हेटौंडा उपमहानगरमा गठबन्धनको पछिपछि एमाले र राप्रपा, कसले मार्ला बाजी ?
फाइल तस्वीर

स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । मकवानपुरका १० वटै स्थानीय तहमा शनिबार बिहानैदेखि मतगणना जारी छ । अब स्थानीय तह प्रमुख को बन्ला भन्ने उत्सुकता मतदातामा छ । उम्मेदवार पनि आफ्नो जित सुनिश्चित होस् चाहना छ ।  

यता, हेटौंडामा विगत ३ दशकको विरासत जोगाउन नेकपा एमालेलाई पनि हम्मेहम्मे पर्ने संकेत देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको सत्तारूढ दलको गठबन्धनले एमालेको विरासत खोसिएलाकी कि भन्ने आकलन गर्न थालिएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामा अबको हेटौंडाको मेयर बन्छिन् कि भन्ने चर्चा पनि चुलिएको छ । शनिबार साँझसम्मको मतगणनाअनुसार गठबन्धनकी मेयर उम्मेदवार मीना लामा अगाडि छन् ।  

एमालेका तर्फका उम्मेदवार उम्मेदवार अनन्त पौडेल झिनो मतान्तरले पछ्याइरहेका छन् । मतगणना सुरु भएदेखि नै दिनभर जसो नै लामा पहिलो, एमालेका मेयर उम्मेदवार अनन्त पौडेल दोस्रो र राप्रपाका मेयर उम्मेदवार दीपक सिंह तेस्रो स्थानमा रहेका थिए ।

शनिबार साँझ २५ हजार ५० मतगणना हुँदासम्ममा मेयर पदमा ५ दलीय गठबन्धन र नेकपा एमालेबीच १ मतको फरक रहेको थियो । लामाले ७ सय ५४ मत प्राप्त गर्दा पौडेलले ७ सय ५३ मत ल्याएका छन् । यसैगरी, सिंहले ६९१ सय ७० मत ल्याएका छन् ।

हाल हेटौंडा- १, २, १८ र १९ को मतगणना जारी छ । जसमा वडा नम्बर १ र २ मा कांग्रेसले अग्रता कायम गर्दा १८ र १९ मा एमालेले वडाध्यक्षमा अग्रता जारी राखेका छन् ।



सिंह हेटौंडाको मेयरमा जित हाँसिल गरे तलव बापतको रकम हेटौंडाको विकासमा खर्चिने बताउँदै भष्टाचारमुक्त हेटौंडा बनाउने एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका थिए ।

हेटौंडा-२ मा राम्रो मत पाएका सिंहलाई अरु वडामा खासै मत नझरेको मतगणनाको प्रारम्भिक विवरणले पुष्टि गरेको छ ।



पाँच दलीय गठबन्धनकी लामाको पनि सोचेजस्तो परिणाम आउन नसकेको विवरणले पुष्टि गर्छ । लामाले पौडेललाई उछिन्न पनि सकस नै देखिन्छ । तीनै उम्मेदवार बलियो र परिचित अनुहार रहेको कारण पनि कडा प्रतिस्पर्धा देखिएको जनमानसको बुझाइ छ । बागमती प्रदेशकै राजधानी रहेको हेटौंडाको मेयरको प्रतिस्पर्धामा रहेका लामा, पौडेल र सिंह को हुन् ?

मीना लामा

बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रूपमा २०३३ साल पुस २७ गते हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा मीनाको जन्म भएको हो । उनको बाल्यकाल साधारण रुपमा बित्यो । विसं २०४६ सालबाट विद्यार्थी जीवनमै राजनीतिमा उनले पाइला चालेकी हुन् ।

हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित त्रिभुवन माविबाट एसएलसी गरेकी लामाले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए र हरि खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एलएलबीसम्मको अध्ययन गरी राजनीतिक यात्रालाई सशक्त रुपमा अगाडि बढाइन् ।

उनले विस २०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरिन् । मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई सफलतापूर्वक आफ्नो जिम्मेवारी बहन गरिन् ।

उनी २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव बनिन् । २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष भई पदीय जिम्मेवारी सम्हाल्न पूर्ण रुपमा सफल भइन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडाको उपमेयर पदमा एमालेबाट उम्मेदवारी दिएकी लामाले माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याएका थिए । अबको यात्रा मेयरतर्फ आँटेकी लामाको हाल मतगणना भइरहेको छ ।

अनन्त पौडेल

अनन्त पौडेल मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरूबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रूपमा लामो यात्रा छिचोलेका एक यात्री हुन् अनन्त ।

चार दशकभन्दा बढी कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका अनन्तको जीवन संघर्षमय छ । २०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनलाई अघि बढाएका उनले २०७९ सम्म आइपुग्दा थुप्रै चुनौती सामना गरेका छन् । विद्यार्थी आन्दोलनको क्रममा पटक–पटक गिरफ्तार भएका उनले कष्टपूर्ण जेलजीवनसमेत भोगेका छन् ।

उतिबेलाको सत्ताले आफ्नोविरुद्ध भएकाहरुलाई झूटा मुद्दा लगाउँथ्यो । पञ्चायती व्यवस्थामा तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो ।

कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले ०३७ सालताका तत्कालीन निरंकुश शासन व्यवस्थाका विरुद्ध आन्दोलन गरिरहेको थियो । सोही आन्दोलनका क्रममा अनन्तलाई गिरफ्तार गरियो र उनी करिब डेढ वर्ष कष्टपूर्ण जेलजीवन बिताउन बाध्य भए ।

०६२/०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अनन्त ०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भए । ०७० मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट विजयी भएका उनले संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरे । पार्टी राजनीतिक र संसदीय फाँटको उल्लेख्य जिम्मेवारीमा रहेका अनन्तलाई नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

२०१९ सालमा मकवानपुरको भीमफेदी गाउँपालिकामा बुबा डिल्लीनाथ पौडेल र आमा हरिप्रिया (देवी) पौडेलको कान्छो सन्तानका रुपमा जन्मिएका अनन्तको बाल्यकाल सामान्य रह्यो ।

उनी २०३५ सालमा तत्कालीन नेकपा मालेमा आवद्ध भएका थिए । २०३६ को विद्यार्थी आन्दोलनमा उनले देखाएको सक्रियताकै कारण २०३८ मा पार्टीले उनलाई अखिलको जिल्ला कोषाध्यक्षको जिम्मेवारी दियो । २०३९ मा अखिल सचिव हुँदै २०४० मा उनले जिल्ला अध्यक्षको जिम्मेवारी पाए ।

२०४१ मा विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण जेलजीवन बिताएका उनी २०४३ मा मालेको तत्कालीन हेटौंडा नगर कमिटी सचिव भए । ०४४ मा जिल्ला कमिटीमा रहेर काम गरेका उनले २०४७ मा नेकपा एमालेको जिल्ला कमिटीमा रहेर कार्यकुशलता प्रदर्शन गरे । ०४७ देखि ०५१ सम्म एमालेको जिल्ला संयोजक भई काम गरेका उनले ०५१ मा सुकुम्वासी आयोग मकवानपुरको अध्यक्षको जिम्मेवारी पाए ।

२०५० सालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाएकै कारण उनले मकवानपुरमा लोकप्रियता बटुल्दै गए । दामन, पालुङ, आमभञ्ज्याङ्, फापरवारी, राइगाउँलगायतका क्षेत्रहरुमा बाढीका कारण धेरै घरबारविहीन भएका थिए । उनकै पहलमा मन्त्रिपरिषदबाट निर्णय गराई हेटौंडा–१३, पदमपोखरीमा ४ सय परिवारलाई उनीहरुकै नाममा लालपुर्जा बनाइ जग्गा वितरण गरिएको थियो ।

२०५४ बाट नेकपा एमालेको तत्कालीन नारायणी अञ्चल कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनले ०६९ सम्म २ पटक अञ्चल कमिटी सचिवका रुपमा काम गरे । उनी जिल्ला विकास समितिको सदस्यसमेत भए ।

अनन्त हाल नेकपा एमालेको केन्द्रीय निर्वाचन विभागको सदस्य हुन् । उनी हाल सहिद स्मारक विकास समितिको सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, भुटनदेवी माध्यमिक विद्यालय र प्रगति माध्यमिक विद्यालयको सल्लाहकार, मध्य नेपाल पर्यटन विकास समितिको संयोजकलगायत दर्जनौँ संघ संस्थाहरुमा आवद्ध छन् ।

दीपक सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) का तर्फबाट हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार हुन् दीपकबहादुर सिंह । बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विसं २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दीपकबहादुर ७/८ वर्षको हुँदा आमाबुवाले उनलाई लिएर हेटौंडा आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोवास हेटौँडा बन्यो ।

माध्यामिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले वीरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन् । दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन् । तर, दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो ।

२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । यसै क्रममा विभिन्न संघसंस्थामा आवद्ध उनी सुरुवातदेखि नै राप्रपामा आवद्ध छन् । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।

त्यस्तै, २०५६ सालको संविधान सभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए भने २०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुन परेको थियो ।

त्यस्तै, २०६३ र ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए । यसभन्दा अघि ५ वटा निर्वाचनमा सहभागी भइसकेका सिंह आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर पदमा उम्मेदवार हुन् । उनी हेटौंडाका सफल उद्योगी व्यवसायी हुन् । उनको उद्योगहरुमा हाल पनि डेढ सय मानिसहरुले रोजगारी पाइरहेका छन् ।

  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार २०:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया