३१ लाख अमेरिकी डलरको माछो !

टोकियो– जापानका सुसी व्यवसायी कियोसी किमुराले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा किने । उनले त्यो माछाका लागि ३१ लाख अमेरिकी डलर (३४ करोड ७२ लाख रुपैयाँ) तिरे ।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो । वजनका हिसाबले यसको मूल्य प्रतिकेजी १२ लाख ४९ हजार रुपैयाँजति पर्न जान्छ । 

अघिल्लो वर्ष विश्वप्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । 

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछा ३१ लाख डलरमा बिक्री भएको हो । यो माछा २ सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । 

‘टुना किङ को नामबाट आफूलाई चिनाउने कियोसीले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यसअघि सन् २०१३ मा पनि कियोसीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । 

‘यो सबैभन्दा उत्तम टुना हो । म आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेस्टुरेन्ट चलाइरहेका कियोसीले गर्वसाथ भने । 



‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,’ उनले बताए । 

चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । 



  • प्रकाशित मिति : पुस २१, २०७५ शनिबार १९:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया