\
बैतडीका १० वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । चार नगरपालिका र ६ गाउँपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेस र नेकपा एमालेले ४/४ स्थानीय तहमा जित हासिल गरेका छन् ।
त्यस्तै, एक पालिकामा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पालिकाको उपप्रमुखमा भने कांग्रेसले पाँच, एमालेले चार र माओवादी केन्द्रले एक स्थानमा जितेको छ ।
पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र सूर्नया गाउँपालिकाको प्रमुखमा एमालेले जित हात पारेको छ, भने शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाको प्रमुख कांग्रेस विजयी भएको छ ।
यस्तै, मेलौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रका सन्तोष प्रकाश जोशीले जित हात पारेका छन् । यस्तै नेपाली कांग्रेसले दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सूर्नया गाउँपालिकाको उपप्रमुख पदमा जित निकालेको छ ।
यस्तै, एमालेले पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाको उपप्रमुखमा जित हात पारेको छ । माओवादी केन्द्रले भने पाटन नगरपालिकाको उपप्रमुख पद हात पारेको छ ।
जिल्लाका दश वटै पालिकाको अन्तिम मत परिणाम आउँदा गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले कुनै पनि पालिकामा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षमा जित निकाल्न सकेको छैन ।
यसैबीच, बैतडीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ । जिल्लाको पाटन नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।
नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले बताए । नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको उनले बताए । १० वडा रहेको नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू गरी ५२ जना निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।