ओलीले पोखरा पुगेर भने - चुनावमा पाँच वटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्

एमाले अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् ।

‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’

गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन् । ‘पाँच दलीय गठबन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् ।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने ।





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १४:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया