भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदी भारतबाट सिधै लुम्बिनी आएर त्यहीँबाट स्वदेश फर्कने छन् ।
तय भएको कार्यक्रमअनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकोप्टरमा बिहान ११ बजेतिर लुम्बिनी आउने छन् । त्यसपछि उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् ।
मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पूजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटघाट गर्ने जनाइएको छ ।
होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुनेछ ।
बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकोप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।