मेयर जितेको भोलिपल्टबाट काम थाल्छु, १० गुणा बढी राजश्व उठाउँछु : केशव स्थापित
मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनः निर्माण गर्ने घोषणा
फाइल तस्वीर

केशव स्थापित अधिकांश महानगरवासीले सुनेको नाम हो । अझ काठमाडौं महानगरवासीका लागि त मेयर साबबाट उनी परिचित छन् । उनले यसअघि मेयर हुँदा गरेका कामहरुको आधारमा महानगरवासीका लागि उनी विकासका पर्याय हुन् भन्दा फरक नपर्ला । यसअघि उनी दुईपटक काठमाडौं महानगरपालिकाको मेयर भएका छन् । मेयरमा उनी पहिलो पटक विसं २०५४ सालमा मनोनीत भएका थिए ।

उनी खेलकुद् परिषद्को सदस्यसचिव, उपत्यका विकास प्राधिकरण प्रमुख, वागमती प्रदेशका लागि भौतिक योजना तथा विकास मन्त्रीसमेत बनिसकेका स्थापितले मेयरमा रहँदा भने महानगरवासीका लागि सम्झन लायक काम गरेका थिए ।

तिनै स्थापित यसपटक नेकपा एमालेको तर्फबाट पुनः काठमाडौं महानगरपालिकाको लागि मेयरमा उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिष्पर्धीको रुपमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ सिर्जन सिंह रहेकी छन् ।

स्थापितसँगै काठमाडौं महानगरपालिकाको उपमेयरमा पूर्वमिस नेवा सुनिता डंगोलाई एमालेले उभ्याएको छ । मेयर स्थापितलाई विकास निर्माणको काममा साथ दिन युवा पुस्तहरुलाई अघि सारेकोले पनि आफूलाई काम गर्नको लागि सहज हुने स्थापित बताउँछन् ।

सोमबार भएको कुराकानीमा मेयरका उम्मेदवार स्थापितले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले आफ्नो प्रतिष्पर्धीबिना कुनै योजना बोकेर महानगरको दाबी गर्नाले राजधानीबाट अन्य क्षेत्रमा जानुपर्ने सन्देश देशव्यापी बन्न नसक्ने बतए । उनले बिना कुनै एजेण्डाका प्रतिष्पर्धी आउँदा २० वर्षको शिक्षा दिनुपर्ने राजनीतिक अवसर गुमाउने दाबी गरे ।

स्थापितले गठबन्धनका उम्मेदवार आफूभन्दा कमजोर प्रतिष्पर्धीको संज्ञा दिए । उनले यसअघि मेयर बन्दा पनि आफूले काम गरेर देखाएकोले अहिले काम गर्न सक्नेमा विश्वस्त रहेको बताए ।



अहिलेको युवा पुस्तालाई लिएर उनीहरुको योजनाअन्तर्गत जाँदा शहरले विकासको नयाँ रुप पाउनेमा उनी विश्वस्त छन् ।

स्थानीय तहलाई शक्ति सञ्चालनको अधिकार दिएन भने विकासमा बाधा पुग्ने उनको भनाइ छ । उनले स्थानीय सरकार भने पनि अझै शक्ति सञ्चालनको अधिकार हस्तान्तरण हुन नसक्दा सेवा बिस्तार हुन नसकेको बताए ।



मेयरमा जितेपछि अहिलेको राजश्व भन्दा १० गुणा बढी राजश्व उठाएर काम गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफू मेयर भएको भोलिपल्टबाट नै आम नागरिकका समस्याको सुनुवाई गर्ने पनि बताए ।

मेयरका उम्मेदवार स्थापितले काठमाडौं महानगरपालिकाभित्र रहेका केही सांस्कृतिक सम्पदा लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाको एकैपटक जग हालेर काम सुरु गर्ने बताएका छन् ।

उनले काठमाडौं वरिपरि रहेका केही स्थानमा पार्कहरू बनाएर त्यसलाई ६ महिनाभित्रमा सम्पन्न गर्ने र त्यहाँ युवाले जीवनको कथा लेख्न सक्ने वातावरण सिर्जना गर्ने बताए ।

उनले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिशापिशाव गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले पार्कको समस्या लगायतका अन्य समस्याको समाधान गर्ने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले केशव स्थापितभन्दा अहिले पनि मेयर साबको नामबाट आफू परिचित रहेकोले मेयरकै हिसाबमा काम गरेर देखाउने बताए । उनले गाली सहेर भए पनि विकासका काम पछि नपर्ने तरिकाबाट आफूले योजना बनाएको बताए ।

‘मसँग ब्याकअप टिम छ । देशकै राम्रा मानिसले मलाई साथ दिनुभएको छ । पूर्वाधार विकासका कारण नै मलाई अहिले पनि मेयर साब भन्छन् । विष्णुमती रोड बनाउँदा पनि ढुंगा हानेका थिए । अहिले बन्यो । सहेकै हो । धोबी खोला खोल्दा पनि सहेकै हो । कसैले मानेका थिएनन् । वागमती करिडोर खोल्यौँ दायाँबायाँ' उनले भने ।

उनले अहिले पनि २ सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पत्ति पर्खाल लगाएर राखेकोले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताए । उनले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गरे ।

काम गर्न सरकारीतर्फबाट वयवधान आए अदालतबाट न्याय खोजेर भए पनि काम गर्ने उनको प्रतिबद्धता छ ।

उनले आफूसँग विकासको कला भएकोले त्यस बारेमा गहन अध्ययन गरेको र त्यसैअनुसार कांग्रेस, कम्युनिस्टको सोचलाई हटाएर शहर विकासको परियोजना अन्तर्गत काम गर्ने बताए । मेयरका उम्मेदवार स्थापितले आफूलाई विश्वास गरेर भोट दिन आग्रह गर्दै महानगर बनाउने जिम्मा आफ्नो भएको बताए ।

'म काठमाडौंलाई बनाउन सक्छु । मसँग त्यो कला छ । आम मानिसलाई सेवा गरेर नै म यो पार्टी कांग्रेस, कम्युनिस्ट भन्ने सोच हटाउनेछु । मसँग दुष्ट्याँइ गरेपछि धेरै गाह्रो हुन्छ, त्यसैले मलाई विश्वास गर्नु म महानगर बनाउँछु’ उनले भने ।

मेयरका उम्मेदवार स्थापितले महानगरले उठाउन बाँकी ४८ अर्ब राजश्व रहेको आफ्नो विज्ञ टिमले पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको बताए । भूकम्प र कोरोनाकालमा समेत विकास निर्माणका कामहरु भएकोप्रति खुशी व्यक्त गरे ।

उनले महानगरलाई सरकारले ४ अर्ब छुट्याएर सबै काम गर्न लगाउने गरेकोप्रति गुनासो गरे । उनले महानगरको विकासका लागि सरकारसँग ४० अर्ब रुपैयाँ माग गर्ने बताए । विकासको लागि रकम माग्दा नदिए उपत्यकाका सबै मेयरलाई एकजुट गराएर माग राख्ने बताए ।

उनले यस कार्यमा सबै पार्टीले पार्टीगत रुपमा नभई विकास र समृद्धिका लागि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए  ।

उनले आफू मेयरमा जितेपछि योजना भएका मानिसहरुलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताए । हरेक क्षेत्रमा काम गर्नको लागि भिजन भएकाहरुको आवश्यक पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकोले आम युवाहरुलाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने उनको भनाइ छ  ।

मेयरका उम्मेदवार स्थापितले युवाहरुमा पनि महिलाहरुले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै महिलालाई आफ्नो टिममा समावेश गरेर काम गर्ने बताए । उनले भिजन भएका युवाहरुलाई आफ्नो टिममा आउनका लागि आह्वानसमेत गरे ।

स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनः निर्माण गर्ने बताए । अहिले भइरहेको कलेजको पढाइलाई केही परिवर्तन गरेर त्रिचन्द्र कलेजलाई स्तरोन्नति गर्ने उनले बताए ।

उनले कलेज पुनः निर्माण गर्दा सबै पार्टीको अवधारणा अनुसार मिलेर काम गर्ने पनि बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौंको सुन्दरता नै खल्बलिएको सुनाए ।

  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १३:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया