस्तै आशयको भनाई सामाजिक सञ्जालमा राखेको देखेर केही साथीहरूले आपत्ति प्रकट गरे । मैले लेखेको थिएँ– टोपी दिवसले नेपालको सिङ्गो नेपाली समुदायलाई समेट्दैन । तसर्थ टोपी दिवसले हामीलाई एकता हैन विखण्डनमै लैजान्छ ।

कतिपय साथीहरूले यो विखण्डन भन्ने शब्दलाई भूगोलसित मात्रै जोडेर हेरे । म स्पष्ट छु, जाबो टोपी दिवसले मात्रै हाम्रो भूगोल कदापी विखण्डन हुनेछैन तर हाम्रो मनको विखण्डन कसले देखेको छ ? यस्ता दिवस थपिंदै जाने हो भने एकदिन त्यही निहूँमा भूगोल नै विखण्डन नहोला पनि भन्न सकिंदैन । भूगोल विखण्डन एकै रातमा या एकै झट्कामा हुने कुरा होइन । पहिला मानिसको मन विभाजन हुने हो । भावना विखण्डन हुने हो । बल्ल भूगोल विखण्डनको प्रक्रिया सुरु हुने हो । मैले लेखेको विखण्डन भूगोलको होइन मनको हो, आत्माको हो, भावनाको हो ।

यो टोपी दिवस प्रायोजित नै हो भन्ने प्रमाण के पनि हो भने हरेक वर्षजस्तै भृकुटीमण्डपमा केही महिलाहरूलाई ढाकाटोपी लगाएर उभ्याइन्छ । पत्रकारहरूलाई बोलाइन्छ । अनि उनीहरूको तस्वीर र समाचार केही राष्ट्रिय भनिएका मिडियाहरूमा छापिन्छ । अनि टोपी दिवस सफल भएको गीत गाइन्छ । तर टोपी दिवस सफल भइरहँदा यहाँ देश असफल बन्दैगएकोतर्फ कसैको ध्यान पुगेकै छैन । भृकुटीमण्डपमा प्रायः भइरहने प्रायोजित कार्यक्रमहरूको लहरमा यो एक सामान्य दृश्यजस्तो पनि लाग्ला तर गहिरिएर हेर्ने हो भने यसमा ठूलो राजनीति लुकेको छ । ती दिदीबहिनीहरूलाई कसैले सोधोस्, के ढाकाटोपी तिम्रो स्वभाविक पोशाक हो ? पञ्चायतकालमै पनि नागरिकताको प्रमाणपत्रमा समेत महिलालाई अनिवार्य नगराइएको ढाकाटोपी लगाउने बाध्यता तिमीउपर कसले सिर्जना ग¥यो ? 

अझ अर्को गम्भीर प्रश्न, कतिजना मधेशीले यो दिवसमा सहभागी भएर खुसी साटासाट गरे ? हिसाब गर्ने नै हो भने जवाफ शून्य आउला । सामाजिक सञ्जालमा केही मधेसीहरुले आफ्नो पारम्परिक पोशाक प्रदर्शन गर्दै धोती दिवसको शुभकामना भनेर लेखे । यसो गर्नुको अर्थ टोपी दिवसको प्रतिकार हो । मन विभाजन भइरहेको एउटा प्रमाण पनि हो यो । 

यसपाली जनजातिले पनि यो तथाकथित दिवसमा भाग लिएको देखिएन । यसको अर्थ के हो भने, यो दिवस सबै नेपालीको होइन । यसमा सबै नेपालीले आफ्नोपन महसुस गर्न सक्दैनन् । 

यतिसम्म कि माथि भिन्नै प्रसंगमा उल्लेख गरिएका पहाडे खसआर्य समुदायकै अधिकांश मानिसले देश विखण्डनको अन्तर्य बुझेरै होला, चलेको यो बतासमा सहभागी हुन अनिच्छा मात्र देखाएनन्, सामाजिक सञ्जालमा खुलेरै यसको प्रतिवाद र विरोध पनि गरे । यसर्थ यो टोपीदिवसको यात्रा यहींनिर रोकिनुपर्छ । यसको अब कुनै सकारात्मक अर्थ बाँकी छैन । 

हिजो पो राज्य नै एकल थियो । एकल भाषा, एकल धर्म, एकल संस्कृतिलाई ईतर जातिसमुदायका थाप्लामा जबर्जस्ती बोकाउने काम हुन्थ्यो । मिडिया, स्कूलकलेज, सार्वजनिक फोरमहरूमा राज्यको नियन्त्रण थियो । एक जातिसमुदायले ल्याएको जस्तोसुकै विभेदकारी अवधारणा होस् त्यसलाई राज्यले नै दानापानी दिएर हुर्काउँथ्यो । तर अब समय त्यस्तो रहेन । अब हरेक नेपालीको हातमा मिडिया छ ।

आफ्नो विचार निर्धक्क राख्न सकिने अनेकन मञ्चहरू छन् । तसर्थ कुनैपनि अभियान चलाउनुअघि त्यसका हत्र्ताकत्र्ताहरूले कम्तीमा दसपटक सोचविचार गर्नैपर्छ । हरेक नेपाली विवेकशील त हिजो पनि थिए, तर आफ्नो विवेकलाई स्वतन्त्रतापूर्वक प्रयोग गर्न सक्ने आजको लोकतान्त्रिक व्यवस्थामा कसैले कसैमाथि विभेद गर्ने कोशिस नगरे हुन्छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्