बजेट अधिवेशन सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न दलहरूलाई सभामुख सापकोटाको अपील

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपील गरेका छन् ।

सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मंगलबार (भोलि)देखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपील गरेका हुन् । 

उनले आफ्नो कुराकानी नभएपनि कानुनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए । 

सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरूका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे । 

‘बैशाख १८ गते मैले प्रधानमन्त्रीलाई भेटेर अहिले मैले जे भने यसका मोटामोटी कुराहरु उहाँलाई पनि भनेको थिएँ र संवाद गर्नका लागि र यही बजेट अधिवेशन आह्वान गर्नका लागि । मलाई लाग्छ, उहाँहरुले पनि छलफल गर्नुभएको होला । पार्टीका नेताहरु सबैलाई पनि म यसलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्नका लागि अपील पनि गर्छु र मेरो तर्फबाट सबैलाई भनिरहेको छु’ उनले भने ।

सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए । 



‘यो पनि दलहरूको, खासगरी सरकारसँगै छलफल गरेर अगाडी जाने कुरा हो । मुख्यतः दलहरूको सम्भवत भोलि नै पनि यसमा सामान्य छलफल हुन सक्छ । तर मलाई के लाग्छ भने यो बजेट अधिवेशन भएको हुनाले बजेट पारित गर्ने कुरामै सर्वाधिक प्राथमिकताको विषय भएको हुनाले बजेट पारित भइसकेपछि त्यस सन्दर्भमा विषय केन्द्रीत हुन्छ होला’ उनले भने ।

उनले सर्वसम्मत भइसकेको विधेयकहरूलाई अगाडी बढाउनका लागि राजनीतिक दलहरूका बीचमा समझदारी भएमा त्यसलाई अगाडी बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पारे । संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ । 



  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १५:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया