बाँकेकाे जंगलमा पिकअप र बस ठोक्किँदा एकजनाको मृत्यु, चालकसहित दर्जन घाइते

पूर्व–पश्चिम लोकमार्गअन्तरगत सर्लाहीको बाँके जंगलमा बोलेरो पिकअप र बर आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना५ख ५५१५ नम्बरको यात्रुबस आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेर बसका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अनियन्त्रित भई पल्टिएको बसले च्याप्पिएर बसका चालक विदुर निरौलासहित १२ जना यात्रु घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ । अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

तीव्र गतिमा रहेको माछा बोक्ने बोलेरो अनियन्त्रित भएर आफ्नै साइडमा गुडिरहेको बसलाई ठक्कर दिन पुगेको थियो । पिकअपबाट जोगिन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको आशंका छ । बससँग ठोक्किएको पिकअप भ्यान छुट्टिएर जंगलभित्रै पुगेको छ । बस सडक किनारमा पल्टिएको छ ।

दुर्घटनालगत्तै पिकअपका चालक फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १८:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया