विचार
दुई सय वर्षपछि बौरेको नेपाल

विश्व अर्थतन्त्रमा अहिले आर्थिक विकास र आर्थिक वृद्धिको विषयले चर्चाको सबैभन्दा ठूलो स्पेस ओगटेको छ । तर, यो सबको सुरुवात वा प्रस्थानबिन्दु व्यापार नै थियो र व्यापार नै छ ।  

बेलायती अर्थशास्त्री अंगुस मेडिसिनले थुप्रै देशहरूको दशकौँदेखिको आर्थिक वृद्धिसम्बन्धी अध्ययन गरेका छन् । त्यो अध्ययनले प्रमाणित गर्छ, विश्वमा आर्थिक विकास र व्यापारको नङ–मासुको सम्बन्ध छ । उनले विश्वको कुल गार्हस्थ उत्पादन (जिडिपी)को दशकौँ लामो डाटालाई केलाएर अनकौँ देशबीचको व्यापारसँग जोडेर तुलनात्मक अध्ययन गर्ने सहज भूमि बनाए । वर्षाैं लामो उनको तथ्यांकीय विश्लेषणबाट अन्तर्राष्ट्रिय व्यापारले हरेक देशलाई आर्थिक विकाससम्बन्धी मार्कसिट दिएको निष्कर्ष निस्किन्छ । अर्थात्, व्यापार हरेक देशकोे आफ्नो ल्याकत हेर्ने ऐना हो । को कति बलियो, को कति कमजोर ? यसले थाहा दिन्छ । 

सन् १८०० देखि अहिलेसम्म आइपुग्दा विश्वको जनसंख्या ६ गुणाले बढेको छ । यही समयको विश्वको जिडिपी ६० गुणाले ह्वात्तै बढेको छ । विश्वको व्यापार भने भ्यागुतोझैँ १ सय ४० गुणाले उफ्रिएको छ । अहिले हामीले देख्ने र चर्चा गर्ने विश्वव्यापीकरणलाई अन्तर्राष्ट्रिय व्यापारले, अन्तर्राष्ट्रिय व्यापारका लागि जगाएको हो । 

सन् १८२५ तिर ‘स्टिम इन्जिन’बाट दौडने रेल आयो । त्यहाँदेखि हातेयुगबाट मेसिनतर्पmको यात्रा सुरु भयो । विश्व इतिहासमा रेलको विकास गर्ने लहर चल्यो । केही वर्षपछि मान्छेले टेलिग्राफको आविष्कार गरे । यी दुई कुराले अन्तर्राष्ट्रिय बजारलाई जोड्न र त्यो बजारमा दौडन नयाँ क्रान्ति भित्र्यायो । उत्तम मल परेको जस्तो अन्तर्राष्ट्रिय व्यापार लहलायो ।

यस्तै, अटोमोबाइल बजार र हवाई यातायातको विस्तार भयो । हवाई यातायातको विकासमा मान्छे यसरी लागि परे कि राइट ब्रदर्सले पहिलो उडान प्रयोग थाल्दा सन् १९०३ मा जिब्रो टोक्दै चौरमा हेर्न उर्लिएका मान्छेहरूले सन् १९१४ पहिलो विश्वयुद्धमा आकाशमा फाइटर प्लेन एकापसमा भिडेको देखे । केवल ११ वर्षभित्र मान्छे आकाशमा लडाइँ लड्न थाले । हेर्दाहेर्दै सन् १९६९ मा मान्छे विष्मयकारी ढंगले चन्द्रमामा ओर्लिएको खबर संसारले सुन्नुपर्यो । 

अहिले पनि हाम्रो कृषिमा आधारित उत्पादन जकडिएको छ । मूल्य अभिवृद्धि भएन । बरु हाम्रा सामान छिमेकी देशले सस्तोमा हाम्रा किसानबाट किनेर धनी भए । यसले हाम्रो विकासको गतिलाई देखाउँछ । हामी वैदेशिक व्यापारको रिङमा कुस्ती खेल्न वा कमाउन कमजोर छौँ भन्ने देखाउँछ । 



२०औँ शताब्दीको सुरुमा इन्टरनेटको सुरुवात भयो । यी सबै आविष्कारले विश्वमा सनसनी फैलायो । मानव जीवनमा गतिको नयाँ दौड चल्यो । यसले नै दूरीको मृत्यु अर्थात् ‘डेथ अफ डिस्टेन्स’ निम्तायो । यसले गर्दा पनि अन्तर्राष्ट्रिय व्यापारमा निकै ठूलो सहयोग मिल्यो । त्यसले व्यापरलाई ह्वात्तै बढाउन सहयोग गरेको थियो । त्यही वेलामा विश्वको जिडिपी ६० गुणा बढेको थियो ।

रेलले जमिनको यात्रा त सहज बनायो, त्यतिवेलासम्म व्यापारको सीमा फराकिलो भइसकेको थियो । त्यसैले मानिसहरू जमिनमाथि वा पानीमाथि पनि व्यापार गर्नुपर्ने सोच बनाउन थाले । मानिसले त्यसपछि पनि हवाईजहाजबाट यात्रा त गरेका थिए, तर लामो दूरीको व्यापारका लागि त्यो त्यति धेरै उपयुक्त मानिँदैन थियो । युद्धका निम्ति सेनाहरू आवतजावत गर्न र सर्च अपरेसन गर्न मात्र हवाईजहाजको प्रयोग हुन्थ्यो । 



‘कमर्सियल मुभमेन्ट’को मानचित्रमा सन् १८६९ मा इजिप्टमा खनिएको स्वेज नहरले अर्को क्रान्ति ल्यायो । यसले दक्षिण एसिया र दक्षिण अमेरिकालाई सीधा जोडिदियो । त्यसपछि मानिसहरू व्यापारिक हिसाबले यो बाटो प्रयोग गर्न थाले । 

तर, रेलको विकास भइसकेपछि सबैभन्दा धेरै व्यापार रेलबाटै भयो । अमेरिकाको उत्तर र दक्षिणमा अवस्थित राज्यलाई जोड्नका लागि होस् या युरोपका देशबीच आपसी व्यापार गर्नका लागि होस्, रेलले समाज र अर्थतन्त्रमा कायापलट ल्यायो । रेलको विकास भएपछि नै मस्कोदेखि साइबेरियासम्म जोड्ने बाटो बनेको थियो । यसले विश्व व्यापारलाई ज्यामितीय गतिले बढायो । 

रेलको विकासक्रम सुरु भएको सन् १८२६ देखि पहिलो विश्वयुद्ध सुरु हुनुभन्दा अगाडि वा सन् १९१३ सम्म लाखौँ किलोमिटर लम्बाइका पट्री बिछ्याइसकिएको थियो । ती लिकमा गुड्ने रेलको छुकछुक आवाज र लामो दूरीसम्म सुनिने हर्न आममान्छेको जीवनचर्या बनिसकेको  थियो । उपभोग्य वस्तुको उत्पादन र तिनको ओसारपसार एक देशबाट अर्को देश मात्र होइन, एक महादेशबाट अर्को महादेशसम्म पनि पुग्न थाल्यो । 

सन् १९१४ मा पहिलो विश्वयुद्धमा मान्छे अन्धोसरि होमिए । मानवजातिको त्यो संकटमा अन्तर्राष्ट्रिय बजारमा अर्थतन्त्रका लागि अर्को अनौठो उपलब्धि हात लाग्यो । लडाइँले नयाँ वस्तुको माग भित्र्यायो र विश्व व्यापारलाई बढायो । त्यतिवेला विश्वमा हतियारको निकै ठूलो खरिद–बिक्री भयो । भनौँ न त्यो वेलामा हतियारको अथवा युद्धको अर्थतन्त्रले विश्व व्यापार भरिएको थियो । अमेरिकाले दोहोरो भूमिका खेल्दै लडाइँमा संलग्न देशहरूलाई खुबै हतियार बेच्यो । ऊ लडाइँबाट पर बस्ने, तर कमाउने नीतिमा व्यस्त थियो । लडाइँ अरूका लागि ध्वंस भए पनि अमेरिकाका लागि बम्पर भयो र ठूलै फड्को मा¥यो । 

पहिलो विश्वयुद्ध त्यो घुम्ती अर्थात् ‘टर्निङ पोइन्ट’ बन्यो विश्व व्यापारको नक्सा बदलिदियो । खाद्यान्नमा आधारित त्यसअघिको विश्व व्यापार युद्धसामग्रीको उत्पादन र व्यापारमा केन्द्रित हुन पुग्यो । विश्वको अन्तर्राष्ट्रिय व्यापारको यो पुनर्संरचनाले विश्व अर्थतन्त्र केही खुिम्चयो । 

सन् १८२६ र दोस्रो विश्वयुद्ध सुरु हुनुपूर्व विश्वमा अन्तर्राष्ट्रिय बजारको विस्तार सबैभन्दा बढी भएको थियो । त्यो वेलाको खुला बजार अहिलेको भन्दा पनि निकै खुला थियो । दुनियाँ एकल बजार जस्तो थियो । सीमामा कुनै थुनछेक थिएन । न वस्तुको, न मान्छेको आवागमनमा । आजभोलिको जस्तो कर र गैर–कर अवरोध छँदै थिएन वा नगन्य थिए । देशहरूले आफ्नो अन्तर्राष्ट्रिय सीमालाई छेक्न थालेको निकै पछि हो । यस अवस्थामा व्यापारको भरपूर उपयोग भयो । व्यापारले अर्थतन्त्रलाई उचाल्यो । सन् १५०० देखि १८०० सम्म वाणिज्यवाद हावी रह्यो । त्यस दौरान स्पेन, फ्रान्स, इग्ल्यान्ड, हल्यान्डले काफी धन ओसारे, संसारबाट । वाणिज्यवादले बलियो र सम्पन्न हुन देशहरूले आयातभन्दा निर्यात गर्नुपर्ने र सुन थुपार्नुपर्ने सिकायो । त्यसपछि दौड्दादौड्दै त्यतिखेरका बलिया देशबीच धेरै उपनिवेश बनाउने होडबाजी नै चल्यो ।  

एक खाले खुला बजार खण्डीकरण भएको खासमा दोस्रो विश्वयुद्ध लगत्तैपछि हो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै औपनिवेशिक देशहरू धमाधम स्वतन्त्र हुन लागे । यसको प्रभाव दक्षिण एसियाको बजारमा पनि पर्यो । दक्षिण एसियामा अहिले अनगिन्ती बजार छन्, जसलाई सिमानाहरूले छेकेका छन् । तर, दोस्रो विश्वयुद्धअघिसम्म लगभग खुला थियो । त्यो वेलाको भारतमा अहिलेको पाकिस्तान, बंगलादेश पनि अटाएको थियो । त्यतिवेला राजनीतिक विभाजन थिएन । भारतबाट म्यानमारदेखि अफगानिस्तानसम्म मानिसहरू जाने–आउने गर्थे । व्यापारीहरू डफ्फा लिएर खुला रूपमा आवागमन गर्थे । स्वतन्त्रताको लहरपछि त्यो एकाएक रोकियो । 

विश्व व्यापारमा रेल र टेलिग्राफपछि परिवर्तनको अर्को ठूलो सुनामी रेफ्रिजेरेटरको जन्मले ल्यायो । त्यो वेला ठूलो अर्थतन्त्रमा युरोपियन देश नै दरिएका थिए । 

बेलायत, जर्मनी, फ्रान्सलगायत ठालू अर्थतन्त्रका रूपमा गनिन्थे । स्वाभाविक रूपमा तिनैका बजार बढी चलायमान थियो । उपभोक्तावाद बढ्नाले बजारमा माग दिन दुगुना र रात चौगुना हुँदै थियो । फलपूmल, मासुजस्ता वस्तुको माग निकै चर्को भइसकेको थियो । तर, कहाँबाट बढ्दो माग धान्ने भनेर उपायको खोजी भइरहेको समय थियो, त्यो । ठीक त्यही समयमा रेफ्रिजेरेटरको आगमन भयो ।

रेफ्रिजेरेटरको सहयोगले अर्जेन्टिना र अस्ट्रेलियाबाट मासु, तरकारी, फलफूलजस्ता चाँडो बिग्रिने उपभोग्य वस्तु युरोपियन देशमा आउन थाल्यो । न्युजिल्यान्डबाट बटर ल्याउन थालियो । उत्पादन गर्ने ती देशको अर्थतन्त्र पनि फस्टायो । युरोपियन देशको बजारको माग पनि पूरा भयो । रेफ्रिजेरेटरविना त्यस्ता वस्तुले हप्तौँ–महिनौँ लामो यात्रा गर्नै सक्तैन थिए । त्यसैले लामो दूरीको व्यापारमा यस्ता आविष्कारले नयाँ–नयाँ क्रान्ति भित्र्याउँदै गए । 

इन्जिन सञ्चालनका लागि वाष्प इन्जिनको सहयोग, त्यसपछि श्रमिकको ठाउँमा अटोमेसिनको सहयोग, त्यस्तै सञ्चारमा टेलिग्राफको विकास र बिग्रिने सामानको ओसारपसारमा रेफ्रिजेरेटरको विकासले नै व्यापारले अन्तर्राष्ट्रिय हुने र अहिलेको अवस्थामा आउन पाएको हो ।

टेलिग्राफको कुरा गर्दा, सन् १८५८ मा टेलिग्राफको आगमन भयो । यसले अन्तर्राष्ट्रिय व्यापारमा समयको दूरीलाई छोट्यायो । खबर पठाउन वा पाउन पहिले धेरै दिन लाग्ने गरेको सञ्चार समय १० मिनेट हाराहारीमा छोटियो । पृथ्वीको कुना–कुनासम्म टेलिग्राफ सक्रिय हुन थाल्यो । व्यापारमा अर्डर लिन र अर्डर दिनका लागि यसले निकै ठूलो मद्दत गर्यो । 

विकासका हिसाबले त्यो वेलाको विश्व दुई भागमा विभाजित देखिन्छ । अमेरिका, युरोपका देशहरू जुन देशमा औद्योगिक विकास भयो, ती देश धनी देशका रूपमा दरिए । अर्काेतिर, भारत, चीनलगायत देशलाई गरिब देशको रूपमा लिइयो । गरिब देशले धनी देशलाई कच्चा पदार्थ पठाउँथे । 

औद्योगिक देशहरू जसले औद्योगिक उत्पादन गर्थे उनीहरू अरू धनी हुँदै गए । ती देश जसले कच्चा पदार्थ निर्यात गर्थे, गरिब देशको रूपमा रहे । गरिब देशहरू कच्चा पदार्थ उत्पादन गर्ने देशका हैसियतमै लामो समयसम्म रहे । 

त्यो समयमा कटन, फलाम तथा कोइलाको माग अत्यधिक थियो । गरिब देशहरू यस्ता उत्पादन र निर्यात गर्थे । निर्वाहमुखी अर्थतन्त्र र समाजको हैसियतमा बाँच्न विवश थिए । हाम्रो देश भने न त त्यस्ता औद्योगिक, न त त्यस्ता कच्चा पदार्थ उत्पादकको हैसियतमा थियो । धेरै पछाडि छुटेको थियो ।
 
अहिले हाम्रो वैदेशिक व्यापार र हाम्रो अर्थतन्त्रलाई हेर्ने हो भने हामी कुनै देशका लागि प्राथमिक वस्तु अर्थात कच्चा पदार्थ उत्पादन गर्ने देशको हैसियतमा उभिएका छौँ । त्यतिवेलाको गरिब देशले जस्तो सामान निर्यात गर्थे, अहिले हामी त्यस्तै सामान निर्यात गर्छौं । दुःख लाग्ने कुरा के भने, योजनाबद्ध विकास थालेको करिब ६० वर्ष पुगिसक्दा पनि हाम्रो यो अवस्था सुध्रिएको छैन ।  

अरूलाई कच्चा पदार्थ बुझाउने हैसियतको राम्रो उदाहरण अदुवा र अलैँचीलाई लिन सकिन्छ । हामी अदुवा खन्छौँ र त्यो सीधै निर्यात गर्छौं । यस्तै अलैँचीबाट के निकाल्नुपर्ने थियो, त्यसको अन्तिम उत्पादन के हो भन्ने जानकारी नराखी हामी खन्नासाथ निर्यात गरिरहेका छौँ । त्यो पनि भारतमा । जबकि, त्यसको अन्तिम उपभोग गर्ने ठूलो बजार खाडीका देश हुन । समयको हिसाबमा कुरा गर्ने हो भने सन् १९१३ भन्दा अगाडि विश्वमा गरिब देशले जस्तो सामग्री औद्योगिक क्रान्ति गरिरहेका धनी देशलाई पठाउँथे, त्यस्तै सामान अहिले हामी निर्यात गरिरहेका छौँ । 

खासमा हामीले निर्यात गर्ने गरी वस्तु उत्पादन गरिरहेका छैनौँ । केवल निर्वाह गरिरहेका छौँ । विदेश निर्यात गर्ने हाम्रो सामानको लिस्ट लामो छैन । ज्यादै छोटो छ । छोटो मात्रै होइन, परिमाण सानो पनि छ । हाम्रो विदेश निर्यात गर्ने भाँडो नै सानो भयो । कैयौँपल्ट नेपालबाट वस्तु बाहिर पठाउँदा विदेशी आयातकर्ताले मागे जति उत्पादन गर्न वा दिन नसक्दा वस्तु निर्यात नभएको अवस्था कति छ कति । त्यसवेलाको गरिब देशसँग अहिलेको हाम्रो निर्यात संरचना मिलेको छ ।
 
त्यसैगरी, ट्रेडले कुनै देशको आर्थिक विकास र वृद्धिमा कति मद्दत गरिरहेछ भन्ने बुझ्न त्यो देशको वैदेशिक व्यापारको संरचनालाई ऐना बनाएर हेरे पुग्छ । 

व्यापारको स्वरूपअनुसार देशको विकासको गति र मति पाउन सकिन्छ । तुलनात्मक तथ्यांकअनुसार सन् १९०० तिर विश्व व्यापार र उत्पादनको संरचना हेर्दा कृषिमा ५७ प्रतिशत आधारित थियो भने औद्योगिक उत्पादनको हिस्सा ४० प्रतिशत थियो । बाँकी अन्य क्षेत्रहरूको योगदान थियो । त्यो फेरिएर पछिल्लो समयमा आउँदा कृषिमा आधारित ९ प्रतिशत र औद्योगिक उत्पादनमा आधारित ६५ प्रतिशत भएको छ । अहिलेको उँभो चढ्ने आर्थिक धर्को औद्योगिक उत्पादनबाट प्रेरित छ ।

त्यो समयको कृषि उत्पादन बिस्तारै प्राथमिक वस्तुबाट औद्योगिक रूपमा प्रशोधित वस्तुमा परिमार्जित हुँदै छ । जस्तै– स्याउ उत्पादन सुरुमा स्याउ नै बेचिन्थ्यो, तर पछि त्यसलाई जुस वा त्यसको प्याकेजिङ वा रूपमा परिवर्तन गरेर निर्यात गर्न थालिएको छ । यसले कृषि उत्पादन गर्ने देश पनि अहिले विकसित भएको छ । बढी मुनाफा कमाउन थालेका छन् । तर, नेपालको कृषि उत्पादनमा भने प्राथमिक वस्तु नै जारी छ । खेतीमा जे फलाउँछौँ, तिनकै व्यापार अनवरत जारी छ । 

यस्तो गतिमा अहिले पनि हाम्रो कृषिमा आधारित उत्पादन जकडिएको छ । मूल्य अभिवृद्धि भएन । बरु हाम्रा सामान छिमेकी देशले सस्तोमा हाम्रा किसानबाट किनेर धनी भए । यसले हाम्रो विकासको गतिलाई देखाउँछ । हामी वैदेशिक व्यापारको रिङमा कुस्ती खेल्न वा कमाउन कमजोर छौँ भन्ने देखाउँछ । 

सामान बेचेरै चामत्कारिक विकास गर्ने देशका रूपमा चीन र चिनियाँ अर्थतन्त्रलाई लिइन्छ । उससँग अहिले कमसेकम १२ सय ट्रिलियनको अर्थतन्त्र छ । चीनले सन् १९७० पछि ठूलो संख्यामा सामान अमेरिका पठाउन नसकेको भए चीन अहिले यो अवस्थामा आइपुग्ने थिएन । झन्डै तीन दशकसम्म दोहोरो अंकको आर्थिक वृद्धि हासिल ग¥यो । यो विश्वमा निकै दुर्लभ घटना हो । यसको एउटा मात्रै कारण भनेको व्यापार नै थियो । 

यी चर्चा परिचर्चाबाट हामीले लिने पाठ भनेको व्यापारमा ध्यान नदिई हामीले अगाडि फड्को मार्दैनौँ । अहिले हामी ११ अर्बभन्दा धेरैको व्यापार घाटा बेहोरिरहेका छौँ । नेपालको रेमिट्यान्स पनि दुईधारे हतियार जस्तो छ । यही रेमिट्यान्सले एकातिर यो घाटा बढाइरहेछ । यही रेमिट्यान्सको सहयोगमा मुस्किलले यो घाटा धानिरहेको छ । 

जे नै भए पनि रेमिट्यान्स टिकाउ आय होइन । टिकाउ भनेको आफ्नो व्यापारबाट क्रय क्षमता बढाउनु हो । नेपालको जिडिपीमा व्यापारको योगदान जम्मा तीन प्रतिशत मात्रै छ । यो केही वर्षअघिसम्म करिब ६ प्रतिशततिर थियो । अहिले नेपालको निर्यातले २८ दिनको आयात मात्रै धान्न सक्छ ।

विश्व अर्थतन्त्रमा अहिले १७ प्रतिशत हिस्सा व्यापारले ओगटेकोे छ । तर, यो अनुपात सन् १९५० मा ७ प्रतिशत थियो र सन् १८७० मा मात्रै साढे ४ प्रतिशत थियो । तर, अहिले नेपालको अवस्था त्योभन्दा पनि तल छ । 

सबै देशको आर्थिक विकास व्यापारले मात्र निर्धारण गर्ने होइन । कुनै देशको विकास मागमा आधारित अर्थतन्त्रले हुन्छ, कुनै देशको आर्थिक प्रगति निर्यातमा आधारित हुन्छ । चीन, थाइल्यान्ड, कोरिया निर्यातमा आधारित अर्थतन्त्र भएका देश हुन् । यस्तै, कुनै मुलुकको आर्थिक उपलब्धि प्राकृतिक स्रोतमा आधारित हुन्छ । कतिपयको भने बचतमा आधारित आर्थिक वृद्धि हुन्छ । 

नेपालको यतिखेरको आर्थिक विकासको बल भनेको सार्वजनिक क्षेत्रले गर्ने खर्च हो । अर्थात्, सरकारले गर्ने खर्च हाम्रो आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरेको छ । गत साल नेपालले एकै वर्ष तीन–तीनवटा आमचुनाव गरायो । यसले सरकारी चालू खर्च उच्च बनायो । यसले त्यो सालको आर्थिक वृद्धिलाई मद्दत पु¥यायो । हाम्रो देशमा जहिले–जहिले पुँजीगत खर्च वा चालू खर्च अलि बढी हुन्छ, सो वर्ष अर्थतन्त्रमा सकारात्मक असर परेको हुन्छ । खासमा पुँजीगत खर्च अत्यधिक गराउन सकिए पुँजी निर्माण गराउन सार्थक मद्दत पुग्छ ।

नेपालमा अहिले उपभोग संस्कृति ह्वात्तै बढेको छ । नेपालीले गर्ने उपभोगको स्तर मात्रै हेर्ने हो भने नेपालीलाई अहिले विकासोन्मुख देश भनिदिए हुन्छ । 

रेमिट्यान्सको कारणले गर्दा अहिले नेपालीको क्रय शक्ति बढेसँगै उपभोग क्षमता बढेको छ । तर, आन्तरिक उत्पादन नहुँदा वा नबढ्दा बाहिरबाट आयात गरेर भए पनि उपभोग गर्नुपर्ने संस्कृतिको विकास भएको छ । यसरी बजार बढ्नु राम्रो हो । तर, यसको अनुपातमा औद्योगिक उत्पादन बढ्यो वा बढेन ? सोचनीय विषय यो हो । आफ्नो उत्पादन नबढे वा नबढाएमा त्यो परिस्थितिको फाइदा आयातकर्ताले लिन्छन् । र दुर्भाग्यवश यही भइरहेछ अहिले देशमा । यसले आन्तरिक किसान वा उद्यमी वा निर्यातकर्ताभन्दा आयातकर्तालाई बढी फाइदा भएको छ । यसैले विगतका उद्यमीहरूमा धमाधम आयातकर्ता बन्ने रहर बढेको छ । 

हामीले समृद्धि र आर्थिक विकासको नारा लगाइरहँदा देशभित्रको उत्पादन र व्यापारलाई मुख्य ध्यान दिनुपर्छ । यतिखेर अरू देशको उत्पादनको व्यापारलाई होइन, आफ्नो देशको कृषि र उद्योगमा आधारित व्यापारलाई अँगाल्नुपर्छ । त्यसतो व्यापार नै हाम्रो आर्थिक विकासको मन्त्र हुनुपर्छ । विकासको इतिहासमा अरू देशभन्दा हामी वर्षौँ पछि जागेका छौँ । ढिलै भए पनि अहिले हामी बौरिएको अवस्था छ । अब समय खेर फाल्ने होइन, गन्दै अघि बढ्नुपर्छ ।

 

(घिमिरे वाणिज्यसचिव हुन् ।)

  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १४:३७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया