स्थानीय तह निर्वाचन : सुदूरपश्चिममा तयारी पूरा

सुदूरपश्चिम प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ । नौवटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको हो । बिहीबार दिउँसोतिर पानी परे पनि मतदान केन्द्रमा तयारी पूरा भइसकेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

प्रदेशको कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण कार्य अन्तिम चरणमा रहेको छन । 

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्य र नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सम्पन्न भइसकेको बताए । ‘मतदान केन्द्रमा बुथ निर्माण भइसके । केहीमा निर्माण हुँदैछन्,’ उनले भने । 

जिल्लाका अधिकांश विद्यालयका भवनलाई मतदानस्थल र केन्द्र तोकिएको छ । जिल्लाका १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २८० मतदाता थिए ।

जिल्लाका पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ ।

जिल्लाका पालिका तहका ६५६ पदका लागि चुनाव हुँदैछ । यसका लागि जिल्लाभरी तीन हजार ७२ जना प्रतिस्पर्धी छन् । 



यसैगरी, डोटीमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् ।



निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । 

जिल्लाका अन्य स्थानीय तहभन्दा दिपायल सिलगढी तथा शिखर नगरपालिकाको निर्वाचनलाई विषेश महत्वका साथ हेरिएको छ । यी दुई नगरपालिकामा ठूला दलले नयाँ तथा युवालाई उम्मेदवार बनाएकाले विशेष चासोका साथ हेरिएको शिखर नगरपालिका–११ का इन्द्रबहादुर बलायरले बताए । 

यसैगरी यस वर्ष गठबन्धन भएका कारण मतदाताले उम्मेदवारलाई दिनुपर्ने मत चिह्न पनि फरक–फरक भएको र मतदान गर्ने तरिका खासै नसिकेको हुँदा अन्य निर्वाचनभन्दा यस वर्ष मत बदर हुने सङ्ख्या बढ्न सक्ने पूर्वीचौकी गाउँपालिका चैकोटका स्थानीय चक्रबहादुर कठायतले बताए । 

यसैगरी, बैतडीमा स्थानीय तहको निर्वाचनका लागि २ सय ५ वटा मतदान केन्द्र तोकिएका छन् । ती सबै मतदान केन्द्रमा १ हजार बढी कर्मचारी खटिएका छन् । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर १ हजार १८ जना कर्मचारी खटिएका उनले बताए ।

यस्तै प्रत्येक मतदान केन्द्रमा ३ जनाका दरले स्वयंसेवक खटिएका जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । जिल्लाभरी ६ सय १५ जना स्वयंसेवक खटिएका छन् ।

  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १७:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया