पाँचथर– प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताएका छन् । पाँचथरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।’
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमका लागि पुगेका प्रधनमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए । ‘मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दै छ, बिजुलीबाट मुलुक उज्यालो बन्दै छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँ–गाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।’
निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताए । मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै प्रधानमन्त्रीले पुरातात्विक पुनःनिर्माणसमेत द्रूत हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।