स्थानीय तहको निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाहरु आउन थालिसकेको छ । हेटौंडा उपमहानगरपालिकामा पनि मत गणना जारी छ, अन्यत्रजस्तै यहाँ पनि मत परिणाम रोचक देखिँदै आएको छ । पाँच सत्तारुढ दलको गठबन्धन र नेकपा एमालेको भीडन्त होला भन्ने अनुमान हेटौंडामा धेरैको थियो ।
तर, अहिले गठबन्धनकी उम्मेदवारसँग एमालेको टक्कर होइन, एमाले तेस्रो नम्बरमा पुगेको छ ।
३० वर्षदेखि हेटौंडामा विरासत जोगाउँदै आइरहेको नेकपा एमालेले अब आफ्नो साख जोगाउन नसक्ने अवस्थामा पुगेको भन्दै पछिल्ला मत परिणामलाई आधार बनाएर विश्लेषण हुन थालेको छ । हेटौंडाका १,२, १८ र १९ नम्बर वडाको मतगणनामा राम्रो प्रदर्शन गरिरहेको नेकपा एमालेले सोमबार १७, १६, ४ र ५ नम्बर वडाको मतगणना सुरु भए पछि त्यही क्रम जारी राख्न सकेको छैन । अहिले ऊ प्राप्त मतको आधारमा तेस्रो नम्बरमा पुगेको छ ।
गठबन्धन तर्फको मेयरकी उम्मेदवार मीनाकुमारी लामाले राम्रो मत पाएता पनि राप्रपाका दीपक बहादुर सिंहसँगको प्रतिस्पर्धामा गठबन्धन पनि हार व्यहोर्ला कि भन्ने तर्क पनि आउन थालेको छ । तर, अर्कोतिर अझै पनि एमालेका अनन्त पौडेलको जित पक्का भएको दाबी पनि गरिएका छन् ।
गठवन्धनको तर्फबाट उम्मेदवार बनेकी लामा सोमबार साँझसम्म अग्रता कायम राखेकी छिन् । १५ हजार २ सय ५५ मत गणना हुँदा समाजवादीकी नेता समेत रहेकी लामाले ४ हजार ७ सय २९ मत ल्याउँदै अग्रता बनाउँदा राप्रपाका दिपकबहादुर सिंहले ४ हजार ४ सय ४९ मत ल्याएका छन् । मतगणनाको लामो समयसम्म अगाडि रहेका सिंह अबको पछिल्लो मतगणनाको अपडेटमा अगाडि आउने प्रारम्भिक मतगणनाले पुष्टि गरेको छ । यता एमालेका अनन्तप्रसाद पौडेल तेस्रो स्थानमा रहँदै ४ हजार ६ मत ल्याएका छन् ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा मकवानपुरका १० पालिकामध्ये हेटौंडा उपमहानगरसहित ६ पालिकामा एमालेको वर्चस्व बनाएको थियो । हेटौंडामा २०४९, २०५४ र २०७४ गरी तीनै पटक नेकपा एमाले विजयी भएको थियो । गएको निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला नेपाली कांग्रेस एमालेसँग जम्मा ६ सय १५ मतान्तरले मेयरमा पराजित थियो । एमालेले मेयर–उपमेयरसहित १२, कांग्रेसले ५ र माओवादीले २ वडामा जित हासिल गरेको थियो भने राप्रपाले ६५ सय मत प्राप्त गरेको थियो ।
तर हालको मतगणना परिणाम अनुसार कहिले सिंह अगाडि त कहिले राप्रपा अगाडि रहेकोमा दीपक सिंहको इन्ट्री र गठबन्धनको एकताले पनि हेटौंडामा एमालेको विरासत भत्काउने रफ्तार बढेको छ । हेटौँडामा हालसम्म वडा नंबर १,२ र १९ को मत परिणाम आएको छ । भने वडा नंबर ३, ४, ५ र १८ को मतगणना जारी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।