अनिल परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगियो

धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।

हत्याको विरोधमा भरतपुरमा एक घण्टा चक्का जाम गरिएको थियो भने कार्यकर्ताले एउटा म्याजिकमा तोडफोड पनि गरेका छन् । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति करिब साढे ७ बजेको समयमा अज्ञात समूहले परियारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो । 

घटनास्थलमा गोलीको दुईवटा खोका पनि फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । ‘घटना हुनुमा अहिलेसम्म कुनै राजनितिक कारण देखिएको छैन’, उनले भने, ‘पीडितको पक्षबाट जाहेरी आएपछि पोष्टमार्टमको काम हुन्छ ।’ परियारलाई उनकै साथीले घटनास्थलसम्म लगेको खुलेको उनले बताए ।

उपचारका लागि चितवन मेडिकल कलेजतर्फ लैजाँदै गर्दा परियारको मृत्यु भएको हो । नेपाली कांग्रेस चितवन र विभिन्न भ्रातृ संगठनले सोमबार विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन् ।

भरतपुर–१२ निवासी परियारको हत्या निर्वाचनसम्बन्धी विषयका कारण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताएका छन् । एसपी अधिकारीले भने, ‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’ परियार ज्यान मार्ने उद्योगमा जेल बसेर गत वर्ष रिहा भएका थिए । 



प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्यामा भारतीय एक नागरिकको पनि संलग्नता रहेको प्रहरीको आशंका छ । सोही व्यक्तिलाई पक्राउ गर्नका लागि चितवन प्रहरीले सबै प्रहरीलाई सर्कुलर जारी गरेको छ । 



  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १४:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया