निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।
नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकालाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।
बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदानस्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गरिरहेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।
मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ता अधिकांश मतदानस्थलमा आएको नयाँ बानेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान् उप्रेतीले बताए । उनले बिहान १० बजेबाट मतदाता परिचयपत्र वितरण गरेको र ३० वैशाखका लागि आवश्यक तयारी गरिरहेको बताए ।
मतदान अधिकृत उप्रेतीले मतदाताहरूले नमुना मतपत्रमा मत हाल्न सिकाएको बताए । 'स्वतन्त्र र राजनीतिक दलहरुले नलिएका मतपत्रका चिह्नमा मत हाल्न सिकाएका हौँ, ७४ सालमा मत नहालेकाले अहिले मत हाल्न सिक्न आउनुभएको छ’ उनले भने ।
त्यस्तै, काठमाडौं जिल्ला अदालतकी कर्मचारी सुमिना भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचयपत्र पनि वितरण गरिरहेको बताइन् । उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेकालाई मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘कतिपयले यो के हो भनेर सिक्न चाहनुभएको छ, कतिपयले सिकेको नै हुनुहुन्छ मतपत्र मात्रै लिन आउनु भएको छ, हामीले नमूना मतपत्रमा भोट हाल्न सिकाइरहेका छौँ ।’
त्यस्तै, मतदान हाल्ने तरिका सिक्न र मतदाता परिचयपत्र लिन आएका मतदाता भोट हाल्नका लागि उत्साहित देखिन्छन् । यस वर्ष नयाँ मतपत्र छापिएको र हाल्न नजानेकाको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको अधिवक्ता भूमिनन्द चुँडालले बताए । उनले यस वर्ष मतदाता शिक्षा भनेजस्तो दिन नसकेको कारण धेरै मतहरु बदर हुनसक्ने सम्भावना रहेको बताए । नयाँ मतदाताहरूलाई मत हाल्न सिकाउनुपर्नेमा उनको जोड छ ।
नव मतदाता आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहित देखिएका छन् । उनीहरूले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् । उनीहरूले अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकोले सोचेर मतदान गर्न पनि अपिल गरेका छन् ।
















फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।