आरजुको अभिव्यक्तिले कांग्रेसलाई फाइदा कि घाटा ?

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पछिल्लो समय विवादमा परिरहेकी छन् । चुनावी प्रचारप्रसारका क्रममा दिने अभिव्यक्तिका कारण उनी विवादमा परिरहेकी हुन् ।

बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेकी राणाले कांग्रेसले नजित्ने पालिकालाई पैसा नदिने बताइन् । चुनावी सभालाई सम्बोधन गर्दै उनले ‘जहाँ हाम्रो मेयर नै हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ?’ भन्दै कार्यकर्तामाझ प्रश्न गरिन् । कांग्रेसबाट विद्रोह गरेर गएका कांग्रेस बीपीका उम्मेदवारलाई लक्षित गर्दै भनिएको आरजुको उक्त अभिव्यक्तिको भिडियो सामाजिक अहिले सञ्जालमा भाइरल भइरहेको छ ।

उनले शुक्रबार कैलालीमा अर्को विवादित भाषण गरिन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाले चुनावी सभालाई सम्बोधनका क्रममा त्यहाँका स्थानीयलाई फ्रि–भिसा र फ्रि–टिकटमा मलेसिया पठाइदिने आश्वासन दिइन् ।

‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो । यो क्षेत्रलाई हामी विशेष ध्यान दिन्छौँ, तपाईंहरूले कांग्रेसलाई जिताउनुहोस्’, उनले भनिन्, ‘हामी सबैलाई गर्न सक्दैनौँ । तर, यो ठाउँमा दुःख पाएकाहरू केहीलाई पठाउने छु । मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्रि–भिसा र टिकट मिलाउनेछु । हामी त्यस्ता ५–६ जनालाई मलेसिया पठाउँछौ । तर सबैलाई लान सकिन्‍नँ, नसके यहीँ रोजगारी दिन कोशिस गर्छौँ ।’

चुनावको मुखका आरजुको यस्ता अभिव्यक्तिले कांग्रेसकै नेताकार्यकर्ता असन्तुष्ट देखिएका छन् । धेरैले उनको अभिव्यक्ति कांग्रेसकै लागि प्रत्युत्पादक भएको पनि टिप्पणी गरेका छन् । ‘जुन कुरा बोल्नु थिए, त्यो कुरा उहाँले बोल्नु भयो । त्यसले गर्दा चुनावी माहोल बन्नुभन्दा पनि बिग्रिएको छ,’ एक कांग्रेस नेताले भने ।

आरजुको विवादित अभिव्यक्ति प्रतिपक्ष दलहरूका लागि अहिले थप चुनावी मसला भइरहेको पनि ती नेताले बताए । सत्ताको आडमा ‘हैकमवादी प्रवृत्ति’ देखाएको भन्दै विपक्षी उम्मेदवारले राणाको अभिव्यक्तिको चर्को विरोध गरेका छन् ।



आरजुको अभिव्यक्तिको विषयमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बचाउ गरेका छन् । ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईँहरूको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ,’ कांग्रेसले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने ।  



  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १३:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया