एक महिनामै ३ लाखभन्दा बढी राेजगारी थप्यो अमेरिकाले

वासिंगटन– संयुक्त राज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा ३ लाख १२ हजार नयाँ रोजगारी सिर्जना भएको यहाँको श्रम विभागले जनाएको छ । 

केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । 

चीनसँगको व्यापार युद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको विभागको प्रतिवेदनमा उल्लेख छ । 

अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलव ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । रिपोर्टअनुसार, अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलव २ प्रतिशतले सुधार आएको छ । 

श्रम विभागको नयाँ तथ्यांक सार्वजनिक भएलगत्तै सेयर बजारमा पनि सुधार आएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता सुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ । अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्नेबारे बैंकले केही लचक नीति लिने बताएकाले पनि बजारमा सकारात्मक वातावरण बनेको हो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै रोजगारी वृद्धिको प्रशंसा गरेका छन् । रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गर्दछ । 



गत महिना स्वास्थ्यसेवा र शिक्षा क्षेत्रमा ८२ हजार रोजगारी थपिएको छ । विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो । रेस्टुरेन्ट व्यवसायमा ४० हजार ७ सय रोजगारी थपिएको छ । निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सिर्जना भएको छ । 

श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सिर्जना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थपिएको छ । 



  • प्रकाशित मिति : पुस २१, २०७५ शनिबार २१:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया