विवेकशीलको पक्षमा नतिजा नआएपछि रवीन्द्र मिश्र भन्छन्– टुटफुटको असर देखियो, अब निर्मम समीक्षा र निर्णय गर्छौं

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले टुटफुटकै कारण स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्रको उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट भएको बताएका हुन् । 

‘गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौँ । त्यसबाट हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘साथसाथै, पार्टीमा हामीले टुटफुटलगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि बेहोर्नुपर्‍यो । हाम्रो जस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमा प्रार्थी छौँ ।’ 

मिश्रले निर्मम समीक्षा र निर्णय गर्नुपर्ने बेलाएको पनि बताएका छन् । ‘वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ । त्यो कहिल्यै गुम्ने पनि छैन । यो हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन्, ‘गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ । ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ ।’ 

विवकेशीलले काठमाडौं महानगरपालिकामासहित देशका केही स्थानमा उम्मेदवार उठाएको थियो । तर, कुनै पनि ठाउँमा उसका उम्मेदवारले सन्तोषजनक मत ल्याउन सकेका छैनन् । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ९:२५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया