संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो ।
प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदूत रामसुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानबिन गर्न समितिका सदस्य जितेन्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहेको कार्यदल गठन गरिएको छ ।
कार्यदलले २ दिनभित्र सो सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदूत रायको पनि सुनुवाई गर्ने समितिका सभापति कर्णले बताए ।
समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत बासुदेव मिश्रको पनि उजुरी परेकाले आज सुनुवाई गर्न नसकिएको स्पष्ट पारेको छ । समितिको अर्को बैठक बुधबार (भोलि) बिहान साँढे ८ बजे बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।