कर्मचारीहरु स्थानीय तहको निर्वाचनमा खटिएपछि बझाङका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । अधिकांश कर्मचारी निर्वाचनमा खटिएपछि स्थानीय तहहरुले सूचना निकालेर अत्यावश्यक बाहेकका सेवा बन्द भएका जनाएका हुन् ।
जिल्लाको बित्थडचिर गाउँपालिकाले कर्मचारी निर्वाचनमा खटिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द भएको जनाएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरु निर्वाचनमा खटिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द भएको मष्टा गाउँपालिकाले पनि सूचनामार्फत जानकारी गराएको छ । बित्थडचिर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश विष्टले कर्मचारीहरु चुनावमा खटिएका कारण पालिकाबाट दिइने नियमित सेवा हाललाई स्थगित गरिएको बताए ।
‘अहिले स्थानीय तहको निर्वाचनका लागि कर्मचारीलाई पठाउनुपरेका कारण पालिकाको सेवा बन्द गरिएका हुन् । जेठको पहिलो साताबाट पालिकाका सेवा सहज हुनेछन्,’ विष्टले भने, ‘स्थानीय तहको निर्वाचनका लागि पालिकामा नै निर्वाचन अधिकृतको कार्यालय रहेको र कर्मचारी पनि निर्वाचनमा खटिएका कारण सेवा बन्द गर्नुपर्ने अवस्था आएको हो ।’
यता, जयपृथ्वी नगरपालिकामा भने, सेवाग्राहीले पाउने दैनिक सेवा नियमित रुपमा पाइरहेका छन् । जयपृथ्वी नगरपालिकामा निर्वाचन कार्यालय नरहेका कारणले नगरपालिकाकबाट प्रवाह हुने सेवा नियमित सञ्चालनमा रहेको जयपृथ्वी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर खातीले बताए ।
निर्वाचन आचारसंहिताले रोकेका योजना बाँडफाँड, चन्दा दिने तथा रकम भुक्तानीलगायत निर्वाचन आचारसंहिताले रोकेका कामबाहेक सिफारिस काम निरन्तर भइरहेको उनले बताए ।
जिल्लाको जयपृथ्वी नगरपालिकाबाहेकका ११ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहेका कारण पालिकाहरुमा मतगणना सम्पन्न नहुन्जेलसम्म अत्यावश्यकबाहेकका सेवा बन्द भएको पालिकाले सूचनामार्फत जानकारी गराएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।