गोरखामा स्वतन्त्र उम्मेदवार : जसले अरूको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो

गोरखाको भीमसेन थापा गाउँपालिका–८ को वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार उठेका नवराज ढकालले अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकाल चुनाव चिन्ह ‘खानेपानीको धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति वितृष्णा जाग्दै गएपछि स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई वडाबाट १ मत पनि प्राप्त भएन । 

१४६९ मत खसेको मध्ये उनले १ मत पनि नपाएका हुन् । मतगणना सकियो । माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष बने ।

आफूले हालेको भोट पनि हरायो !

निर्वाचन अधिकृत कार्यालयले वडा भरको मत परिणाम सार्वजनिक गर्‍यो । तर, ढकाललाई १ मत पनि प्राप्त भएको देखिएन । त्यसपछि सामाजिक सञ्जालमा ढकाल आफैँले आफैंलाई समेत मतदान नगरेको भन्दै विभिन्न पोष्टहरू आउन थाल्यो ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।

आफुले आफैंलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरुमा आफूमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग ढकाल जवाफ लिन गए । तर, अधिकृत कार्यालयले मत नै नआएको भन्दै फर्काएको उनी बताउँछन् ।



उनी भन्छन्, ‘मैले आफूलाई मत जाहेर गरेको छु, बदर पनि भएको  छैन, कसरी मेरो मत हरायो? मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापरबाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’ 

निर्वाचन अधिकृत खिमानन्द गौतम भने कार्यालयबाट मतगणना गर्दा  कुनै त्रुटी नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै विवरण प्रष्ट छ ।  त्रुटी भएकै छैन, चित्त नबुझेमा उहाँ उच्च अदालत जान सक्नुहुन्छ ।’



  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १२:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया