स्थानीय तह निर्वाचन : धनुषामा सुरक्षाको सम्पूर्ण तयारी पूरा

शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ । 

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्लाका १८ वटै स्थानीय तहका मतदान केन्द्रहरुमा मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु पुगिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।  

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादी प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए । उनले सशस्त्र प्रहरी र नेपाली सेना पनि छुट्टै परिचालन गरिने जानकारी दिए । 

जिल्लाका मतदानस्थलहरुको सुरक्षाका लागि २ हजारको संख्यामा नेपाल प्रहरी र ३ हजार १२१ म्यादी गरि कूल ५ हजार १२१ सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । जिल्लामा सुरक्षाकर्मीको अभाव भएपछि थप सुरक्षाकर्मी प्रधानमन्त्री कार्यालय र क्षेत्रीय कार्यालयबाट मगाइएको उनले जानकारी दिए । 

प्रवक्ता क्षेत्रीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदानस्थलसहित प्रत्येक पालिकामा सिभिल ड्रेसमा प्रहरी र मानवअधिकारसहितको अनुगमन टोली तथा स्वयंसेवकहरु परिचालन गरिसकिएको बताए ।  

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाइएको छ भने निजी तथा सार्वजनिक सवारी पूर्ण रूपमा बन्द गरिएको तथा त्यस दिन पास लिएका सवारी साधन मात्र सञ्चालन हुने उनले बताए । 



निर्वाचन कार्यालय धनुषाका अनुसार जिल्लामा स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ३२ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सहितसहित ६ हजार १३६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये प्रमुख पदका चारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिइसकेका छन् । 

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता विपरीत भएका कार्य हटाउने आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउने जस्ता कार्य पनि जारी रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।  



यसका साथै उनले मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए/नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए/नभएको अनुगमन गरी त्यस्तो कार्य भए गरेको पाइएमा तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए ।

मदिरा निषेध, सीमानाका बन्द

शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ ।

स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमा नाका बन्द गरेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्था अनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभए सम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्रीवितरण र सेवन कार्य निषेध गर्नुका साथै मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्मलाई जिल्लाका भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

बिहीबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी टयाङ्कर, दमकल, दूरसञ्चार सेवा÷शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधन तथा अनुमति प्राप्त सवारीसाधन बाहेकका सवारीसाधन सञ्चालनमा निषेध गरिएको उनले जानकारी दिए ।

मधेसका १०६३ मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा

शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचन २०७९ मा मधेस प्रदेशका अधिकांश मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा रहेका छन् । 

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा परेका हुन् । 

मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थललाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान स्थल ८८८ वटा रहेका छन् । त्यस्तै, सामान्य मतदानस्थलको संख्या २१२ रहेको छ ।

सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् ।

त्यस्तै, सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । 

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदानस्थल सामान्य सूचीमा रहेको छ । 

विगतको चुनावमा निर्वाचन बिथोलिएको र झडपसमेत भएको मतदानस्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको हो ।

मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मसाउद आलम खाँले विगतमा भन्दा अहिले सुरक्षा चुनौती बढी रहेको बताए ।

खुला सिमानाका कारण र स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताउँदै उनले यसका लागि सो क्षेत्रहरुमा मंगलबार राति १२ बजेदेखि नै पूर्णरूपले आवतजावत बन्द रहेको जानकारी दिए । उनले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले सतर्कतापूर्वक काम गरिरहेको बताए ।

३३ लाखभन्दा बढी मतदाता 

स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएका छन् ।

यस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

प्रदेशभर २ हजार १६३ मतदानस्थल 

मधेस प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।

सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ । 

त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार २१:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया