आइपिएल : लखनउलाई हराउँदै राजस्थान दोस्रो स्थानमा, प्लेअफ पुग्ने सम्भावना बलियो

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले जित हात पारेको छ । उसले लखनउ सुपर जायन्ट्समाथि २४ रनको जित हात पारेको हो । 

यो जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लखनउ तेस्रो स्थानमा खस्किएको छ । आफ्नो १३ औं खेलमा राजस्थानले दिएको १७९ रनको लक्ष्य लखनउले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ३९ बलमा ५९ रन बनाएका उनले पाँच चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, मार्कस स्टोनिसले २७, कृणाल पाण्डेयले २५ र कप्तान केएल राहुलले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र ओवेद म्याक्कोयले दुई/दुई तथा युजवेन्द्र चहल र रविचन्द्रन आश्विनले एक/एक विकेट हात पारे । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले  निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८रन बनाएको थियो । 

उसका लागि यशस्वी जैसवालले सर्वाधिक ४१ रनको योगदान दिए । २९ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे । देवदत्त पाडिक्कलले ३९, कप्तान सञ्जु स्यामसनले ३२ र ट्रेन्ट बोल्टले अविजित १७ रन जोडे ।



लखनउका लागि रवि विश्नोइले दुई तथा आवेश खान, आयुश बदोनी र जेसन होल्डरले एक/एक विकेट हात पर्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

यो जितसँगै राजस्थानले प्लअ‍ेफको सम्भावना लगभग पक्का गरेको छ । उसले १३ खेलमा १६ अंक जोडेको छ । तेस्रो स्थानको लखनउको पनि १६ अंक नै छ ।  
 



  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ७:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया