राष्ट्रिय जनमोर्चा (राजमो) बाग्लुङका दुई स्थानीय तहमा विजयी बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
विसं ०७४ को स्थानीय तह चुनावमा कांग्रेसका उम्मेदवारसँग पराजित भएका पुन योपटकको चुनावमा नेकपा (एमाले)का उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै प्रमुखमा विजयी बनेका हुन् । पुनले आठ हजार ७५५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका लीला रानाले जम्मा दुई हजार ८७३ मत प्राप्त गरेका थिए ।
यस्तै, बरेङको अध्यक्षमा विजयी राजमोका शर्माले तीन हजार ६०१ मत प्राप्त गरी एमालेका प्रदीप थापालाई पराजित गरेका हुन् । थापाले जम्मा दुई हजार २३२ मत ल्याएका थिए । जैमिनीको उपप्रमुख र बरेङको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी बनेको छ ।
विसं २०७४ को चुनावमा बरेङमा मात्र विजयी बनेको राजमो अहिलेको चुनावमा भने गठबन्धनको बलमा दुई पालिका जित्न सफल भएको छ ।
मतगणना जारी रहेका काठेखोला र बडिगाड गाउँपालिकाको उपाध्यक्षमा पनि राजमोका उम्मेदवारको अग्रता छ । अहिलेसम्म जिल्लाका आठ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ । नेपाली कांग्रेस चार, राजमो दुई, माओवादी केन्द्र एक र एमाले एक स्थानमा विजयी बनेको छ ।
मतगणना चलिरहेको काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारको अग्रता छ । विसं २०७४ को चुनावमा यी दुवै गाउँपालिकामा एमाले विजयी बनेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।